free hit counter विषाक्त तरकारीबाट कसरी बच्ने ? - Khanpin Khabar

विषाक्त तरकारीबाट कसरी बच्ने ?

  • खानपिन खबर

मानव शरीरलाई अत्यावश्यक पर्ने हरिया तरकारी र बेला न कुबेला वा अफसिजनमा उत्पादन गरिन्छ । सिजनका तरकारी प्रायः प्राकृतिक र कम विषादीयुक्त हुन्छन् भने अफसिजनको तरकारीहरुमा विषादी वा रसायनहरुको प्रयोग बढी गरिन्छ । अफसिजनमा तरकारी उत्पादन गर्दा प्रतिकुल वातावरणले गर्दा रोग तथा किराहरुको आक्रमण बढी हुन्छ भने तापक्रमको सन्तुलन पनि नमिल्दा विभिन्न किसिमका रसायनको प्रयोग गर्नैपर्ने हुन्छ । यसरी राखिने विषादीको निश्चित मापदण्ड न त उत्पादक किसानलाई पत्तो छ नत नियमनकारी निकायले यसका बारेमा चेतना फैलाएको छ । विषादीको प्रयोग गरेको कति समयपछि मात्रै तरकारी प्रयोग गर्ने भन्ने कुनै मापदण्ड हाम्रोमा छैन ।

आज बेलुकी विषादी छरिएको तरकारी भोलि बिहानै बजार पठाइन्छ । आजकल मानिसलाई चाँडै धनी हुने आकांक्षाले सताएका कारण सिजनकै तरकारीलाई पनि छिटो उत्पादन गर्ने नाममा अनेकथरि विषादीको प्रयोग गर्ने बढेका छन् । एक अध्ययनअनुसार ७० देखि ७५ प्रतिशत खाद्य पदार्थमा विषादीको प्रयोग भएको पाइन्छ भने त्यसलाई आकर्षक देखाउन कृतिम रंगको प्रयोग समेत हुन गरेको पाइन्छ । अझै हाइब्रिट, फ्रोजन तरकारीमा विषादीको मात्रा झन् बढी देखिन्छ । विषादीको अलावा प्राकृतिक रुपमा देखिने रंगलाई समेत अझ आकर्षक बनाउन कृतिम रंग अत्यधिक रुपमा प्रयोग भएको पाइन्छ । यस्तो रसायनमा अक्सटोसन नामको हर्मोनको बढी प्रयोग भएको पाइएको छ । जसको असर मानव शरीरमा हड्डी कमजोर पार्ने, पेटका समस्या, मुटुका समस्या जस्ता अनेक खालका समस्या देखिन्छन् ।

त्यसैगरी केरामा कार्वाइडको प्रयोग गरि पकाइन्छ भने अनार, खरवुजा, तरबुजा, लौका आदि फलहरुमा कृतिम रंग र तौल बढाउन सुइको समेत प्रयोग गर्ने गरेको पाइन्छ । बजारमा आकर्षक देखिने स्याउमा चमक देखाउन पोलिस गरिन्छ । हेर्दा झट्ट पत्तो नपाए पनि खाँदा त्यसको असर शरीरलाई परिरहेको हुन्छ । त्यसैले त्यस्ता सागसब्जी किन्दा नै विचार पु¥याउनुपर्छ । तर नांगो आँखाले कुनै पनि तरकारीमा रसायनको प्रयोग भए/नभएको पत्तो पाउन सकिँदैन । त्यसैले बजारबाट ल्याएका फलफुल तथा तरकारीलाई विशेष सावधानी अपनाएर सुरक्षित हुनुपर्छ ।

बजारका तरकारी यसरी प्रयोग गर्नुस्
सकभर प्राकृतिक रंग देखिने फलफुल तथा तरकारी छान्नुपर्छ । धेरै हरियो, रातो, गुलावी नभएको सामान्य रंगका सागसब्जी, फलफुल छान्नुपर्दउछ । तरकारी केलाउँदा माटो, झार, पराल तथा त्यहाँ भएका सबै फोहर निकालेर तरकारीलाई नकाटी बगेको पानीमा पखाल्नुपर्छ । तर शहरमा सबैतिर पानीको पर्याप्तता नहुन पनि सक्छ त्यसैले बाटामा तरकारी राखेर डुब्नेगरी पानी राख्ने एकछिनपछि त्यो पानी फेर्ने, यो प्रक्रिया तीन चारपटक दोहोयाउने ।

अब बाटामा सफा पानी राखेर दुई बिर्को भेनेगर राख्ने र फलफुल तथा तरकारीलाई ७/१० मिनेटपछि निकाल्ने । यो प्रक्रियाले विषादीको मात्रा ७० देखि ८० प्रतिशत घटाउने अध्ययनहरुले देखाएको छ । त्यसलाई दुई/चार घण्टा फ्रिजमा राख्ने । फ्रिज छैन भने खुला हावा लाग्ने ठाउँमा राख्ने । काँचै खाने सागसब्जी वा फलफुल भएमा साफा बनाइसकेपछि सानो बाटामा एक चिम्टी पोटास र पानी राखेर ८/१० मिनेट डुबाउने । पोटास नभएको खण्डमा नुनपानी डुबाएर ५/७ मिनेट राख्ने र फेरि सफा पानीले पखालेर खाने गर्दा पनि विषादी तथा अन्य किटाणुहरुबाट बच्न सकिन्छ ।

भन्सारमा विषादीको मात्रा जाँच्न नपाइने
ठूलो र सम्पन्न मुलुक हुनुको नाताले नेपालमाथि भारतको हस्तक्षेप सबै जसो क्षेत्रमा हुने गरेको सबैलाई थाहै छ । तर नेपालीले आफ्नो स्वास्थ्यको बारेमा चासो व्यक्त गर्दा समेत भारतको ठाडो हस्तक्षेप भएको छ । भारतको चर्को दवावपछि सरकारले भारतबाट नेपाल भित्रिने तरकारी तथा फलफूलको विषादी परीक्षण नगर्ने भएको छ । त्यो पनि नेपालका प्रधानमन्त्रीकै ठाडो हस्तक्षेपमा । सीमा नाकामा फलफुल तथा तरकारीको विषादीको मात्रा जाँच गरेरमात्रै नेपाल ल्याउने यसअघिको निर्णयप्रति भारतीय पक्षले व्यापक असन्तुष्टि देखाएपछि नेपाल सरकारले खुट्टा कमाएको हो ।

भारतीय दूतावासले नेपालका सरकारी अधिकारीलाई विषादी परीक्षण नगर्न दबाब दिएपछि सरकार आफ्नो निर्णबाट पछि हटेको हो । असार १९ गते बसेको मन्त्रिपरिषद् बैठकले सीमा नाकामा विषादी जाँच नगर्ने निर्णय गरेको हो । गत जेठ १० गतेको मन्त्रिपरिषद् बैठकले भारतलगायत तेस्रो मुलुकबाट आउने तरकारी र फलफूल परीक्षण गर्ने निर्णय गरेको थियो ।