free hit counter मासु खाऔं, मजाले पचाऔं - Khanpin Khabar

मासु खाऔं, मजाले पचाऔं

  • खानपिन खबर

दशैंमा हरेकका घरमा मासुका विभिन्न परिकारका साथै अन्य मिष्ठान्न भोजन तयार हुन्छन् । दसैँमा प्रोटिनयुक्त खानेकुरा बढी खाने, फुर्सदको समय बढी हुँदा आराम गरिने हुन्छ । यही कारणले खानेकुरा अपच भएर बिरामी पनि हुने गरेको पाइने गरेको छ । बढी चिल्लो, अमिलो र पिरो खानेकुरा नखाँदा नै राम्रो हुन्छ, आफूले पचाउन सक्ने अवस्था हेरेर मात्र खानेकुरा खानुपर्छ । चिल्लो, अमिलो, पिरो खानेकुराले ग्यास्ट्रिक बढाउने, टन्सिल हुनेलगायतका समस्या हुन्छ । त्यसका साथै कोलेस्ट्रोल बढाउने बोसोको मात्रा बढी हुन्छ जसका कारण अपच हुने, कब्जियत, फुड पोइजनजस्ता समस्या देखा पर्छन् । चाडबाडमा मसलेदार परिकारलाई पनि प्राथमिकता दिइन्छ । त्यस्ता परिकार घरमै तयार गरिएको ताजा जिरा, धनियाँ, लसुन, प्याजलगायतका मसला बनाइएको छ भने त्यसले त्यति असर गर्दैन ।

 

कति आवश्यक छ मानिसलाई मासु 

एउटा जवान मान्छेले एक दिनमा २ सय ५० ग्रामसम्म मासु खानुलाई राम्रो मानिन्छ ।  मधुमेह, उच्च रक्तचाप, किड्नीमा समस्या भएका र कोलेस्ट्रोल बढी भएका बिरामीले बोसो नभएको मासुलाई उसिनेर मात्र खानु पर्दछ । मासुमा धेरै बोसो हुने हुँदा त्यसले कोलेस्ट्रोल बढाएर अपच हुने तथा फुड पोइजन पनि हुन सक्छ । मासुलगायत दसैँमा प्रोटिनयुक्त खानेकुरा धेरै खाइने हुँदा मोटोपन बढ्ने, ग्यास्ट्रिक बढ्ने समस्या हुनु सामान्य हो ।

 

मासु शरीरको पाचन क्षमताले मात्रै पचाउँछ

मासुका परिकारको पर्व हो दशैं । तर शरीरले पचाउन सकेन भने त्यो मासु रोगको कारक पनि बन्न सक्छ । दसैँमा टन्न मासु खाएर बस्ने सोच बनाए पनि पाचन प्रणालीले सघाउ पुर्याएन भने त्यो मासुले शरीरलाई सास्ती दिन सक्छ । हामीले यहाँ मासु पचाउन सघाउ पुर्याउने केही सामग्री पस्कने प्रयास गरेका छौं । मासु खाएको वेला अन्य केही चिज खाँदा मासु पच्ने सोचे पनि शरीरको पाचन क्षमताले मात्रै मासु पचाउन सक्छ । त्यसैले अन्य खानामा जोड गरेर मासु कम खानु नै राम्रो मान्छन् चिकित्सकहरु ।

धेरै मासु खाएको वेला पचाउने नाममा मदिराजन्य वस्तुको सेवन गर्ने चलन बढी छ । मदिरा तथा कोल्ड ड्रिंक्स पिउँदा मासु पच्छ भन्ने अधिकांशको बुझाइ छ । तर, यो बुझाई गलत हो भन्छन् आयुर्वेद चिकित्सक डा. सिद्धार्थ ठाकुर । पदार्थले मासु पचाउने नभई ग्याँसको मात्रा केही कम गराएर सहज मात्रै बनाउने उहाँले बताउनुभयो ।  मासुले स्वास्थ्यमा पुर्याउने असरलाई रोक्ने क्षमता पनि यसमा हुँदैन ।

मासु खाँदा, दही, मुलालगायत कतिपय भेज आइटमले मासु पचाउँछ भन्ने मान्यता हामीले राखे पनि चिकित्सकहरु त्यो कुरा स्वीकार गर्दैनन् । व्यक्तिको पाचन क्षमता वृद्धि नभई अन्य कुनै पनि चिजले मासु पचाउन सक्दैन । कुन उमेरको व्यक्तिले कति मासु पचाउन सक्छ भन्ने विषय पनि व्यक्तिको पाचन क्षमतामा नै भर पर्दछ ।

कुनै भेज आइटमले मासु पचाउने क्षमता राख्ने होइन । बरु, भेट आइटम पनि खाँदा मासु कम खाइन्छ र पच्न सजिलो हुन्छ । सब्जी र सलादहरू पहिले खाएर मासु खाँदा कम खाइने भएकाले पाचनक्रिया सहज मौ हुने हो । दशैं भन्दैमा लगातार मासुमात्रै खानु पनि होइन । उमेरअनुसार मासुको मात्रा मिलाएर खानु राम्रो हुन्छ ।

उमेरअनुसार खानुपर्छ मासु

१० वर्ष आसपासका व्यक्तिको डाइजेस्टिक पावर कमजोर हुन्छ । त्यसैले यो उमेरका व्यक्तिले मासु धेरै नखानु राम्रो हुन्छ । यस्तै ६० वर्ष उमेर पार गरेका व्यक्तिको पाचन क्षमता कमजोर भइसकेको हुन्छ । यो उमेरका व्यक्तिले मासु नखानु नै राम्रो हुन्छ । १५–४० वर्ष उमेरका व्यक्तिले आफ्नो स्वास्थ्यको ख्याल गरेर मासु खानु राम्रो हुन्छ ।

बिहान र दिउँसो खाएको मासु पच्न सजिलो हुन्छ किनभने यो समयमा कुनै न कुनै क्रियाकलाप भइरहेको हुन्छ । तर, मासु खाएर दिनभर सुत्ने र बसिरहने गर्नु हुँदैन । शारीरिक सक्रियता कायम राख्नुपर्छ । रातिको समयमा भने मासु नखानु नै ठीक हुन्छ । बेलुका सामान्य सब्जी खाएर सुत्दा मासु पाचन सहज हुन्छ भने असर पनि कम गर्छ । मासु खाएको समयमा गेडागुडीलगायत अन्य प्रोटिनजन्य वस्तु नखानु ठीक हुन्छ । मासु उमालेपछि मात्रै पकाएर खानु स्वास्थ्य र पाचनका हिसाबले फाइदा गर्छ । उमालेपछि चिल्लो र पिरो कम राखेर पकाएको मासु खाँदा पाचन क्रिया केही सहज हुन्छ । फ्याटको मात्रा नहुने भएकाले स्वास्थ्यमा असर पार्ने सम्भावना पनि कम हुन्छ ।