free hit counter खानपिनमा ध्यान नपुगे दशा बन्छ दशैं - Khanpin Khabar

खानपिनमा ध्यान नपुगे दशा बन्छ दशैं

  • खानपिन खबर

मासु र खानपिनको पर्व दशैंले सबैलाई छोपिसकेको छ । शहरमा रहेकाहरु घर जाने तयारीमा छन् भने कोही दशैंको किनमेलमा बजार धाउँदैछन् । कोही दशैंको खशीको बन्दोबस्तीमा लागेका छन् । मासुको पर्व भएका कारण दशैं मासु बिना मान्न सकिँदैन । हुनेले देखाएरै मनाउने दशैंलाई नहुनेले पनि ऋण धन गरेर मनाउनै पर्ने बाध्यता छ ।

खानपिनमा ध्यान नदिँदा धेरै मानिस दशैंको बेला अस्पतालमा पुग्ने गरेका छन् । खानपिनमा सामान्य ध्यान नदिँदा दशैंको समयमा उच्च रक्तचाप, मुटु, मधुमेह र पेटजन्य समस्याका साथै झाडाबान्ता हुने, कब्जियत हुने, युरिक एसिड बढ्ने तथा ग्यास्ट्राइटिसका बिरामीको सङ्ख्यामा उल्लेख्य वृद्धि हुने गरेको छ । दशैंमा मासु खान रोक्न त सकिँदैन, तर खाँदा सावधानी भने अपनाउनुपर्छ। बासी नखाने, सागसब्जी, गेडागुडी पनि खानामा समावेश गर्ने बरु कुखुरा, माछाको मासुलाई प्राथमिकता दिँदा राम्रो हुने चिकित्सकहरुले बताएका छन् ।

अनियन्त्रित खानपानले शरीरमा अतिरिक्त बोसो जम्मा भई मधुमेह मात्र नभई अन्य रोगलाई पनि बढावा दिन्छ । विशेष गरी दीर्घ रोगीले दशैंमा विशेष ध्यान पु¥याउनुपर्छ । ताजा र सफा मासु ल्याएर धरै चिल्लो र मसलेदार भन्दा पनि साधारण तरिका अपनाउनु पर्ने सुझाव चिकित्सकहरुले दिएका छन् ।

 

दशैंमा देखिने समस्या

फुड पोइजन विभिन्न कारणबाट हुने गर्छ। राम्रोसँग नपाकेको काँचो खाना, बासी खानामा पाइने ई–कोलाइ, स्टेफाइलोकोकसलगायतका बेक्टेरियाहरु हुन्छन्। जसका कारण खाना दूषित हुन्छ। सरसफाइ नगरेको भान्छा कोठा र भाडाकुँडामा बनाइएको खाना पनि फुड पोईजनिङ्को अर्को कारण बन्दछ। यस्ता खाना खानाले मानिसहरुमा विभिन्न लक्षणाहरु देखा पर्दछ। खानेकुरा र पानीको माध्यमबाट शरीरमा बेक्टेरिया प्रवेश गर्छ। छिटो प्रजनन् हुने भएकाले शरीरमा प्रवेश गरेको ३० मिनेट देखि ४८ घन्टामा शरीरले प्रतिक्रिया देखाउन सुरु गर्दछ। जिवाणु अनुसारको मानिसले लक्षण देखाउन थाल्दछ। जस्तो की भिव्रोकोलेरा जिवाणूका कारण पातलो दिशा र वान्ता हुने गर्दछ। सिगेलाका कारण दिशाबाट रगत जान्छ। अमिबाका कारण चिप्लो दिशा (आउँ) जाने जस्ता समस्याहरु देखा पर्दछ।

वाक–वाकी लाग्ने, वान्ता हुने, झाडापखाला लाग्ने, उधो–उभो हुने, रिगँटा लाग्ने, दिशामा रगत आउँ देखा पर्ने, ज्वरो आईरहने, टाउको दुख्ने, पेटमा ऐठन हुने, मुटुको धडकन अस्भाविक रुपले बढने, शरीर झमझमाउने, ओठ(मुख सुक्ने जस्ता लक्षणहरु विरामीमा देखा पर्छ।

