free hit counter - Khanpin Khabar

  • खानपिन खबर

काठमाडौं । अन्नबीना जीवन सम्भव होला तर पानी बीनाको जीवन सम्भव छैन । हाम्रो शरीर करिब ६० देखि ७० प्रतिशतसम्म पानीले बनेको हुन्छ । शरीरमा हरेक दिन ६ देखि १० गिलाससम्म शरीरको लागि पानीको आवश्यकता पर्छ । पानीलाई औषधीका रुपमा पनि लिइन्छ । तर पानी पिउने तरिका थाहा नपाउँदा पानीले हानी पनि पुर्याउन सक्छ । त्यसैले पानी पिउने सही तरिकाबारे हामीले यो सामग्री प्रस्तुत गरेका छौं ।

१. खाना खाएलगतै वा खाना खानुभन्दा केही समयअघि पानी पिउनु हुँदैन । यसले शरीरको पाचनरसलाई असर गर्छ र कब्जियत, अपच जस्ता समस्याहरु देखापर्नसक्छ । खाना खानु दुई घण्टा अघि वा खाएको दुईघण्टापछि पानी पिउनु स्वास्थ्यको लागि उपयुक्त मानिन्छ ।

२. एकैचोटी धेरै पानी पिउनु हुँदैन । यसोगर्दा शरीरमा पाचन क्रियामा खराबी आउनसक्छ ।

३. घाम अथवा शौचालयबाट फर्केलगतै पानी पिउनु पनि स्वास्थ्यको लागि खराब मानिन्छ ।

४. बिहान शौचालय जानुअघि पानी खानु स्वास्थ्यको लागि राम्रो मानिन्छ ।

५. धेरै चिसो पानी शरीरमा पचाउन गाह्रो हुने र तातो पानी चाँडै पच्ने गर्छ । त्यसैले तातो पानी पिउनु राम्रो मानिन्छ ।

६. प्यास लाग्यो भन्दैमा हतारिएर पानी पिउनु हुँदैन । उभिएर पनि पानी पिउनुहुँदैन यसले घुँडामा समस्या हुनसक्छ । त्यसैले जहिले पनि बसेर मात्रै पानी पिउनुपर्छ ।

७. खाली पेटमा प्यास लाग्यो भने केही चीज खाएपछि मात्रै पानी पिउनु उपयुक्त मानिन्छ ।

८. निन्द्राबाट उठेर एक्कासी पानी पिउँदा ज्वरो आउने सम्भावना हुन्छ ।

९. पानी पिएलगतै दौडिने वा खेल्ने गर्नुहुँदैन ।

१०. निकै तनावमा पानी पिउनु हुँदैन । शान्त भएर पानी पिउनु राम्रो हुन्छ ।

११. कहिल्यै पनि सुतेर पानी पिउनु हुँदैन । अँध्यारोमा पनि पानी पिउनुहुँदैन । पानी पिएपछि पहिलो सास नाकबाट नभइ मुखबाट छोड्नु उपयुक्त मानिन्छ ।

१२. बिहान चिया, कफी पिउनु भन्दा अघि १ वा २ गिलास पानी पिउने बानी बसाल्नुहोस्। जसले गर्दा हाम्रा आन्द्रा र पेटको राम्रो सफाई हुन्छ ।

१३. दिउसो हिँडडुल गर्नु हुन्छ या शारीरिक परिश्रम गर्नु हुन्छ भने कामको बीचबीचमा आधाआधा गिलास पानी पिउने बानी बसाल्नुहोस्।

१४. अधिक पानी हाम्रो शरीरको छालाको लागि त फाइदा जनक छ । तर आवश्यकता भन्दा बढी पानीको मात्रा हाम्रो किड्नीको निम्ति हानिकारक छ ।

