free hit counter घरमै बन्छ मुख रसाउने परिकार - Khanpin Khabar

घरमै बन्छ मुख रसाउने परिकार

  • खानपिन खबर

दशैं भनेको मासुका परिकार खाने चाडकै रुपमा परिचित छ । मासु खान जान्दा पोषण हो भने नजान्दा महारोग। मासुमा शरीरलाई आवश्यक प्रोटिनको मात्रा प्राप्त गर्न सकिन्छ। स्वस्थ मासु खाँदा शरीरमा स्फुर्ती आउँछ। मासु पकाउन, खान तथा स्टोर गर्न नजान्दा मासुले हाम्रो शरीरमा धेरैनै नोक्सानी पनि पुर्याउन सक्छ । मासु किन्दा, पकाउँदा र खाँदा सावधानी अपनाउन सक्नुपर्छ । खानपिनमा सामान्य ध्यान नदिँदा दसैंको समयमा उच्च रक्तचाप, मुटु, मधुमेह र पेटजन्य समस्याका साथै झाडावान्ता हुने, कब्जियत हुने, युरिक एसिड बढ्ने तथा ग्यास्ट्रिक हुन सक्छ यसतर्फ बेलैमा सचेत हुनुपर्दछ। रातो मासु पोलेर, धेरै भुटेर वा तारेर खाँदा क्यान्सरको खतरा बढ्न सक्छ। मासु खाँदा सावधानी अपनाएर खानुपर्छ। सकभर बासी नखाने, मासु मात्र नखाने, त्यसमा सागसब्जी र गेडागुडी पनि समावेश गर्ने गर्नुपर्दछ।
सधैं एउटै स्वाद र एउटै परिकार खाँदा दिक्क लाग्न सक्छ । त्यसैले त्यही मासुलाई विभिन्न परिकार बनाएर खाँदा स्वाद फेरिन्छ । भने फुर्सदको समय केही उपयोग पनि हुन्छ । हामीले यहाँ मासुका केही परिकार र त्यसलाई तयार गर्ने विधि पनि पस्केका छौं ः

 

मटन सेकुवा

आवश्यक सामग्री
मटन १ केजी।
जिराको धूलो १० ग्राम।
धनियाँ पाउडर १० ग्राम।
खुर्सानीको धूलो १० ग्राम।
बेसार १ चम्चा।
गरम मसला १० ग्राम।
अदुवा र लसुनको पेस्ट ४० ग्राम।
लेमन रस १० मिलिलिटर।
तोरीको तेल २० मिलिलिटर।
दही १० ग्राम।
नुन स्वादअनुसार।

तयार गर्ने तरिका
भाँडामा सबै सामग्रीसँग मासु हालेर मोल्ने। करिब ४ घन्टा फ्रिजमा राखेपछि आफूसँग उपलब्ध झिरमा उनेर, ग्रिल गरेर, कोइलाको आगोमा पोलेर, फ्राइ गरेर वा ओवनमा पकाएर सेकुवा तयार गर्न सकिन्छ।

मटन कवाफ

आवश्यक सामग्री
एक किलो हड्डी नभएको मासु ।
एक सय ५० ग्राम प्याजको सानो र लामो टुक्रा।
एक सय ग्राम भेंडे खुर्सानीको मसिनो लामो टुक्रा।
७५ ग्राम मसिनो गरी काटेको बन्दागोभी।
५० ग्राम हरियो धनियाँ।
२ सय ग्राम दही।
तीन चम्चा सुकेको रातो खुर्सानीको धूलो।
दुई चम्चा जिराको धूलो।
५० ग्राम आल्मोड।
२ सय ग्राम मैदा।
आवश्यकता अनुसार घिउ र नुन।

तयार गर्ने तरिका
मैदामा दही, मसला, नुन र खस्रो गरी पिसिएको बदाम मिसाउने। घिउ प्यानमा तताएर उक्त मिश्रणलाई केही मिनेट पकाएर अलग राख्ने। त्यसपछि मिश्रणमा मासुको टुक्रा हालेर मोल्ने र आधा पाक्ने गरी ग्रिल गर्ने। त्यसपछि अर्को प्यानमा घिउ तताई प्याज तथा भेंडेखुर्सानी हालेर लगभग एक मिनेट पकाउने। त्यसपछि मासुको टुक्रा, प्याज तथा भेंडे खुर्सानीलाई झिरमा उनेर पाकुन्जेल सेक्ने। त्यसपछि दहीको मि श्रण हाल्ने। यसलाई प्याज, भेंडे खुर्सानी तथा बन्दागोभीले सजाउन सकिन्छ। यसरी मटन कवाफ तयार हुन्छ।