खानाको सुरक्षा र सरसफाइलाई ध्यान दिन सकेमा फुड पोईजनबाट पूर्णरुपमा बच्न र बचाउन सकिन्छ। काँचो माछा, मासु, राम्ररी नपाकेको खाने कुरा पकाएर फ्रिजबाहिर लामो समयसम्म राख्ने गरिएका खानेकुराको सेवनले फुड फोईजन हुने गर्दछ। सबै ठाउँमा फ्रिज, डि–फ्रिज हुँदैन, उचित तापक्रम मिलाएर राख्ने सुविधा नहुने भएकाले त्यस्ता खाने कुराले – झाडा–बान्ता, गेष्ट्राईटिसका साथै पाचनप्रणालीमा विभिन्न समस्याहरु देखापर्ने गर्दछन्। त्यसकारण चाडबाडका लागि भनेर ल्याईएका खाने कुराहरुलाई पकाएर सकेसम्म लामो समय बाहिर नराखे यसबाट बच्न सकिन्छ। यदि राख्नु पर्ने भएमा फ्रिज वा डी–फ्रिजमा राख्नु पर्छ। सरसफाईमा ध्यान दिने हो भने दूषित खानाबाट हुने फुड पोईजनबाट बच्न सकिन्छ।

 

रातो होइन सेतो मासु

तुलनात्मक रुपमा अन्य चार्डपर्वभन्दा दशैंमा माछामासुको खपत बढी हुने गर्दछ । धेरैले त घरमै खसीबोका तथा च्याङ्ग्रा काट्ने गर्दछन् ।  मासुको सेवानमा विशेष ध्यान दिनुपर्दछ । साथै यसलाई पकाउने विषयमा पनि ख्याल पुर्‍याउनु अनिवार्य छ । मासु दुई प्रकारको हुन्छ । सेतो मासु र रातो मासु । सेतो मासु तुलनात्मक रुपमा स्वास्थ्यका लागि बढी फाइदाजनक हुन्छ । रातो मासुमा यसै पनि चिल्लोको मात्रा बढी हुन्छ ।

कुखुरा, माछा, अष्ट्रिज, इमु लगायतबाट प्राप्त हुने मासु सेतो मासु हो । चार खुट्टे जनावरबाट प्राप्त हुने मासु भने रातो मासु हो । रातो मासुमा अत्याधिक प्रोटिनका साथै फ्याटी एसिड पनि प्रशस्त मात्रामा हुन्छ ।

मासुमा भएको कोलस्ट्रोल र फ्याटी एसिडले स्वास्थ्यलाई बढी हानी गर्छ । यसले मुटु रोगीलाई सबैभन्दा बढी हानी गर्छ भने मुटु रोगको खतरा पनि निम्त्याउँछ । शरीरभित्र फ्याटी एसिडसँग कोलस्ट्रोल मिलेपछि मात्र खराब चिल्लो पदार्थ बन्छ ।

रातो मासुमा स्याचुरेटेड फ्याटको मात्रा बढी हुन्छ । यस्ता फ्याटले रगतमा कोलस्ट्रोलको मात्रा बढाउँछ । मासुका साथै यस्ता फ्याट दूधबाट बनेका कुराहरुमा पनि बढी पाइन्छ । साथै बेक गरिएका र बढी फ्राइ गरिएका कुराहरुमा यस्तो फ्याट बढी हुन्छ ।

 

छाला खाँदै नखानुस्

छाला मिसिएको मासु मानव स्वास्थ्यका लागि फाइदाजनक हुँदैन । छालासहित जनावरको खुट्टा, पखेटा, साँप्रोमा चिल्लो पदार्थ, कोलस्ट्रोल र क्यालोरीको मात्रा बढी हुन्छ । यसले पनि विभिन्न रोगहरुलाई निम्तो दिन्छ । संगै खसीबोका लगायतका जनावरको छालामा काटिएर रहेका रौ पनि रहन्छ । त्यसैले छाला नभएको मासु खान बढी स्वस्थकर हुन्छ ।

 

