पश्चिमा खाद्यान्नमा खासै प्रयोग नहुने बेसार अहिले आएर त्यतारित पनि प्रवेश पाएको छ । बेसारसम्बन्धी विभिन्न अध्ययनहरुले यसको औषधिय गुणलाई उजागर गरेपछि पश्चिमाहरुले पनि क्रमशः यसको उपयोग गर्न थालेका छन् । आयुर्वेदले बेसारलाई औषधीय गुण भएको वनस्पतिका रूपमा व्याख्या गरेको छ । आधुनि चिकित्सा विज्ञानले पनि यसलाई अस्वीकार गरेको छैन बरु भिटामिन र खनिजको मुख्य स्रोतका रूपमा लिने गरेको छ । साथै, बेसारमा हाम्रो शरीरलाई आवश्यक क्यालोरी, भिटामिन ए, क्याल्सियम, फस्फोरस, फलामतत्व आदि प्रचुर मात्रामा पाइने पुष्टि भइसकेको छ ।
बेसारको रङ पहेँलो हुन्छ । कुरकुमिन नामक रसायनले यसको रङ पहेँलो बनाएको हो । हिन्दू धर्ममा पहेँलो रङको छुट्टै महत्व छ । यसर्थ, कतिपय हिन्दू संस्कारमा बेसारलाई विशेष महत्व दिई उपयोग गरिन्छ । बेसार भिटामिन र खनिजको मुख्य स्रोत भएको चिकित्सा विज्ञानले प्रमाणित गरेको छ । दूधमा बेसार मिलाएर पकाएर खाँदा रुघाखोकी सन्चो हुन्छ । तारन्छतार टन्सिलले सताइरहेन समस्या छ भने एक गिलास दूधमा एक चम्चा बेसार राखेर पकाएर खायो भने टन्सिलको समस्या सदाका लागि निको पार्छ । त्यस्तै, महसँग बेसार मिसाएर खाएमा टन्सिल निको हुन्छ ।
एलर्जी, दाद, लुतो आदि छालासम्बन्धी रोगका लागि बेसार प्रभावकारी मानिन्छ । बेसारको चूर्ण गहतमा मिसाएर लेप बनाई लगाउँदा छालासम्बन्धी विभिन्न समस्या निको हुन्छ । मुख र घाँटीमा घाउ आउँदा नुन, बेसार–पानीले कुल्ला गर्दा आराम मिल्छ । पेटमा ग्यास जम्मा हुने, कफ जम्ने, खुट्टा बटारिनेजस्ता समस्या बेसारलाई नुनपानीमा घोलेर बिहान–बेलुका खाएमा ठीक हुन्छ । मधुमेहका बिरामीका लागिसमेत बेसार अचुक औषधि मानिन्छ । दैनिक अमलाको रसमा बेसार मिसाई सेवन गर्दा मधुमेहका रोगीलाई लाभ मिल्छ ।
यस्ता छन् बेसारका औषधीय गुण
हाम्रो परम्पार छ बेसार बिनाको खाना अलच्छिन हुन्छ । वास्तवमा यस्तो भन्नु यसमा रहेको औषधीय गुणहरुको कारण नै रहेछ । हाम्रो भान्सामा बसेको चिकित्सक हो बेसार । यसले कैयौं स्वास्थ्य समस्याहरुको प्राथमिक उपचारमा हामीलाई सघाइरहेको हुन्छ ।
बेसारको शुद्धता
हरेक छाकमा प्रयोग हुने बेसार शुद्ध हुन्छ भन्ने छैन । बजारबाट खरिद गरेर प्रयोग गरिने बेसारमा मेटानिल येलो नामक रसायन मिसाइन्छ । जबकी यो क्यान्सर जस्तो भयानक रोगको कारण समेत बन्न सक्छ । बेसार पाउडरमा केहि थोपा हाइड्रोक्लोरिक एसिड र उत्तिनै थोपा पानी हालेर जाँच्नुपर्छ । यदि बेसार गुलाबी वा बैजनी रंगको भयो भने, त्यो मिसावट भएको हुनसक्छ ।
(वरिष्ठ आयुर्वेद विशेषज्ञ डा. सिद्धार्थ ठाकुरसँगको कुराकानीमा आधारित)