free hit counter शरीरको शत्रु हो चिनी - Khanpin Khabar

शरीरको शत्रु हो चिनी

  • खानपिन खबर

चिप्लो बोल्नेबाट जोगिनुपर्छ, प्याच्च बोलिहाल्नेको मनमा कुरा हुँदैन भनेजस्तै मुख बनाउने चिनीका फाइदा कहीं कतै  भेटिँदैन । जहाँ गए पनि चिनीले बेफाइदै गर्छ तर खाँदा मुख मीठो बनाउँछ । अत्यधिक चिनी अर्थात् गुलियो सेवनकै कारण शरीरमा रोगको घर बनाउने नेपालीको संख्या बढ्दो छ। तथ्यांक अनुसार हरेक नेपालीले एक वर्षमा ११ किलोग्राम चिनी उपभोग गर्छन्। जसमा ५ किलोग्राम विशुद्ध चिनी रहने गरेको छ भने ६ किलोग्राम गुलिया पदार्थमार्फत् चिनी शरीरमा पुग्छ।

प्रत्येक नेपालीले एक दिनमा सरदर ३० ग्रामभन्दा बढी चिनी प्रयोग गरेको देखिन्छ। २० फागुन २०७१ मा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जारी गरेको चिनी प्रयोग सम्बन्धी निर्देशिकाले दैनिक २५ ग्रामभन्दा बढी खानु हानिकारक मानेको छ । स्वास्थ्य समस्याको प्रमुख कारणमध्ये अधिक चिनी प्रयोग एक भएको डब्लुएचओको ठहर छ। सफ्ट ड्रिंक, मिठाई आदि चीजबाट धेरै चिनी खाने बालबालिकामा मोटोपनको समस्या देखिएको छ। नेपालीहरूले डब्लुएचओले तोकेभन्दा दैनिक पाँच ग्राम बढी चिनी खाइरहेका छन्। विज्ञहरू भने विलासी र तनावपूर्ण जीवनशैली, अमिल्दो भोजन र शारीरिक बनावटका कारण नेपालीले डब्लुएचओ मापदण्ड भन्दा पनि कम चिनी प्रयोग गर्नुपर्ने बताउँछन्।

त्यसो त शरीरको शक्तिको स्रोत नै चिनी हो। रगतले चिनीलाई शरीरका विभिन्न अंगमा पुर्‍याउने काम गर्दछ। चिनीलाई अंग भित्र छिराउने काम इन्सुलिन नामक हर्मोनले गर्दछ। इन्सुलिन प्यांक्रियाज ग्रन्थीले उत्पादन गर्दछ। दशकअघिसम्म पोषक तत्व खान नपाएकै कारण नेपालीमा कुपोषणको ठूलो समस्या थियो। तर, अहिले शहरवासीमा अधिक पोषण अर्थात् डबल न्यूट्रिसनको समस्या देखिएको विज्ञहरु बताउँछन् ।

इन्टरनेसनल डायबिटिज फेडेरेसन (आईडीएफ) का अनुसार विश्वमा प्रत्येक सात सेकेण्डमा एक जनाको मृत्यु मधुमेहकै कारण हुन्छ। हाल विश्वभर ३८ करोड ७० लाख जना मधुमेह पीडित छन्। त्यसमध्ये सात करोड ५० लाख दक्षिण पूर्वी एशियामा मात्रै छन्। मधुमेह पीडितमध्ये करीब २५ लाख नेपाली छन्। सन् २०३० भित्र मधुमेह सातौं ज्यानमारा रोग बन्ने डब्लुएचओको प्रक्षेपण छ। डब्लुएचओका अनुसार विश्वमा मधुमेहबाट मृत्यु हुने मध्ये ८० प्रतिशत निम्न र मध्यम आय भएका देशका नागरिक छन्।

 

क्यान्सरको जोखिम

चिनीबाट क्यान्सर लाग्ने विषय कुनै काल्पनिक भनाइ होइन । अत्यधिक चिनीको मात्रा क्यान्सरको एउटा संकेत हो । स्मरण होस्, शरीरको कोषको वृद्धिलाई नियन्त्रण गर्न इन्सुलिनले महत्वपूर्ण भूमिका खेल्छ । उच्च गुलियो परिकारबाट उत्पन्न र संग्रहित इन्सुलिनले प्रोस्टेट, पेट र छातीको क्यान्सर हुने विभिन्न अध्ययनले देखाएका छन् ।

