free hit counter मानव स्वास्थ्यका लागि पनि जौ उत्तिकै पवित्र - Khanpin Khabar

मानव स्वास्थ्यका लागि पनि जौ उत्तिकै पवित्र

  • खानपिन खबर

स्वस्थ व्यक्ति एवं रोगी दुवैले आहार र औषधिको भेद जान्नु जरुरी छ । जब कुनै निश्चित विधि, मात्रा, काल र संयोगको ख्याल गरी सेवन गरिन्छ त्यस वेला आहार नै औषधि बन्दछ । तर त्यही कुरा कुनै नियमविना केवल ऊर्जा एवं सन्तुष्टिको लागि प्रयोग गरिन्छ भने त्यो आहार मात्रै हुन्छ । आयुर्वेदले खानालाई औषधि मान्दछ । मानव शरीरलाई चाहिने सम्पूर्ण तत्वहरु हावा, खाना र पानीबाट आपूर्ति हुन्छ । कुनै तत्वको कमीले लागेको रोगलाई त्यो तत्व विशेषरुपमा पाइने खानाको अधिक प्रयोगले वा त्यस तत्वको क्षय गराउने तत्व खान छोड्नाले उक्त रोगको निवारण गर्न सकिन्छ । जसलाई आयुर्वेद शास्त्रमा शमन चिकित्सा भनिएको छ । अतः आयुर्वेदमा खानालाई पनि औषधि नै मानिन्छ ।

धार्मिक कार्यमा निकै पवित्र मानिने जौ हाम्रो शरीरलाई पनि त्यस्तै पवित्र भएको पुष्टि विज्ञानले गरिसकेको छ । हामीकहाँ रोटी बनाउनका लागि प्राय गहुँको आँटा प्रयोग गरिन्छ । तर गहुँको आँटामा ग्लूटेन नामक तत्व हुन्छ जसलाई लामो समयसम्म सेवन गर्दा सेलियक नामक रोग लाग्न सक्ने चिकित्सकहरु बताउँछन् । रोटीका लागि जौको आँटा प्रयोग गर्नु निकै स्वास्थ्यवर्द्धक मानिन्छ । हामीले यहाँ त्यही खाद्यान्नभित्र पर्ने जौको सेवनले लिन सकिने फाइदाका विषय केही सामग्री पस्केका छौं ।

 

अत्यधिक पौष्टिक

गहुँको तुलनामा जौमा बढि पौष्टिक तत्व हुन्छ । जौको आँटामा क्याल्सियम, जिंक, म्याग्नेसियम र पोटासियम सहित कैयन खनिज तत्व हुन्छन् । यसमा गहुँको तुलनामा प्रोटिन पनि बढि हुन्छ । जौको आँटाको प्रयोगबाट शरीरको रोग प्रतिरोधक क्षमता बढ्छ । जौको आँटामा गहुँको जस्तै ग्लूटेन हुँदैन, त्यसैले यो सजिलै पच्छ । जौको आँटाको प्रयोगले। शरीरलाई थुप्रै रोगहरुबाट बचाउँछ पनि ।

 

वजन कम गर्छ

जौमा फाइबर भरपुर हुन्छ । हाम्रो शरीरले फाइबरलाई सजिलै पचाउन सक्दैन, त्यसैले फाइबरयुक्त खानाले हाम्रो पेट चाँडै नै भरिन्छ र शरीरमा क्यालोरी बढ्दैन । त्यसैले यदि वजन कम गर्ने विचार छ भने जौको रोटी खाने गर्नुस । जौको आँटा बनेको रोटी खान पनि मिठो हुन्छ ।

 

डाइबिटिजमा फाइदाजनक

डाइबिटिजका बिरामीहरुको लागि जौको आँटा अत्यधिक फाइदाजनक मानिन्छ । किनकि यसले ब्लडमा सुगरको लेवललाई कम गर्छ । जौमा ८ आवश्यक एमिनो एसिड्स हुन्छन् र घुलनशील फाइबर हुन्छन् जसले इन्सुलिनको उत्पादनमा सहयोग गर्छन् । जौमा बीटा ग्लुकन नामको फाइबर हुन्छ जसले रगतमा घुल्ने सुगरलाई नियन्त्रण गर्छ । सुगरका रोगीहरुका लागि त जौको प्रयोग ओट्सभन्दा पनि लाभकारी हुन्छ ।

 

मुटुको रोग रोक्छ

जौ खानाले मुटु रोगको सम्भावना धेरै हदसम्म कम हुन्छ । जौमा भिटामिन बी ३ अर्थात् नियासिन, भिटामिन बी १ अर्थात् थियामिन, सेलेनियम, कपर र म्याग्नेसियम हुन्छ जसले कोलस्ट्रोल र रक्तचापलाई नियन्त्रण गर्छ । यी सबै तत्वले शरीरमा खराब कोलस्ट्रोलको लेवललाई कम गर्छ र मेटाबोलिज्म बढाउँछ । यसबाट शरीरमा कतै पनि रगतको ढिक्का जम्ने सम्भावनालाई कम हुन्छ । मुटु रोगको प्रमुख कारण रक्त प्रवाहमा हुने अनियमितता नै हो ।

 