बालबालिकालाई पानी पिउन सम्झाऔं

वयस्कभन्दा बालबालिकाका शरीरमा पानीको मात्रा कम हुने समस्या बढी हुन्छ । उनीहरूलाई वयस्कभन्दा शरीरको तौलको तुलनामा बढी पानीको जरुरत पर्छ । वयस्कहरूमा पानी पिउने बानी हुन्छ । तर बालबालिकाहरुले नसम्झाई पानी पिउँदैनन् । पानी पिउनको लागि तिनीहरूले धेरैजसो अरूको सहयोग लिनुपर्छ । त्यही माथि, उनीहरूले शरीरमा पानीको मात्रा कम भएपछि देखिने शारीरिक लक्षणहरू सुरुमै थाहा पाउन सक्दैनन् । त्यसैले खेल खेल्दा र गर्मीयाममा उनीहरूको शरीरमा पानीको कमी अत्यधिक हुन सक्छ ।
गुलियो र अन्य स्वादका पेय पदार्थबाट पानी प्राप्त हुने भए पनि उनीहरूलाई शुद्ध पानी मात्रै पिउन पनि प्रोत्साहित गर्नुपर्छ । बालबालिकालाई बिहानको खाजासँग र दिउँसो नियमितरूपमा पानी पिउन सम्झाइरहनुपर्छ । बालबालिकाले पानी, दूध, फलफूलका जुस आदि गरेर दिनको ६ देखि आठपटक पिउनुपर्छ । बारम्बार शुद्ध पानी पिउँदा बालबालिकाले स्वाद रुचाउन थाल्छन् । बालबालिकाका बाबुआमा र उनीहरूको हेरविचार गर्ने महत्वपूर्ण व्यक्तिहरूले उनीहरूलाई प्रशस्त पानी पिउन प्रोत्साहित गर्न सक्छन् ।

बढी भए हुन्छ नोक्सानी
पानी बढी भयो भने पनि हानि गर्छ र कम भएमा पनि । बढी पानी पिउँदा हाइपोनट्रेमिया रोग लाग्ने सम्भावना हुन्छ । हाइपोनट्रेमिया रगतमा सोडियमको मात्रा कम भएर लाग्ने रोग हो । त्यसैले शरीरमा आवश्यकभन्दा बढी पानी हुँदा पिसाबका माध्यमबाट नुन बाहिर जान्छ र समस्या निम्तिन सक्छ । यसो हुँदा मिर्गौलामा पनि असर पर्छ ।

कति पिउने पानी
दिनमा यति पानी पिउने भनेर कुनै नियम छैन । मानिसको शारीरिक बनावटअनुसार पानीको आवश्यकता पर्छ । सामान्यतया प्यास लाग्दा पानी पिउने गरिन्छ । मानसिक थकान वा तनाव हुँदा पनि छिनछिनमा पानी पिउने गर्छन् । तर, यतिले मात्र शरीरमा पानीको मात्रा पुग्दैन । इन्स्टिच्युट अफ मेडिसिनले गरेको एक अध्ययनले युवा अवस्थामा पुरुषलाई प्रतिदिन तीन र महिलालाई दुई दशमलव दुई लिटर पानी पिउनुपर्ने बताएको छ ।

यसरी पिउनुहोस् पानी
आफ्नो जिउको वजन थाहा पाइसकेपछि त्यसलाई ३० ले भाग गर्नुहोस् । त्यसो गर्दा भागफल जत्ति आउँछ त्यति नै बराबरको लिटर पानी पिउन सुरु गर्नुहोस् । जस्तै यदि तपाइँको वजन ६० किलो छ भने तपाइँले दिनमा २ लिटर पानी पिउनु आवश्यक हुन्छ । ८० किलो वजन भएका मानिसले २.६ लिटर पानी पिउनु पर्छ ।

बालबालिकाले कति पानी पिउने
४–८ वर्षका बालबालिकाः दिनको १.१ देखि १.३ लिटर

९–१३ वर्षसम्मका बालिकाः दिनको १.३ देखि १.५ लिटर

९–१३ वर्षसम्मका बालकः १.५ देखि १.७ लिटर

पानीसँगै हामीले खाने विभिन्न प्रकारका अरु पेय पदार्थ, खाद्यान्न तथा फलफूलमा पनि पानीको मात्रा हुन्छ । यसले शरीरमा तरल पदार्थको मात्रा बढाउन सहयोग गर्छ । काँक्रो, खरबुजासहितका फलफूलमा पानीको मात्रा ९० प्रतिशतसम्म रहन्छ ।

