free hit counter लथालिङ्ग छ मेरो खानपिन - Khanpin Khabar

लथालिङ्ग छ मेरो खानपिन

  • खानपिन खबर

भोजपुर जिल्लाको दिङ्ला बजारमा वि.सं. २००९ साल फागुन २ गते शुक्रबार महाशिवरात्रिमा जन्मिनुभएका गंगा बरदानको वास्तविक नाम भने गंगालाल मास्के हो । उहाँ जातीय उत्पीडनविरुद्ध गाउन जमैकन गायक बब मार्लेको फ्यान पनि हुनुहुन्छ । साथै उहाँ रचनाकार, संगीतकार र गायक हुनुहुन्छ । साथै उहाँ कवि र लेखक पनि हुनुहुन्छ । सन् २००२ मा मेरो कविता यात्रा पुस्तक प्रकाशित गरिसक्नुभएको छ । उहाँले गंगा बरदान भाग १, २, ३, ४ एलबम बजारमा ल्याइसक्नुभएको छ । त्यसभित्र २८ वटा गीत समावेश भएको छ । बरदान तार्किक र देशभक्तिका कुरा गर्नुहुन्छ ।

० कसरी शुरु गर्नुहुन्छ दैनिकी ?

– बिहान ४–५ बजेसम्म उठिसक्छु । चाँडै उठेको दिन कागती पानी पिएर नित्यकर्ममा लाग्छु । ढिला भएको दिन एक गिलास पानी मात्रै पिउँछु । पछि धुप सल्काएर आधा घण्टाजति ध्यान–योग गरेर मर्निङ वाकमा निस्कन्छु । सकेसम्म उत्तर पूर्वी दिशालाई नै रोज्छु । त्यसमा पनि सकेसम्म हरियाली भएको ठाउँतिर हिँड्छु । त्यहाँबाट फर्किएपछि एक कप लेमन टि पिउँछु । त्यसको एकाघ घण्टापति एक दुध चिया पिउने मेरो दैनिकी जस्तै छ । चियाँ पिएपछि नुन पानीले कुल्ला गर्छु ।

० कस्तो छ बिहानको खानाको समय र परिकार ?

– बिहान ९ः३० बजे २ पिस रोटी, दाल, साग खान्छु । गर्मी समयमा आधा कप दहि समेत समावेश गर्दछु् । जाडो समयमा एक गिलास तातो दूध पिउने गरेको छु । माछा मासुको सवालमा २÷४ पिस प्राय सधैंजसो खान्छु ।

० मदिरा सेवनको आदत कस्तो छ ?

– मेरो संगत साधुहरुसँग पनि छ, राजनीतिक नेताहरुसँग पनि छ । मुड चलेको बेला एक दुई पेग अल्कोहल पिउँछु । त्यसको साथमा काँचो टमाटर खान्छु ।

० साधुको संगत गर्दा त शिव बुटीको सेवन हुन्छ होला नि ?

– त्यो पनि मिल्यो भने कहिले काहीं सेवन गर्छु (हा…हा.. हा…)

० दिउँसोको खाना कस्तो हुन्छ ?

– १२ः३० बजेतिर दाल, भात, तरकारी र चिकेन खाना होटलतिरै खान्छु । म कहिले कता हुन्छु कहिले कता हुन्छ त्यसैले खाना खाने ठाउँको ठेगानै हुँदैन ।

० बेलुकीको खाना ?

– यसको कुनै ठेगान छैन, कहिले मःमः, कहिले आलु चिउरा, छोइला, अण्डा त्यो पनि होटलतिरै खाने गर्छु ।

० तपाईंलाई मन पर्ने खाना चाहिं ?

– दिनको एक पटक भात, राज्मा, कालोदाल, मस्याङ लगायतका दालजन्य खाद्यान्ना, हरिया सागपात, कुखुराको मासु, मिक्स सब्जी जसमा भिन्डी, मुला, गाजर, आलु श्रीमतीले बनाएको एकदमै मनपर्छ । आलुको परिकार फरक फरक भए पनि २÷३ आइटम भए पनि मन पर्छ ।

० कहिल्यै भोकै बस्नु भएको छ ?

– छ, जसरी एउटा अन्नको दानाबाट धेरै उत्पादन हुन्छ त्यही मान्यता राखेर आर्थिक अभाव भएका बेला १/१ दाना काँचो चामल खाएर श्रीमान् श्रीमतीले केही रातहरु गुजारेका छौं ।

० पारिवारिक मान्छे सधैं किन होटलमा खानुहुन्छ ?

– २०५५ देखि ०७२ सम्म हामी काठमाडौंको डिल्लीबजारमा बस्थ्यौं । त्यतिबेला मेरो खानपान कोठामै हुन्थ्यो । त्यसपछि केही समस्या आयो र शहरको जीवनशैली मन नपरेपछि श्रीमनी धरानतिर गइन् । त्यसपछि मेरो खानपान अव्यवस्थित हुन पुग्यो र होटलतिर सर्यो ।

० पैसा नभएको बेला होटलतिर उधारो पनि खानुहुन्छ कि ?

– बेलाबखत १००/५० नपुग्नु अर्के कुरा हो । पैसा नतिरी खाने बानी छैन । बरु पैसा नभए भोकै बसिन्छ ।

० आर्थिक जोहो कसरी गर्नुहुन्छ ?

– के हो के हो, अहिलेसम्म कसैको ऋण खाएको छैन । शुभचिन्तकको आशिर्वादले जीवन गुजारा चलेकै छ ।

० कति बजे सुत्नुहुन्छ ।

– छिटोमा १० बजे, बढीमा ११ बजेभित्र म सुतिसकेको हुन्छु ।