free hit counter गोरखामा ७ करोडको लगानीमा तारे होटल बन्यो, होटलबाटै मनास्लु हेर्न पाइने - Khanpin Khabar

गोरखामा ७ करोडको लगानीमा तारे होटल बन्यो, होटलबाटै मनास्लु हेर्न पाइने

  • खानपिन खबर

काठमाडाैं । गोरखाको लिगलिगकोट आउने पर्यटकलाई लक्षगरी पालुङटार नगरपालिकामा करिब सात करोड रुपैयाँकाे लागतमा सुविधासम्पन्न होटल सञ्चालनमा आएकाे छ । यसको प्रचारप्रसारसँगै पर्यटकको सङ्ख्या बढ्न थालेपछि ‘होटल लिगलिग मनास्लु भ्यू’ सञ्चालनमा ल्याइएको होटलका सञ्चालक मानबहादुर पौडेलले जानकारी दिए ।

 

“अहिलेसम्म कूल रु सात करोड १० लाख लगानी भइसकेको छ, अझै निर्माणको काम भइरहेको छ”, उनले भने,“लिगलिगकोट घुम्न आउने पर्यटक अब बास खोज्दै फर्कनुपर्ने बाध्यता हुने छैन ।”

दश रोपनी क्षेत्रफलमा निर्माण गरी सञ्चालनमा ल्याइएको होटलमा २० आधुनिक र सुविधासम्पन्न आरामदायी कोठा रहेका छन् । होटलमा आधुनिक सुबिधासम्पन्न बैठक कक्ष, पार्टी प्यालेस, आवश्यकतानुसार बैठक कोठा तथा रेष्टुरेन्ट छन् ।

 

सञ्चालक पौडेलले भने, “अहिले स्विमिङ पुल निर्माणको काम पनि भइरहेको छ ।” उनले लिगलिगकोट र जिल्लाका आसपासका पर्यटकीय गन्तव्य घुम्न आउने पर्यटकलाई पर्यटकीयस्थलसम्म घुमाएर फर्काउनेसम्मको व्यवस्था होटलले मिलाएको जानकारी दिए ।

 

त्यस्तै, होटलमा आउने पाहुनाले स्थानीय उत्पादनको स्वाद चाख्न पाउनेछन् भने उनीहरुको चाहनाअनुसार स्थानीय कलासंस्कृतिको प्रस्तुतिसमेत देखाउने व्यवस्था रहेको उहाँको भनाइ छ । पालुङटार क्षेत्रमा सुविधा सम्पन्न होटल नहुँदा घुम्न आउने पर्यटकलाई समस्या हुँदै आएको थियो ।

लिगलिगकोट आउने पर्यटक लिगलिगकोट आसपासका क्षेत्रमा बस्नका लागि उपयुक्त बासस्थान नहुँदा फर्कनुपर्ने बाध्यता रहदै आएको थियो । पालुङटार–२ आँपपीपलमा पर्ने लिगलिगकोटमा अहिले दैनिक एक हजारसम्म आन्तरिक तथा बाह्य पर्यटक घुम्न आउने गरेका छन् ।

 

दौडिएर राजा हुने परम्परा भएको लिगलिगकोट अध्ययन र अवलोकनका लागि पर्यटक आउने गरेको लिगलिगकोट विकास अभियानका अध्यक्ष पूर्णबहादुर रानाले जानकारी दिए । तत्कालीन समयमा लिकलिगकोटमा प्रत्येक वर्ष बडादशैँको नवमीका दिनमा नयाँ राजा छान्ने चलन रहेको इतिहास रहेको छ ।

 

“आवश्यक भौतिक पूर्वाधार निर्माण नहुँदा यहाँ आउने पर्यटकलाई समस्या हुँदै आएको थियो ”, उनले भने, “पर्यटकलाई लक्ष्यगरी होटल सामुदायिक घरबासलगायत सञ्चालन हुन थालेपछि सजिलो भएको छ ।” लिगलिगकोटमा स्थानीय मगर समुदाय मिलेर भर्खरै मात्र सामुदायिक घरबाससमेत सञ्चालन गरिएको अध्यक्ष रानाकोे भनाइ छ ।

 

करिब १० रोपनी क्षेत्रफलमा आधुनिक शैलिमा निर्माण गरिएको होटलमा डिलक्स र प्रिमिएर गरी २० वटा सुबिधा सपन्न कोठा, सेमिनार हल, पार्टि प्यालेस, मिटिङ्ग हल, रेष्टुरेन्ट बार सञ्चालनमा रहेको होटल लिगलिग मनास्लु भ्यूका सञ्चालक मान बहादुर पौडेलले जानकारी दिए । साथै स्वमिङ्ग पुल को निर्माण कार्य पनि भै रहेको उनले बताए ।

‘यस क्षेत्रमा घुम्न आउने प्रर्यटकका लागि यहा बस्ने ठाउँ नभएर बैकल्पिक ठाउँमा जानू पर्ने समस्या थियो, अब प्रर्यटकका लागि पालुङटार आउन र बस्नमा कुनै समस्या हुँदैन,’ उनले भने ।

 

गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ४ मा होटल सञ्चालन गरिएको हो । पालुङटार नगरपालिकालाई नेपाल सरकारले स्मार्ट सिटीको रुपमा अगाडि सारेको छ, राष्ट्रिय गौरवको आयोजना मध्य पहाडी लोकमार्ग पनि पालुङटार हुँदै सञ्चालनमा आउँदै छ । २०३/३१ सालबाट रोकिएको पालुङटार एर्पोट पनि संघिय र प्रदेश सरकारले सञ्चालनमा ल्याउनका लागि तयारी गरिएको छ । जसले गर्दा यस्ता होटलहरु सञ्चालनमा आउँदा विकासमा टेवा पुग्ने छ । नेपाल एकीकरणको उद्मस्थलका रुपमा लिगलिगकोटलाई लिइन्छ ।

 

Bikash news बाट