नेपाली मटन कवाफ

आवश्यक सामग्री
एक किलो खसीको मासु।
६० ग्राम लसुन र अदुवाको पेस्ट।
धनियाँको धूलो।
जीराको धूलो।
रातो खुर्सानीको धूलो स्वादअनुसार।
५० मिलिलिटर तोरीको तेल।
एक ठूलो चम्चा जति घिउ।
४० ग्राम मिट मसला।
चार–पाँचवटा तेजपात।
नुन स्वादअनुसार।
तयार गर्ने तरिका
मासु र मसला हालेर मोल्ने। त्यसपछि एउटा डेक्चीमा राखेर मन्द आँचमा बसाल्ने। विस्तारै चलाउँदै पकाउने। तेल छुट्टन थालेपछि कवाफ तयार हुन्छ।

मटन थेबे

आवश्यक सामग्री
खसीको राम्रो मासु १ सय ३० ग्राम।
लसुन ३ पोटी।
प्याज १ दाना।
हरियो खुर्सानी ३ वटा।
कागती एक पिस।
सुकेको खुर्सानी २ पिस।
धनियाँ चप १ चम्चा।
अदुवा ५ ग्राम।
नुन स्वादअनुसार।

तयार पार्ने विधि
मासुलाई कडा हुने गरी फ्राइ गर्ने। त्यसपछि कडा मासुलाई कुटेर थेबे बनाउने। सम्पूर्ण सामग्रीलाई कुटेर मासुमा तोरीको तेल हाली राम्रोसँग साँध्ने। यसरी तयार हुन्छ थेबे।

मटक कचौल

आवश्यक सामग्री
बोसो भएको मासु १ सय ग्राम ।
कलेजो २ सय ग्राम
श्वासनली ५० ग्राम स–साना टुक्रा बनाएको।
खसीको ब्रेन, कान, किड्नीलाई बोइल गर्ने।
तोरीको तेल २ चम्चा।
प्याज २ वटा।
धनियाँ र जिराको पेस्ट २ चम्चा।
नुन स्वादअनुसार।
ठूलो आलुलाई साना टुक्रा पारेर डिप फ्राई गर्ने।
हरियो धनियाँको पात तथा हरियो लसुन २० ग्राम।

तयार पार्ने विधि
तेल तताई प्याजलाई ब्राउन बनाउने। त्यसमा लसुनलाई १ मिनेट जति फ्राइ गर्ने। अदुवा, धनियाँ र जिराको पेस्ट तथा खुर्सानीको धूलोलाई राम्रोसँग चलाई १ मिनेट पकाउने। त्यसमा कलेजो, श्वासनली र किड्नी मिक्स गरी १ मिनेटजति पकाएर नुन हाल्ने। नुन हालिसकेपछि पुनः एक मिनेट जति पकाउने। पानी हालेर १२–१३ मिनेट सानो आगो बालेर पकाउने। त्यसमा फ्राई गरिएको आलु राम्रोसँग मिक्स गर्ने। पाकेपछि काटेको धनियाँ तथा हरियो लसुन राख्ने।

मटन तास

आवश्यक सामग्री
एक किलोग्राम रातो, बोसिलो मासु।
२ सय ग्राम अदुवा।
२ सय ग्राम लसुन।
१ सय ग्राम मसला।
५० ग्राम सुकेको खुर्सानी।
१ सय ग्राम जिरा।
५० ग्राम धनियाँ।
१ चम्चा लेमन जुस।
१ डाडु तोरीको तेल।
नुन स्वादअनुसार।

तयार पार्ने तरिका
कम बोसो भएको खसिको मासुलाई चेप्टो पारेर काट्ने। सबै मसला हालेर मासुलाई मोल्ने। मासु मोलिसकेपछि तोरीको तेल हाली पुनः मोल्ने। त्यसपछि प्लास्टिकमा प्याक गरी डिफ्रिजमा राख्ने। ४–५ घन्टापछि निकालेर मोटो ताबा तथा कराहीमा मसला नडढ्ने गरी डाम्ने।