free hit counter शारीरिक तथा मानसिक विकासमा पोषणको महत्व - Khanpin Khabar

शारीरिक तथा मानसिक विकासमा पोषणको महत्व

  • खानपिन खबर

बच्चाले खादैन वा स्वस्थ खानेकुरा खान मान्दैन भन्ने गुनासो सायद सबै अभिभावकमा हुन्छ । त्यस्तै आफ्नो बच्चाको तौल बढ्नु पर्ने जति बढिरहेको छैन कि भन्ने स्वाभाविक चासो पनि धेरैजसोमा हुने गर्छ l आजको जंक फुडको जमानामाबच्चाको खानपिन र शारीरिक वृद्धि सम्बन्धी तपाइको चिन्ताजायज छ ।

बच्चाको उमेर अनुसार तौल निकै कम हुनु वा उमेर अनुसार तौल वा उचाइ वृद्धि नहुनु राम्रो लक्षण पक्कै होइन। बच्चाको शारीरिक वृद्धि उसको मानसिक विकास र दिर्घकालिन स्वास्थ्यसँग पनि जोडिएको हुन्छ। यो प्रायः पोषणसंग सम्बन्धित हुन्छ भने कहिलेकाहि अन्य कारणहरु पनि जिम्मेवार हुन सक्छन ।

बच्चा जन्मेको पहिलो सातामा केही ग्राम तौल घट्छ र त्यसपछि बाल्यकाल भरि निरन्तर तिब्र गतिमा तौल बढिरहन्छ। साधारणतया बच्चा जन्मेको पांच महिना भित्र जन्म तौलको दुई गुणा,एक बर्ष भित्र तीन गुणा र दुई बर्ष भित्र चार गुणा भैइसक्छ l त्यस्तै उचाइ चार बर्षको हुदा जन्मदा खेरिको लम्बाइको दुई गुणा बढेको हुन्छ भने पहिलो दुई वर्ष भित्र झन्डै असी प्रतिशत मस्तिस्कको विकासभइसक्छ। पहिलो पाँच बर्ष भित्र बच्चाको तौल कुन दरले बढ्नु पर्छ वा आफ्नो बच्चाको तौल उमेर अनुसार उपयुक्त दरले बढिरहेको छ कि छैन भन्ने थाहा पाउन खोप कार्ड भनेर चिनिने बाल स्वास्थ्य कार्डमा भएको चार्ट हेर्न सक्नु हुन्छ ।

केही बच्चामा जुन रफ्तारमा तौल बढ्नुपर्ने हो, त्यस्तो हुँदैन। बाल स्वास्थ्य कार्डमा भएको चार्टमा बच्चाको उमेर (महिना) अनुसार तौल राखेर हेर्नु भयो भने हरियोमा नपरेर पहेलो वा रातोमा परेको पाउनु सक्नुहुन्छ l उनीहरु मध्ये धेरैजसोमा लम्बाइ वा उचाइ पनि उमेर अनुसार बढेको हुँदैन। त्यस्तै बच्चाको तौल उसको लम्बाई वा उचाइको तुलनामा कम हुनसक्छ। यस्तो समस्या लिएर अस्पताल जाँदा वा अरु कुनै बिमारी परेर उपचार गर्दै गर्दा डाक्टरले यस्तो अबस्थालाई ‘फेलर टु थ्रैव’ भन्ने नाम दिएको पाउन सक्नुहुन्छ l‘फेलर टु थ्रैव’ आफैंमा रोगको नाम होइन। यो कुनै रोग वा कुपोषणको लक्षण जनाउने नाम हो। तर यो बच्चाको शारीरिक तथा मानसिक विकास तिब्र गतिमा हुनुपर्ने समयमा देखिने गम्भीर समस्या हो।

सामान्य तरिकाले बढिरहेको पहिलो केही बर्षमा बच्चाको तौल लगातार तीन महिना वा बढी समयसम्म बढिरहेको छैन वा घटेको छ भने त्यो चिन्ताको विषय हुन्छ। बच्चाको खानपान, स्याहार र स्वास्थ्य सम्बन्धी केही कुराहरु सोधेर, बच्चालाई जाँचेर र आवश्यक परेमा पिसाब, दिशा, रगत लगाएत केही परिक्षणहरु गरेर स्वास्थ्यकर्मीले बच्चाको तौल नबढेको कुरा सामान्य हो वा चिन्ताजनक कुरा हो छुट्याउने गर्छन् ।

