तुलसी
अङ्ग्रेजी नाम : Holy Basil (Queen of Herbs)
वैज्ञानिक नाम : Ocimum Sanctum
आषाढ शुक्ल पक्षको एकादशीका दिन घरघरमा रहेको मठमा तुलसीको बिरुवा सार्ने गरिन्छ । भगवान् विष्णुको रूपमा चर्तुमास भर पूजा गरी कार्तिक शुक्ल एकादशीका दिन समापन गरिन्छ । स्वास्थ्यका दृष्टिले पनि तुलसीको महत्व उत्तिकै छ । तुलसीले अत्यधिक मात्रामा अक्सिजन फ्याँक्ने कुरा पनि प्रमाणित भइसकेको छ । तुलसी प्रचलनमा रहेको प्रजाति भनेको कालो र रातो हो । आयुर्वेदका सबै जसो शास्त्रमा तुलसीको बर्णन गरिएको पाइन्छ । खासगरी श्वासप्रश्वास र रगतसम्बन्धी समस्यामा औषधिको काम गर्छ । यसका जरा, डाँठ, पात, फूल र फल सबै नै औषधिमा प्रयोग हुन्छ । तुलसी भिजाएको पानी मात्र खाँदा पनि रुघाखोकी, दम, निमोनिया आदिमा फाइदा पुग्छ । तुलसी वीर्यवर्धक पनि मानिन्छ । चिलाउने समस्या, खटिराजस्ता छालाजन्य समस्यामा यो निकै प्रभावकारी मानिन्छ । यो ज्वरनाशक र कफनाशक वनस्पति हो । यसको सेवनले कलेजोलाई पनि फाइदा पुर्याउँछ । पाचनप्रणाली सक्रिय गराउन पनि यसले काम गर्छ । तुलसीको दाना भिजाएर खानाले शरीरमा भएको टक्सीन घटाउँछ र मानिसलाई तन्दुरुस्त बनाउँछ ।
प्रयोग र फाइदा
तुलसी हरियो र कालो दुई प्रकारका हुन्छन् । फ्राइ र सुप प्रकारका खानामा बढी प्रयोग गरिन्छ भने विशेषगरी इटालियन खानामा यसको प्रयोग बढी गरिन्छ । खाद्य विज्ञानमा यसलाई हब्र्स भनिन्छ ।
यस्ता छन् फाइदा
– मानसिक रोग एन्जाइटि, टेन्सनमा फाइदा पुर्याउँछ ।
– रगतमा चिनीको मात्रालाई सन्तुलन राख्छ ।
– मुटु स्वस्थ् राख्छ ।
– फोक्सो स्वस्थ बनाई ताजापान ल्याउँछ ।
– अनिन्द्रामा फाइदा गर्छ ।
– पाचन प्रक्रियामा सुधार ल्याउँछ, ज्वरोमा पनि फाइदा गर्छ ।
– मस्तिस्क चुस्त बनाउँछ । छालाई स्वस्थ बनाउँछ ।
– आँखा स्वस्थ राख्छ ।
– कलेजो स्वस्थ राख्छ ।
– एन्टि अक्सिडेन्ट हो । दुखाई पनि कम गर्छ ।
– क्यान्सरसँग लड्ने क्षमता हुन्छ । यसको नियमित सेवनले क्यान्सर हुन दिँदैन ।
– भाइरल रोगहरुलाई नियन्त्रण गर्छ ।
– कपाल फुल्नबाट जोगाउँछ ।
– यसमा प्रोटिन, कार्वोहाइडेड, केही मात्रामा फ्याट, भिटामिन, मिनरल, क्याल्सियम, फोस्फोरसलगायतका पोषण निहित हुन्छ ।
प्रयोग विधि
हरियो पात, फुल, सुकाएर राखिएको बिउसहितको तुलसीको सम्पूर्ण भाग प्रयोग गर्न सकिन्छ । हरियो पात सुप, सलाद, पास्ता, चियामा प्रयोग गरिन्छ भने सुकेको धुलो कुनै पनि तरकारी, चाउमिन सबै जसो खानाहरुमाथि धनियाँ जस्तै छर्केर खान सकिन्छ ।
धार्मिक विश्वास