तातोपानी कि चिसोपानी ?
पानी बीना जीवनको कल्पना पनि गर्न सकिँदैन । हामी गाउँघरमा मुलको पानी पिएर हुर्किएका मान्छे । अझै पनि मुलको चिसो पानी झलझली याद आउँछ । तर पहिलेको जस्तो शुद्धता कही कतै भेटाउन सकिँदैन । त्यसैले पनि चिसो पानीभन्दा तातो पानीलाई नै शुद्ध मानिन्छ । पानी तताउँदा त्यसमा भएका व्याक्टेरियाहरु सबै निर्मुल हुन्छ । मनतातो पानी स्वास्थ्यका लागि निकै फाइदाजनक हुने बताइएको छ । स्वास्थ्य मात्रै होइन आफ्नो सौन्दर्यलाई निखार्न समेत मनतातो पानी निकै फाइदा जनक मानिन्छ ।

तातोपानीका यस्ता छन् फाइदा
१. सामान्य पानी जसरी मानिसको स्वास्थ्यको लागि आवश्यक पर्छ, त्यस्तै तातोपानी पनि स्वास्थ्यका लागि निकै आवश्यकता पर्छ तर तातोपानीले शरीरलाई निकै फाइदा पुग्छ ।

२. तोतोपानीमा स्नान गर्नु थकाई मेटाउने निकै आरामदायी साधन हो । तातोपानीले छालालाई निखार्ने मात्रै होइन छाला सम्बन्धी विरामीलाई समेत तातोपानीले निकै फाइदा गर्छ ।

३. तातोपानीले सौन्दर्य र स्वास्थ्य दुवैलाई फाइदा गर्छ । त्यसैमा गुलाब पानी मिसाएर विस्तारै आफ्नो शरीरमा लगायौं भने हाम्रो शरीरमा भएको दुखाईलाई समेत अन्त्य गरिदिन्छ ।

४. यदि तपाईं निकै मेहनत गर्नुहुन्छ र थकाई महशुष गर्नुहुन्छ भने, हल्कापन महशुस गर्नका लागि थकान घटाउनका लागि तातोपानी निकै लाभदायक हुन्छ ।

५. यदि तपाईं सधै मनतातोपानी सेवन गर्नुहुन्छ भने यसले तपाईंंलाई सधै फ्रेस देखिनुहुनेछ ।

६. तातोपानी पिउनाले वजन कम गर्न पनि निकै ठूलो भूमिका निर्वाह गर्छ । यसले रक्त सञ्चार ठिक तरिकाले गराउने काम समेत गर्छ ।

७. मन तातोपानीको साथै कागती र मह मिसाएर पिउनुभयो भने तपाईंको रोग प्रतिरोधक क्षमता निकै बढ्ने गर्छ ।

८. चिसो पानी मृगौलाका लागि निकै हानिकारक मानिन्छ, मृगौलालाई राम्रो बनाउनको लागि हरेक दिन विहान र बेलुका एकएक पटक मनतातोपानी पिउनु उचित हुन्छ । यसले शरीरमा हुने दुर्गन्धलाई पनि हटाइदिन्छ ।

९. मनताता पानी हाड जोर्नीको दुखाई कम गर्न उपयुक्त हुन्छ । मनतातो पानी जोर्नीहरुबीचको घर्षण कम गर्न सहयोगी मानिन्छ । भविष्यमा हुने जोर्नी सम्बन्धी रोगलाई कम गर्ने जनाइएको छ । चिसो पानी भन्दा निकै गुण बढी फाइदा जनक तातोपानी हुने गरेको छ ।

(एजेन्सीहरुको सहयोगमा)