free hit counter खान नजान्दा ज्यानै लिनसक्ने लिची - Khanpin Khabar

खान नजान्दा ज्यानै लिनसक्ने लिची

  • खानपिन खबर

खाली पेटमा खानु खतरनाक, बर्सेनी सयौं बालबालिकाको मृत्यु
बालबालिकादेखि बयस्का र वृद्ध सबैलाई मनपर्ने मीठो फल हो लिची । यो मूलतः चीनबाट आएको फल हो । यो फललाई २००० ईशापूर्वदेखि नै चीनमा खाँदै आइएको थियो । चीन हुँदै यो फल भारत, नेपाल, थाइल्यान्ड, भियतनाम, बंगलादेश, फिलिपिन्स, इन्डोनेसिया, अस्ट्रेलिया, मरिसस, अमेरिका, इजरायल, र मेडागासकर मुलुकमा पनि पुगिसकेको छ । भारतीय कृषि अनुसन्धान परिषद्, राष्ट्रिय लिची अनुसन्धान केन्द्रका अनुसार यसमा सुक्रोज, फ्रुक्टोज र ग्लुकोज गरी तीनै प्रकारका चिनी पाइन्छ । लिचीको फलमा करिब ६० प्रतिशत जुस, ८ प्रतिशत ¥याग, १९ प्रतिशत बीउ र १३ प्रतिशत बोक्रा हुन्छ । यसमा भिटामिन सी, पोटेसियम र प्राकृतिक चिनी पाइन्छ । लिचीमा चिनी १०–२२ प्रतिशत, प्रोटिन ०.७ प्रतिशत, बोसो ०.३ प्रतिशतलगायत धेरैजसो भिटामिन जस्तै सी, ए, बी १, बी २ प्रशस्त पाइन्छ ।

भारतको बिहारमा विगत दुई दशकदेखि एउटै सिजनमा अज्ञात रोगका कारण बर्सेनि एक सयभन्दा बढी बालबालिकाको मृत्यु हुँदै आएको थियो । दिउँसोभरि खेलिरहेका, रमाइरहेका बालबालिका राति अकस्मात छलपटाएर ढल्ने गर्दथे । यस्तो स्वास्थ्य समस्या देखिएपछि चिकित्सकसमेत अमलममा परेका थिए । के कारणले बच्चाको मृत्यु भएको हो भन्ने कुरा रहस्यमै थियो । तर, एउटा गहन खोजले ती बालबालिकाको मृत्युको कारण पत्ता लगाएको छ । अमेरिकी र भारतीय चिकित्सकहरु सम्मिलित अनुसन्धान टोलीले ती बालबालिकाको मृत्युको कारण लिचीलाई मानेको छ । अनुसन्धान प्रतिवेदनमा भनिएको छ, खालि पेटमा बच्चाहरुले खाने गरेको लिची नै उनीहरुको मृत्युको कारण बन्ने गरेको छ । खासगरी लिची फल्ने महिना मेदेखि जुलाईसम्ममा ती बालबालिकाको मृत्यु हुने गरेको थियो । दुई दशकदेखि बिहार मुजफ्फरपुर क्षेत्रका बालबालिकामा देखिएको रातिको समयमा अकस्मात ढलेर बेहोस हुने र कतिपयको मृत्यु हुने क्रम अझै पनि अन्त्य भने भएको छैन । सन् २०१४ मा गरिएको अनुसन्धानपछि भने मृत्युको घटनामा कमी आएको छ । मेडिकल जर्नल दि ल्यानसेटमा प्रकाशित अनुसन्धान अनुसार ती बालबालिका खालि पेटमा लिची खाएकै कारण ढल्ने गरेका थिए । लिचीमा पाइने विषलू तत्व हाइपोग्लिसिन त्यसको मुख्य कारक थियो । लिचीमा पाइने विषालु पर्दाथ हाइपोग्लिसिनले शरीरमा ग्लुकोज उत्पादन गर्ने क्षमतालाई रोकिदिन्छ । आर्थिक अभावका कारण गरिब क्षेत्रका ती बालबालिकाले बिहानदेखि दिउँसोभरि लिची खाएर बेलुका खाना नखाने गरेको अध्ययनले देखाएको छ । बेलुकीको खाना नखाने हुँदा ब्लड सुगरको तह न्यून हुने बालबालिका ग्लुकोजको कमीका कारण बेहोस हुन्थे । जसका कारण उनीहरुको दिमाग सुन्निएको हुन्थ्यो । अहिले बिहारका स्वास्थ्य अधिकारीहरुले गरिब क्षेत्रका बालबालिकालाई अनिवार्य रुपमा रातको खाना खुवाउन र लिचीको मात्रा घटाउन भनेका छन् ।

के हो हाइपोग्लिसिन ?
यो एक प्रकारको एमिनो एसिड हो । यसले शरीरमा ग्लुकोज मात्रा घटाइदिन्छ । जसले गर्दा मानिसको मृत्यु नै हुनसक्ने अवस्था आउँछ । यस्ता तत्व हुने लिचिबाहेकका अन्य फलहरु लङआन, एकी, रामबुतनमा पनि पाइन्छ । यस तत्व कम मात्र शरीरमा हुँदा खासै असर नपरे पनि धेरै मात्र शरीरमा भएपछि नकारात्मक असर देखिने चिकित्सकहरुले बताएका छन् । लिचिलगायतका यससम्बन्धी फलहरुको आवश्यक मात्राको सेवनले शरीरमा मुटुरोग, क्यान्सर जस्ता रोगप्रतिरोधी शक्तिको विकास गराउँछ भने भिटिमिन सि, बी, जिङ्क, फोस्फोरस, म्याग्नेसियमलगायतका शरीरलाई नभई नहुने तत्वहरु पनि उपलब्ध हुन्छन् । (एजेन्सी)