free hit counter खाना नै हो रोगको कारण - Khanpin Khabar

खाना नै हो रोगको कारण

  • खानपिन खबर

हामीलाई बाँच्नका लागि खानेकुरा अनिवार्य हो । तर स्वाद लिने जिब्रोका कारण हामी मिठो नमिठो भनिरहेका हुन्छौं । खानाले हाम्रो शरीरलाई आवश्यक पोषण दिन्छ । पोषणले शरीरका सबै कार्य–संचालनमा सहयोग गर्छ । तर त्यही खाना हामी शरीरका लागि होइन जिब्रोका लागि खाइरहेका हुन्छौं । त्यही स्वादे जिब्रोकै कारण मानिसलाई नानाथरि रोगले समातिरहेको हुन्छ । जिब्रोलाई ट्वाक्क पार्ने स्वाद निकाल्न प्रयोग हुने अनेक प्रकारका मरमसालकै कारण मानिसलाई ठूला स्वास्थ्य समस्याले सताइरहेको पाइन्छ । हामी स्वस्थ हुने हो भने थोरै खाने तर पटक पटक खाने गर्नुपर्छ । एकै पटक धेरै खाने मानिस रोगी हुन्छ । शरीरलाई आवश्यक पर्ने भोजनको व्यवस्थापन गर्न जानियो भने रोगले हत्तपत्ता आक्रमण गर्न सक्दैन । हामीले यहाँ स्वस्थ रहन अपनाउनु पर्ने सावधानीका विषयमा चर्चा गर्ने प्रयास गरेका छौं ।

नुहाएर भोजन गर्नुस्

धर्मशास्त्र त्यसै लहडमा शुरु भएको विषय होइन । यसभित्र विज्ञान छ । त्यो पनि विशाल । हिन्दू धर्मशास्त्र विज्ञानले मानेका मान्यताहरु निकै वैज्ञानिक छन् । त्यसको खोजीनिति हुन थालेको छ । हिन्दू धर्मशास्त्रमा स्नान नगरिकन भोजन गर्नु हुँदैन भनिएको छ । शास्त्रमा लेखिएको छ, ननुहाई भोजन गर्ने मानिसले मल खाए बराबर हुन्छ । आजकल पश्चिमा संस्कृतिको अतिक्रमणका कारण मानिसहरू यी कुरालाई ध्यान दिँदैनन् । नुहाएपछि हाम्रो शरीरमा पाचनरस उत्तेजित हुन्छ जसले भोजन पचाउन मद्दत गर्छ जबकि नुहाउनुअघि खाना खाँदा शरीरले भोजन पचाउन अतिरिक्त मेहनत गर्नुपर्छ । नुहाउनुअघि झोल पदार्थ मात्र खाएको राम्रो तर ठोस भोजन चाहिँ नुहाए पछि नै खानुपर्छ । नुहाउँदा शरीर सफा हुन्छ । शरीर ताजा हुन्छ र स्फुर्ति आउँछ अनि भोक जाग्छ र खाना मजाले पच्छ ।

थोरै खाने, पटक पटक खाने

दिनभरका लागि एकै पटक खाएर पेटलाई सास्ती दिनुभन्दा त्यही खानालाई चार पटक बनाएर खान सकियो भने त्यही भोजनले हाम्रो शरीरलाई शक्ति दिन्छ । तर एकै पटक खाएको खानाले मल बढाउने काम मात्रै गर्छ । कम खाने, पटक पटक खाने बानीले खानाको मात्रा पनि घटाउँछ ।

स्वस्थ खाना घरमै खानुहोस्
घरकै खाना मात्र स्वस्थ हुन्छ भन्ने छैन । त्यसमा प्रयोग गरिने सामग्री र पकाउने तरिकाले पनि खाना स्वस्थ र अस्वस्थ बन्ने हो । तपाईं काम विशेषले बाहिर जानै पर्ने बाहेक घरमै स्वस्थ खाना बनाएर खाने गर्नुभयो भने तपाईंको स्वास्थ्यले तपाईंलाई साथ दिनेछ । जतिसुकै राम्रा भनिए पनि बाहिरका रेष्टुरेन्ट र होटलमा जिब्रोको स्वादका लागि हरेक प्रकारका मर–मसलो प्रयोग भएकै हुन्छन् ।

शाकाहारी बन्नुहोस्

मानिसले प्राकृतिक रुपमा शाकाहारी प्राणी हो । तर उसले मासुको स्वाद थाहा पाएकै कारण आज अनेक मासुका परिकारको आविस्कार भएको हो । सबैभन्दा बिउको वस्तु पनि मासु नै भएका कारण त्यसको स्वस्थता परीक्षण हुनै भ्याउँदैन । मासुका लागि बध गर्न लागिएका पशुको स्वास्थ्य कस्तो थियो भन्ने कुरा तपाईंले बजारबाट ल्याएको मासुमा पत्ता लाग्दैन । तर तपाईं लामो आयु बाँच्न चाहनुहुन्छ, शरीर चुस्त, फुर्तिलो राख्न चाहनुहुन्छ भने मासुजन्य खानेकुरा आजैबाट त्याग्नुहोस् । सन्तुलित आहारको लागि हामीलाई चाहिने प्रोटिन मासुबाटै मात्र पाइन्छ भन्ने छैन त्यसको विकल्पमा दूधजन्य पदार्थ, काजु, बदाम, पेस्ता तथा गेडागुडीले हाम्रो शरीरलाई चाहिने प्रोटिन उपलब्ध गराउँछ । यदि तपाईंलाई मासु खानै मन लागे पनि प्रशोधन नगरिएको मासु रोज्नुहोस् । तपाईले मासु किन्दा ससेज, स्ट्रिप्स, स्लाइस खोज्नुहुन्छ भने त्यो राम्रो होइन किनभने त्यसमा स्वस्थ पोषणतत्वको सट्टामा सोडियम र प्रिजभेटिभ्स पनि थपिएको हुन्छ ।