 

मुटु रोगको कारण

चिल्लोले भन्दा चिनीले मुटु र रक्तनलीलाई नराम्रो असर गर्छ । चिनीले मुटुसँग सम्बन्धित रोगहरु र हृदयघातको सम्भावना बढाउँछ । चिया, कफी र फलफूलको जुसमा हुने चिनीको मात्रा कटौती मात्र समस्याको समाधान होइन । मह र फलफूलमा प्राप्त हुने गुलियोले खराब कोलेस्ट्रोल बढाउँछ, रक्त धमनीलाई साँघुरो बनाइदिन्छ, ब्लड ग्लुकोज र इन्सुलिनलाई बढाइदिन्छ र समग्रमा तपाईंमा अनावश्यक मोटोपन ल्याइदिन्छ । त्यसले मुटु रोग र मधुमेहको उच्च जोखिम निम्त्याउँछ । तसर्थ अनावश्यक गुलियो खान छाडिदिनुहोस् ।

 

कुलतप्रति धकेल्छ

तपाईं चुरोट, मदिरा पिउनुहुन्न र जीवनभर त्यस्तै भएर बाँच्न चाहनुहुन्छ भने अत्यधिक गुलिया चिजहरुबाट टाढै रहनुहोस् । लागूऔषध, मदिरा वा अन्य कुनै पनि प्रकारको कुलत भएका मानिसहरु चिनी वा गुलियो बढी भएका जंक फुड, प्यास्ट्रिज, मिठाई वा डेर्जटका पारखी हुन्छन् । उनीहरुमा चिनी मोह हुुनुमा एउटा कारण छ । चिनीले दिमागमा उत्पादन हुने डोपामाइन नामक न्युरोट्रान्समिटरलाई बाहिर निकालिदिन्छ, जसले गर्दा चिनीप्रति उनीहरुको मोह बढ्छ । लागूऔषध प्रयोगकर्ताले जति चिनी खान्छन् त्यति नै उनीहरुको दिमागबाट डोपामाइन बाहिर निस्कासन भइरहेको हुन्छ र सदाबहार सन्की मुडमा रहन्छन ।

 

अनावश्यक भोक बढाउँछ

बिहानको वा मध्य साँझको भोक मेट्न तपाईंले रसबरी, प्यास्ट्रिज वा अन्य गुलिया चिज खानुभएको छ भने जति ढिलो खाना खाने योजना बनाए पनि झन् छिटो भोक लाग्छ । यस्ता चिज खाएर १० मिनेट दौडेर क्यालोरी घटाउँछु भन्ने सोचमा हुनुहुन्छ भने तपाईंको गलत सोच हो । विभिन्न स्वरुपमा खाइने गुलियोले तपाईंको भोक मेट्दैन । मह र अन्य फलफूलम हुने उच्च तहको गुलियोले इन्सुलिनको मात्रा बढाइदिन्छ र भोक लाग्ने घ्रिलिन नामको हर्मोनलाई बढाइदिन्छ । जसका कारण तौल र मोटोपनमा वृद्धि हुन्छ ।

 

कलेजो बिगारिदिन्छ

खानेकुराबाट दुई प्रकारको सुगर प्राप्त हुन्छ– ग्लुकोज र फ्रुक्टोज । मह तथा पाकेका फलहरुबाट प्राप्त हुने गुलियोलाई फ्रुक्टोज भनिन्छ । शरीरको हरेक कोषलाई ग्लुकोजको आवश्यकता भए पनि फ्रुक्टोजको अधिक उपभोग शरीरकै लागि खतरा हुन्छ । तर फलफूल, मह, चकलेटमा प्रशस्त फ्रुक्टोज हुन्छ, जुन हाम्रो शरीरको रक्त नलीमा प्रवाहित हुन्छ। फ्रक्टोजलाई कलेजोले मात्र अर्गानिक परिवर्तन गरिदिन्छ र शरीरलाई भविष्यमा आवश्यक पर्ने ऊर्जाका लागि ग्लुकोजमा परिवर्तन गरी भण्डारण गर्छ । तर रगतमा बढी मात्रामा फ्रुक्टोज भण्डारण भएमा कलेजो मोटो हुँदै जान्छ र बिस्तारै सामान्य रुपमा काम पनि गर्न छोड्छ र मुटुसँग सम्बन्धित विभिन्न रोग लाग्छ । तसर्थ मुटुसँग सम्बन्धित जुनसुकै रोगबाट बच्न धेरै गुलिया परिकार र फलफूल अत्यधिक सेवन नगर्नुहोस् ।