बच्चामा तौल नबढ्नुको मुख्य कारण कारण राम्ररी खान नपाएर वा नखाइदिएर हुने गर्छ ।गरिबी, भोकमरी, प्राकृतिक विपद वा मानवीय संकटका बेला बच्चाका लागि पर्याप्त खाने कुरा उपलब्ध नहुनसक्छ। कहिलेकाहिँ बाबुआमाले नै अज्ञानताका कारण पर्याप्त र सन्तुलित आहार नदिएका हुनसक्छन्। पूर्ण रूपमा स्तनपान नगराउँदा र सही समयमा उपयुक्त खालको अतिरिक्त आहार सुरु नगर्दा शिशुहरू कुपोषित हुनपुग्छन् र तौल बढ्दैन।त्यस्तै, बिरामी बच्चा, समयभन्दा पहिला नै जन्मिएका, धेरै कम तौल भएका, वा विकासमा ढिला भएका बच्चाले शरीरलाई आवश्यक पर्ने भन्दा कम खाने गर्छन्।

स्नेहपूर्ण पारिवारिक वातावरण र उचित स्याहार भएन भने पनि बच्चाले खानेकुरा राम्ररी खाँदैनन्। केही बच्चामा खानेकुराको एलर्जी हुन्छ । उदाहरणका लागि गाई भैंसीको दुधमा पाइने प्रोटिनले केही बच्चालाई एलर्जी हुन्छ। त्यसैकारण स्तनपान जारी राख्न र बच्चा एक वर्ष नपुग्दासम्म जनावरको दुध सुरू नगर्न सल्लाह दिइएको हो। अण्डा,मासु, बदाम, गहुँ जस्ता खानेकुराको पनि बच्चालाई एलर्जी हुनसक्छ। एलर्जी हुँदाहुँदै त्यस प्रकारका खानेकुरा दिइरहँदा उनीहरूको तौल नबढ्ने हुन सक्छ।

रोगको कारण पनि बच्चाको तौल नबढेको हुनसक्छ । बच्चामा पिसाव संक्रमण सबैभन्दा बढी देखिने र गम्भीर प्रकारका संक्रमण मध्येको एक हो, जसले गर्दा तौल बढिरहेको हुँदैन। त्यस्तै पटक-पटक पखाला लागेर, जुका परेर, क्षयरोग वा एड्स भएर पनि तौल नबढ्ने हुन सक्छ। संक्रमण र कुपोषणको चक्र अल्प बिकसित देशमा गम्भीर शारीरक र सामाजिक समस्या हो । दिर्घ रोग पनि तौल नबढ्नुको कारण हुन सक्छ l मुटुमा प्वाल हुने समस्या केही बच्चामा देखिन्छ जसले गर्दा उनीहरुमा पटक-पटक निमोनिया हुने मात्र नभई मुटुमा वाधा पर्ने गर्छ। थप पोषण चाहिने बेलामा झन् खान नसक्ने भएर तौल बढ्दैन। मधुमेह, थाइराइडको समस्या, मृगौला फेल हुने विभिन्न खाले समस्या पनि हुन् सक्छ। दुध वा खाने कुरा खाए पछि कहिलेकाही अलिकती बाहिर निस्कनु साना बच्चाका निम्ति सामान्य कुरा हो।  तर त्यस्तो भइरहन्छ भने यदाकदा यसले बच्चाको तौल नबढ्न सक्छ। कहिलेकाहिँ पाचन नली, पेट वा आन्द्राको रोगका कारण बच्चाले खान मन नगर्ने, पचाउन नसक्ने वा पोषणतत्व ग्रहण गर्न नसक्ने हुन्छ र तौल बढ्दैन।

तौल नबढ्नुको कारण तत्काल थाहा नहुन पनि सक्छ। कतिपय अवस्थामा बच्चा बिरामी परेर वा कुनै कारणले नखाएर तौल एक्कासी घट्छ वा केही समयको लागि बढ्दैन l सन्चो भएर खान थालेपछि साबिक झैँ तौल बढ्न थाल्छ। त्यस्तो हुनु सामान्य कुरा हो र यो बेला बच्चालाई चाहिने जति पोषिलो खानेकुरा दियो वा शिशुहरुलाई स्तनपान गराई राख्यो भने कुनै समस्या हुदैन । तर बच्चामा कुपोषिण पहिलेदेखि नै छ भने र अतिरिक्त पोषिलो खानेकुरा खुवाउन सकिएन भने बिरामी परेपछि यस्तो बच्चामा गम्भीर कुपोषण हुन सक्छ। त्यो खतरनाक अवस्था हो जसले जटिलता ल्याउन र बच्चाको ज्यान लिन पनि सक्छ।