प्राकृतिक खाद्यको प्रयोग गर्नुस्

प्राकृतिक रुपमा उत्पादन भएका वस्तु स्वस्थकर हुन्छन् । अप्राकृतिक र बेमौसमी खाद्य वस्तुको प्रयोग सकेसम्म नगर्नुस् । अत्यधिक परिरक्षि (प्रिजरभेटिभ) राखिएका कुनै पनि तयारी खाद्य वस्तु प्रयोग नगर्नुस् । अप्रशोधित खानेकुराहरुले तपाईलाई राम्रो फाइदा दिन्छ । प्रशोधन गर्दा तपाईलाई आवश्यक पर्ने एन्टीअक्सिडेन्ट र फाइबर त्यसबाट बाहिरिन्छ ।

योजना बनाउनुहोस्

तपाईंले एक साताका लागि आफूले प्रयोग गर्ने खाद्य वस्तुहरुको योजना बनाउनुस् । जसले तपाईंको शरीरलाई सन्तुलन कायम गर्न सकोस् । साप्ताहिक खानाको योजना बनाएमा तपाईले स्वस्थ र राम्रो खाना खानुको साथै पैसाको पनि बचत गर्न सक्नुहुन्छ । त्यसैले आँफैले सन्तुलित भोजनको योजना बनाउनुहोस् ।

तयारी खानेकुरामा विचार पु¥याउनुहोस्

बजारमा पाइने तयारी खाद्यवस्तुको गुणस्तर भन्दा पनि त्यसको बाहिरी खोल आकर्षक हुन्छ । त्यही आकर्षणले भित्रको गुणस्तरलाई छोपिरहेको हुन्छ । तपाईले प्याकेटको खानेकुराहरु किन्दा त्यसको अगाडिको आकर्षक खोलमात्रै होइन पछाडीपट्टीको लेवल पनि हेर्नेगर्नुस् । त्यसमा के के खाद्यपदार्थहरु मिसिएको छ र कति पोषकतत्व पाइन्छ त्यो खुलाइएको हुन्छ । लेवलबाट स्वस्थ लाग्ने खानेकुरामा पनि अनावश्यक तत्वहरु मिसाइएको छ कि भन्नेकुरा थाहा पाउन सकिन्छ ।

पानी धेरै पिउनुहोस्

अन्नबिना एक दुर्ई महिना जीवन सम्भव होला तर पानी बीना जीवन सम्भव छैन । पानी बिना मानिस बढीमा एक हप्ता बाच्न सक्छ । त्यसैले पनि हाम्रो शरीरलाई पानीको विशेष महत्व छ । धेरै पिएमा तपाईको शरीरले राम्रोसँग कार्यसम्पादन गर्छ र यसले तपाईलाई धेरै खाना खान पनि दिँदैन ।

खाजा बोक्नुहोस्

तपाई यात्रा गर्दै हुनुहुन्छ वा लामो समय अफिसमा व्यस्त हुनुहुन्छ भने झोलामा दिउँसोको खाजा बोक्नुहोस् । बाहिर चिटिक्क पारिएका रेष्टुराँहरुको भान्सा हेर्नुभयो भने तपाईंले झोलामा खाजा बोक्न झन्झट मान्नुहुन्न । जतिसुकै स्वादिष्ट भए पनि बाहिर बनाइएका खाजा स्वस्थकर हुँदैनन् ।

ताजा फलफुल र जुस पिउनुहोस्

हामी फलफुल पसलमा गएर प्याकेटका जुस किनिरहेका हुन्छौं । जहाँ ताजा जुस नै उपलब्ध छ भने त्यो प्याकेटको जुस कहिल्यै नपिउनुहोस् । अझ सक्नुहुन्छ भने ताजा फलफुल चपाएर खानुको फाइदा नै बेग्लै हुन्छ । ताजा र अर्गानिक खानेकुरा र फलफुलहरु खानु तपाईको स्वास्थ्य र वातावरण दुवैको लागि राम्रो हुन्छ तर यदि तपाईको नजिक ताजा फलफुल छैन भने मात्रै बट्टाबन्द जुस प्रयोग गर्नुहोस् । तयारी जुसमा फलफूलको वास्तविक स्वाद होइन त्यसमा फेब्रिकेटेट स्वाद राखिएको हुन्छ । (एजेन्सीहरुको सहयोगमा)