जंक फुड र पुराना अचार नखाऔं

दशैंका बेला गुलिया परिकार, प्लास्टिक र टिनमा राखिएका पुराना अचार, ड्राइफुड, जंकफुड नखाएकै बेस हुन्छ । यसैगरी विभिन्न कोल्ड ड्रिंक्स आइसक्रिम, मह, जाम, केक लगायत पनि खानु स्वस्थकर मानिँदैन । सुगर, प्रेसर र मुटुका बिरामीलाई पनि यसले राम्रो गर्दैन । ड्राइफुडसहित प्याकेजिङ फुडले स्वास्थ्यलाई फाइदा गर्दैन । बजारमा पाइने प्याकेट गरिएका धेरैजसो खाद्यपदार्थहरुमा कम्पोजिसन भनेर प्याकेटमा यस्ता कुराहरु लेखिएका हुन्छन् । अलिकति ध्यान दिने हो भने त्यस खाद्यपदार्थमा कस्ता किसिमका चिल्ला पदार्थहरु रहेछन् बुझ्न सकिन्छ ।

 

मसलाको मात्रा घटाऔं

अरुबेला अदुवामात्रै थिचेर काम चलाउने परिवारले पनि दशैंका लागि मरमसलोको जोहो गरेकै हुन्छ । दशैंमा परिकारहरुमा मसलाको प्रयोग अत्याधिक हुने गर्छ । चिल्लोसंगै मसला धेरै प्रयोग गर्दा त्यसले स्वास्थ्यमा विभिन्न समस्या ल्याउन सक्छ । मासुका परिकारमा बेसार, अदुवा, खुर्सानी, जिरा, मरिच, मेथी, सुप, धनियाँ धेरै राख्नु पनि उचित होइन । बजारमा पाइने रेडिमेड मसलाहरुको शुद्धतामा ग्यारेन्टी गर्न नसकिने हुँदा तिनीहरूले शरीरमा मन्द विषको काम गर्न सक्छन् । त्यसैले यस्ता तयारी मसलाभन्दा पनि घरमै तयार गरेको मसला खानु राम्रो मानिन्छ ।

 

धुम्रपान र मद्यपान हानीकारक

दशैंमा मात्र होइन अरु समय पनि धुम्रपान र मद्यपान स्वास्थ्यका लागि हानीकारक हो । त्यसमा पनि दशैंमा रमाइलोका नाममा बढी धुमपान र मद्यपान गर्दा अनाहकमा ज्यान गुमाउनुपर्नेस्म्मका जोखिम आइपर्न सक्छन् । दशैंको बहानामा यो क्रियाकलापमा सहभागी नभएकै राम्रो त्यसमा पनि रोगी मान्छेले त झन बिल्कुल गर्नु हुँदैन । धुम्रपानले मुटु र फोक्सोलाई हानी गर्छ । मद्यपानले मुटुरोगको खतरा बढाउँछ ।

 

शाहाकारी खाना नै उत्तम

धेरै शारीरिक काम गर्नेले धेरै खानुपर्छ, थोरै काम गर्नेले थोरै खानुपर्छ । काम कम, माम धेरै गर्नुहुँदैन । शाकाहारी भोजन मुटुरोगका लागि फाइदाजनक हुन्छ । तर, नियन्त्रित रूपमा माछामासु खाएमा हानि हुँदैन । उच्च फाइबरयुक्त खानाले मुटुलाई फाइदा गर्छ । खानामा फाइबरको प्रमुख स्रोत गहुँ, गेडागुडी, हरियो सागपात नै हुन् । अंकुरित गेडागुडी र ताजा तरकारी खानु अझ बढी लाभदायक हुन्छ । फापर, कोदो, जौ, मकै लगायतले पनि मुटुलाई फाइदा पुर्‍याउँछ । मासु खाएपनि हरियो सागपात र ताजा फलफूल पनि सन्तुलित रुपमा खानुपर्छ । सँगै दशैंमा काम नगरी विभिन्न खेलमा रमेर बस्ने, टिभीमै केन्द्रित हुने लगायत अल्छी प्रवृत्ति पनि हुन्छ । त्यसले रोगीहरुको स्वास्थ्य झन बिग्रिनछ ।