आजभोलि अस्वोस्थ खालका अनेकथरी जंक फुडमा बच्चाहरुको पहूच पुग्ने गरेको छ l हामीले जानि-नजानी बच्चालाई कम फाइबर भएका, असन्तुलित पोषण तत्व भएका र कहिलेकाहीं स्वास्थ्यमा नकारात्मक असर पार्ने विषाक्त कुराहरू राखिएका वा मिसिएका खानेकुरा दिने गरेका छौं वा पैसा दिएर उनीहरुको रोजाइका यस्ता खानेकुरा खान छुट दिईरहेका छौं l सहरमा बढि होला, तर गाउँ गाउँमा समेत यो समस्या बढ्दै गएको छ l चाउचाउ, बिस्कुट, लेज, कुरकुरे, चटपटे, चाउमिन, मिठाई लगायत फ्राई गरिएका विभिन्न परिकार आजका बच्चाका दैनिकी बनेका छन् l यसले गर्दा बच्चाको तौल र उचाइको वृद्धिमा असर परेको हुन्छ l यो कुपोषण संगै मोटोपन र त्यो संग सम्बन्धित दिर्घ रोगहरुको दोहोरो महामारीको कारण बनेको छ l

त्यसकारण बच्चाको तौल सही दरले बढिरहेको छ कि छैन र छैन भने त्यसको कारण तथा निराकरणबारे बाबुआमाले थाहा पाइराख्नु आवश्यक हुन्छ।कुनै कारणले बच्चाको तौल बढिरहेको छैन भने उसलाई पर्याप्त मात्रामा पोषण सुनिश्चित गरिनु पर्छ। कुनै शारीरिक रोगले तौल नबढेको हो त्यसको उपचार गर्नुपर्छ।बच्चाले खाने कुरानै पाएको छैन वा न्यूनतम स्याहार नै पाएको छैन भने कुनै खालको सामाजिक सहयोग जुटाएर वा अभिभावकलाई उपयुक्त पोषणको लागि सबल बनाएर भए पनि सन्तुलित आहार र नियमित स्याहारको व्यवस्था गर्नुपर्छ। कुपोषणको कारणले तौल नबढेको हो भने खानामा क्यालोरी र प्रोटिनको मात्रा बढाउनु पर्नेहुन्छ।कहिलेकाही यस्ता बच्चालाई अस्पताल भर्ना गर्नुपर्ने पनि हुन्छ। यदाकदा बच्चालाई नाक वा मुखबाट ट्युब राखेर खुवाउनु पर्ने पनि हुन सक्छ। आवश्यकता र सुविधा हेरेर कुनै कुनै बच्चालाई पोषण केन्द्रमा पठाउने गरिन्छ। गम्भीर कुपोषण भएका बच्चाको तौल सामान्य हुन महिनौ लाग्न सक्छ।

सबै स्वास्थ्य संस्थामा खोप लगाउन आउँदा वा नियमित स्वास्थ्य परीक्षणमा आउँदा बच्चाको तौल लिएर विद्यमान बाल स्वास्थ्य कार्ड प्रयोग गरि वृद्धिको अनुगमन गर्नसके समयमा नै समस्या पहिचान हुन सक्छ। अनि बच्चालाई स्कुलमा भर्ना भएदेखिनै नियमित स्वास्थ्य परीक्षण गरि उसको लागि स्वास्थ कार्ड बनाएर वृद्धि र विकासको अनुगमन गर्नु राम्रो हुन्छ । स्वोस्थ खानपानबारे बच्चाहरु र तिनका अभिभावकलाई प्रत्यक अबसरमा चेतना अभिवृद्धि गर्नुपर्छ र स्कुलमा पनि जंक फुड खान निरुत्साहित गर्नुपर्छ l हालसम्म हाम्रो विद्यालय स्वास्थ्य कार्यक्रम स्वास्थ प्रणालीसँग एकीकृत रुपमा विकास हुन् सकेको छैन। वाल स्वास्थ्यको रक्षा तथा प्रबर्धनका निम्ति नेपालमा त्यस्तो एकिकृत प्रणाली बनाउनु आवश्यक छ।

Email: dineshdharel13@gmail.com