हरिशयनी एकादशीदेखि हरिबोधनी एकादशीसम्मको ४ महिना भगवान विष्णुले सयन गरेको अवस्थालाई चतुर्मास भनिन्छ । यस बेला भगवान विष्णुले आफू शयन गर्ने हुँदा भगवान् शिवलाई आफ्नो कार्यवाहक सुम्पेका हुन्छन् त्यसै कारण आजको दिनदेखि श्रद्धालुहरुले विशेष गरि भगवान् शिवको पुजाआजा गरी व्रत बस्ने गरेको पाइन्छ । भगवान विष्णु शयन गर्ने यो ४ महिनाभित्र श्रावणको व्रत, गणेश चतुर्थी, हरितालिका तिज, ऋषिपञ्चमी, नागपञ्चमी, नवरात्रि, कोजाग्रत पुर्णिमा, गोवद्र्धन पुजा जस्ता थुप्रै दिनहरुमा बसिने व्रतहरु चतुर्मास व्रतभित्र पर्दछन् । कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीको दिन तुलसीको दामोदरसँग विवाह गरेपछि चतुर्मास समापन हुन्छ ।
धार्मिक महत्व र पूजा विधि
तुलसीको पूजाका लागि सबैभन्दा पहिले पूजाको थाली, शुद्ध जल, गंगा जल, धुप–बत्ती, घीउको बाति, बेसार वा सिन्दूर तयार गर्नु पर्दछ । तुलसीको नजिक पुगेर तुलसीलाई प्रणाम गरी जल अर्पित गरेपछि ‘महाप्रसाद जननी सर्व सौभाग्यवर्धिनी, आधि व्याधि हरा नित्यं तुलसी त्वं नमोस्तुते’ मन्त्र पढ्नु पर्दछ । त्यसपछि बेसार अर्पित गरी घीउमा भिजाएको बातिसँगै धुप–बत्ती जलाउनुहोस् । तुलसीलाई भगवान् विष्णुको स्वरूपको रूपमा पुजिन्छ । पुराणहरूमा विष्णुले वृन्दाको श्राप पाई तुलसीको रूपधारण गरेको उल्लेख छ भने कतै वृन्दा नै तुलसी भएको पनि बताइएको छ । जे–जे भनिए पनि धार्मिक कार्यहरूमा तुलसी नभई हुँदैन । तुलसीको मठलाई तीर्थस्थलसरह मानिन्छ । यहाँको माटो पनि पवित्र मानिएको छ । देवकार्य वा पितृकार्य तुलसीको मठनजिकै गर्नु उपयुक्त मानिन्छ ।
धार्मिक र साँस्कृतिक पक्ष
शिवपुराणमा उल्लेख भए अनुसार शिवलिङ्गमा कहिल्यै पनि तुलसीको पात चढाउनु हुँदैन । तुलसीको पातलाई कहिल्यै पनि दाँतले चपाउनु हुँदैन । तुलसीको पातमा पाइने तत्व शरीरका लागि लाभदायी भए पनि दाँतका लागि राम्रो मानिँदैन । तुलसीको पात एकादशी, आइतबार, सूर्य र चन्द्रग्रहण लागेको समयमा तुलसीको पात टिप्नु हुँदैन । हरेक दिन तुलसीको पूजा गर्नु उत्तम मानिन्छ । हरेक साँझ तुलसीको मठमा दियो जलाउनु राम्रो मानिन्छ । तुलसी लगाउनाले घरको वास्तु दोष हट्ने विश्वास गरिन्छ । तुलसी लगाएको घरमा कसैको पनि खराब नजर नपर्ने धार्मिक मान्यता रहिआएको छ । तुलसी लगाइएको घर वरपरको वातावरण पनि पवित्र हुने मान्यता छ । तुलसीको वृक्ष सुकेको खण्डमा त्यसलाई घरमा राख्नु उचित मानिँदैन । आयुर्वेदमा तुलसीलाई औषधि मानिएको छ ।
तुलसीको चिया
आवश्यक सामग्री
तुलसीको हरियो पात ६–७ पत्ता वा धुलो भए आधा चम्चा ।
सख्खर वा चिनी ४ चम्चा वा आवश्यकताअनुसार
पानी एक लिटर
कागती एउटा वा इच्छाअनुसार
बनाउने विधि
पानी उमालेर तुलसी राखेर ५–७ मिनेट उमाल्ने त्यसपछि चिनी या सख्खर राखेर एकछिन उमाल्ने त्यसपछि तातो वा सेलाएर चिया जसरी सेवन गर्न सकिन्छ ।
नोट : १/२ कप मात्र बनाउनु परेमा १–३ पात वा धुलो एक चम्चाको चार भागको एक भाग मात्र राखेर बनाउन सकिन्छ ।