 

इन्सुलिनको मात्रा बढ्छ

एन्टी इन्सुलिन मेटाबोलिक सिन्ड्रोमको लक्षण र संकेत हो । मेटाबोलिक सिन्ड्रोम अन्र्तगत उच्च रक्तचाप, कोलस्ट्रोलको वृद्धिलगायत पर्छन् । तसर्थ बढी चिनी खानुको अर्थ रगतमा बढी ग्लुकोज उत्पादन हुनु हो । इन्सुलिनको मात्रा बढी भयो भने शरीरका कोषहरु जोखिममा पर्छन् ।

 

दाँत र गिजा रोगको कारक

चिनी तपाईंको दाँतका लागि हानिकारक हुनुको साथै दाँत तथा गिजामा हुने रोगको प्रमुख कारण हो । चिनी कसरी दाँतको शत्रु हो भन्ने विषयमा तपाईंलाई कौतूहल हुन सक्छ । हुन त चिनी क्यालोरीशून्य हुन्छ तर यसले खानेकुराबाट प्राप्त पोषणलाई सोसिदिन्छ । तसर्थ गुलियो चिज खाएपछि दाँत माँझ्नु भएन भने मुखमा भएको सुगरले मुखभित्र ब्याक्टेरिया उत्पन्न हुन र हुर्कन सहयोग पु¥याउँछ ।

 

मोटोपन बढाउँछ

चिनीमा ठूलो मात्रामा सोस्न सक्ने विशेषता भएकाले यस प्रक्रियाबाट भोक जगाउने हर्मोन घ्रिलिन बढाइदिन्छ र गुलियो खाने व्यक्तिलाई भोक लागिरहन्छ । धेरै भोक लाग्दा मानिसले कार्बोहाइड्रेडयुक्त खाना खान्छ अनि मोटोपनको सिकार हुन्छ ।

 

मधुमेहको जोखिम

बढी गुलियो खानेकुराले रगतमा इन्सुलिनको मात्रा बढ्छ र डायबिटिजको जोखिम बढ्छ । हामीले केहि सम्बन्धित थप जानकारी दिइएका छौ।

__________________________________________________

बालबालिकाको खानामा चिनीको मात्रा धेरै :  डब्लुएचओ

बालबालिकाका लागि व्यवसायीकरूपमा तयार पारिएका खाद्य पदार्थमा चिनीको मात्रा अत्यधिक रहेको पाइएको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले जनाएको छ। खाद्य पदार्थमा समावेश गरिएका चिजहरुको सूची पनि अलमल पार्ने खालको रहेको पनि डब्लुएचओको प्रतिवेदनमा उल्लेख छ। सङ्गठनले खाद्य पदार्थ राखिएका झण्डै पाँच सय ठाँउका आठ हजार उत्पादनको परीक्षण गरेको अधिकारीहरुले जनाएका छन्। उनीहरूका अनुसार संगठनले अष्ट्रिया, बुल्गेरिया, इजरायल र हङ्गेरीमा सन् २०१७ को नोभेम्बरदेखि सन् २०१८ को जनवरीसम्म अध्ययन गरेको थियो। फलफूल तथा तरकारीमा भएको प्राकृतिक गुलियो पदार्थलाई भने बालबालिकाहरूका लागि सन्तुलित आहारकै रूपमा लिनुपर्ने प्रतिवेदनमा जनाइएको छ।  अत्यधिक गुलियो पदार्थको सेवनले बालबालिकाको अत्यधिक तौल र दाँतसम्वन्धी समस्या उत्पन्न गराउने खतरा रहने विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् ।

(एजेन्सीहरुको सहयोगमा)