free hit counter पिउने पानी यसरी बनाऔं शुद्ध - Khanpin Khabar

पिउने पानी यसरी बनाऔं शुद्ध

  • खानपिन खबर

नेपालीमा उखानै छ, मुलको पानी, कुलकी नानी । यिनीहरुको शुद्धमा कुनै प्रश्नै गर्न पर्दैन । तर अहिले समय बदलिएको छ । पानीको मुहान नदेखी पिउनेको संख्या झण्डै ८० प्रतिशत पुगेको छ । विभिन्न स्थानामा भण्डारण गरेका र ट्याङ्करमा ओसारीएको पानी देख्दा सङ्लो भए पनि शुद्ध छैनन् । मानिसलाई नानाथरि रोगले सताउने भनेकै पानीका कारण हो । शुद्ध पानी पिउन सकियो भने थुप्रै समस्याबाट छुटकारा पाउन सकिन्छ । प्रदूषित पानीले झाडापखाला, हैजा, आउँ, रगतमासी, टाइफाइड, हेपाटाइटिसलगायतका नानाथरि स्वास्थ्य समस्या निम्त्याउँछ । प्रदूषित पिउने पानीले गर्दा उत्पन्न झाडापखालाका कारण अझै पनि वर्षेनी सयौंले ज्यान गुमाइरहेका छन् । गर्मी बढेसँगै यस्ता संक्रमणले सताउने गरेको पाइन्छ । शुद्घ पिउनेपानीको उपयोग गर्न सके सम्भावित महामारीलगायतका विभिन्न संक्रमणबाट बच्न सकिन्छ । पानीको पहिलो शुद्धता सङ्लो पन हो । पानी सङ्लो हुँदा मात्रै पनि ७० प्रतिशत जिवाणु हटिसकेको हुन्छ । सङ्लो पानीलाई थप शुद्धिकरण गरेर पिउन योग्य बनाउन सकिन्छ ।

पानी शुद्ध गर्ने तरिका

पानीबाट रोग नफैलियोस् भन्ने हो भने उमालेको पानी हालेर बनाइएको पेयपदार्थ मात्र पिउनुपर्छ । क्यान र व्यावसायिक रूपमा बोतलमा राखिएको कार्बोनेटेड पानीलगायत पेयपदार्थ मात्र पिउनुपर्छ । बरफ तथा सडकमा बेचिने आइसक्रिम प्रदूषित हुन सक्ने सम्भावना भएकाले यस्ता वस्तु खानु हुँदैन । यदि तपाईंसँग भएको पानी धमिलो छ भने केही मात्रामा फिटकिरी हालेर पनि त्यसलाई सङ्लो बनाउन सक्नुहुन्छ । पानी सङ्लो हुनु नै शुद्ध हुनु भने होइन । सङ्लो पानीलाई राम्ररी उमालेर पिउँदा मात्रै सुरक्षित भइन्छ । फिटकिरी पाइएन भने सफा कपडालाई ६–७ पत्र दोबारेर पानी छान्दा पानीको फोहोर, धमिलोपन केही मात्रामा कम हुन्छ । सबै ठाउँमा पानी उमालेर पिउने सम्भावना पनि हुँदैन । त्यस्तो बेला एक लिटर पानीमा २–३ थोपा क्लोरिन झोल राखेर आधा घण्टा त्यत्तिकै छाडिदिँदा पनि त्यो पानी पिउनका लागि योग्य हुन्छ । यस्तै, पानीमा क्लोरिन चक्की हालेर पनि शुद्ध गर्न सकिन्छ । यदि पानी सङ्लो छ भने यसलाई घामको माध्यमले समेत शुद्घ बनाउन सकिन्छ । यो ‘सोलर डिसइन्फेक्सन’ अर्थात् घामको सहयोगले पानी शुद्घीकरण गर्ने प्रक्रिया हो । यसलाई बोलचालमा ‘सोडिस’ प्रविधिसमेत भनिन्छ । अमेरिकास्थित सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) का अनुसार, सोडिस प्रविधि सन् १९८० मा बिनाकुनै खर्च जीवनजलमा शुद्घ पानी मिसाउनका लागि विकसित गरिएको हो । यसअन्तर्गत प्लास्टिकको सेतो बोतलमा सङ्लो पानी भरिन्छ र यसलाई बेस्सरी हल्लाएपछि घाम लाग्ने ठाउँमा करिब ४५ डिग्रीको कोण बनाएर तेर्सो पारेर राखिन्छ । घाम लागेको समय करिब ६ घण्टा र बादल लागेको मौसम भए करिब दुई दिनसम्म पानीलाई घाममै राख्दा यो पिउन योग्य हुन्छ । सोडिस प्रविधिले झाडापखाला उत्पन्न गर्ने भाइरस, ब्याक्टेरिया र प्रोटोजोआलाई निस्क्रिय बनाउने तथ्य प्रयोगशालाबाटै देखिइसकेको छ । सोडिस प्रविधिले ९० प्रतिशतसम्म पानीको शुद्घ बनाउने गर्दछ । यसका लागि पानी सङ्लो हुनुपर्छ भने प्लास्टिकको बोतल पारदर्शी हुनुपर्छ ।
खानाबिना हामी दुई साताभन्दा बढी समयसम्म बाँच्न सक्छौँ । तर पानीबिना एक साताभन्दा बढी बाँच्न सक्दैनौं । एक दिनमा कुनै पनि स्वस्थ वयस्क पुरुषको लागि करिब तीन लिटर र महिलाका लागि करिब सवा दुई लिटर पानी पर्याप्त हुन्छ । तर, व्यक्ति विशेषलाई दिनहुँ कति पानी आवश्यक हुन्छ भन्ने कुरा सम्बन्धित व्यक्तिको स्वास्थ्य, सक्रियता, बसोबासलगायत थुप्रै कारकमा निर्भर गर्दछ । हाम्रो शरीरको करिब ६० देखि ७० प्रतिशत भाग पानीले बनेको छ । शरीरका सबै प्रणाली पानीमै निर्भर हुन्छन् । पानीले हाम्रो शरीरको महत्वपूर्ण अंगबाट विषाक्त पदार्थ बाहिर निकाल्ने गर्छ । कोषहरूमा पोषणसमेत पु¥याउँछ ।