अत्यधिक एन्टिअक्सिडेन्ट्स

जौमा यस्ता थुप्रै एन्टिअक्सिडेन्ट्स हुन्छन् जसले शरीरलाई कैयौं गम्भीर रोगहरुबाट रक्षा गर्छ । जौमा हुने लिग्नेन्सले क्यान्सर रोगबाट बचाउँछ । यसले उमेरको असरलाई पनि कम गर्छ । जौको सेवनले शरीरमा गुड ब्याक्टेरिया बढ्छन् र ब्याड ब्याक्टेरिया समाप्त हुन्छन् । यसबाट शरीरको मेटाबोलिज्म ठिक रहन्छ । यसबाट प्रोस्टेट क्यान्सर र ब्रेस्ट क्यान्सरको खतरा कम हुन्छ ।

 

जौको पानी पिउनुका फाइदाहरु

शुद्ध मानिने जौंको प्रयोग पुजा–आजामा बढी गरिन्छ । धार्मिक दृष्टिकोणले जौंलाई पवित्र मानिन्छ । मानव स्वास्थ्यमा जौको निकै महत्वपूर्ण स्थान छ । जौमा भिटामिन बी, आयरन, क्याल्शियम, मैग्नीशियम, मैगनीज, सेलेनियम, जिंक, कपर, प्रोटीन, अमीनो एसिड, डायट्री फाइबर्स र एटी आक्सिडेण्ट आदि प्रशस्त पाइन्छ । जौंको पानी बनाएर सेवन गर्नाले धेरै लाभ लिन सकिन्छ । एक दुई मुठी जौमा पानी राखेर मजाले उसिन्ने चिसो भएपछि जौंको पानीलाई बोतलमा भरेर राख्ने । यो पानीको सेवनले धेरै फाइदा पुग्छ ।

१. यदि पिसाब सम्बन्धि कुनै समस्या देखिएमा जौको पानी पिउने गर्नुस राम्रो फाईदा गर्दछ ।

२. मोटोपना घटाउन पनि यसको प्रयोग हुँदै आयको छ । जौको पानी सेवन गर्ने गर्नाले फ्याट घटाएर मोटोपना कम गराउँछ ।

३. ब्लडमा जमेको कोलेस्ट्रोलको मात्र कम गर्न जौको पानी उपयोगी मानिन्छ ।

४. मधुमेहका रोगीलाई पनि जौंको पानी धेरै उपयोगी मानिन्छ ।  यसले सुगर लेवल कम गराउँछ ।

५. जौको पानी पिउँदा शरीरभित्रको विकार तत्व फाल्ने काम गर्दछ । यस्को नियमित प्रयोगले पाचन प्रणालीलाई समेत सुधार गर्ने बताइएको छ ।

 

———————————————————-

 

जौ र यसका फाइदा

डा. अरुणा उप्रेती

जौ अति नै पोषणयुक्त अन्न हो । यसलाई टुसा उमारेर, पकाएर, उसिनेर, भुटेर खान सकिन्छ । चिसो मौसममा तातो तरकारी र दालको झोलमा जौको पिठो हालेर खानाले हाम्रो शरीरलाई सही पोषण दिन्छ । जौले खानेकुराको स्वाद त बढाउँछ नै । यसमा म्याग्नेसियम, फस्फर जस्ता सुक्ष्म पोषणतत्वका साथै रेशादार पदार्थ पर्याप्त मात्रामा पाइन्छ । जौले शरीरमा चिनीको मात्रालाई उचित ठाउँमा राख्न मद्दत गर्छ र मधुमेहका बिरामीलाई पनि सहायता र्पुयाउँछ ।

जौले शरीरको आन्द्रा स्वस्थ राख्न ठूलो भूमिका निर्वाह गर्छ । यसमा रहेको रेशादार पदार्थले आन्द्रामा रहेको ‘असल किटाणु’को रक्षा गर्छ । साथै, आन्द्राको क्यान्सर हुनबाट पनि बचाउँछ । जौमा रहेको पानी र अघुलनशील रेशादार पदार्थले शरीरमा कोलेस्टेरोल (बोसो) घटाउन मद्दत गर्छ । जौको प्रयोग मुटु रोग भएका व्यक्तिहरुका लागि पनि लाभदायक हुने पनि अमेरिकामा प्रकाशित एक अनुसन्धानले देखाएको छ । करिब १९ वर्षसम्म चलेको उक्त अनुसन्धानमा १० हजार बयस्क महिला र पुरुषले भाग लिएका थिए ।

अनुसन्धानका क्रममा दिनको २१ ग्राम (चार चम्चा) रेशादार पदार्थ सेवन गर्ने व्यक्तिमा १२ प्रतिशत मुटुको रोग कम भएको देखियो । यसका साथै रेशादार पदार्थको प्रयोगले, मधुमेह भएका व्यक्तिहरुको रगतमा चिनीको मात्रा कम गर्न पनि मद्दत मिलेको पुष्टि भएको छ । रेशादार पदार्थबाहेक जौमा भिटामिन ‘बी’ पर्याप्त मात्रामा पाइन्छ, जसले शरीर स्वस्थ राख्छ ।

रजोनिवृत्ती भइसकेका महिलाका लागि विभिन्न समस्या रोक्न जौ एउटा राम्रो भोजन मानिन्छ । बोसो घटाउन र मुटुको रोग लाग्नबाट बचाउन पनि जौले मद्दत गर्छ । रजोनिवृत्ती भइसकेका दुई सय २० महिलामा गरिएको अनुसन्धानले मुटुका धमनीहरुमा पाइने बोसो घटाउन पनि जौले भूमिका निर्वाह गर्ने गरेको देखाएको छ । यो अनुसन्धान अमेरिकी हर्ट जर्नलमा प्रकाशित भएको थियो ।

जौं म्याग्नेसियम पाइने उत्तम स्रोत हो । म्याग्नेसियमले शरीरमा चिनीको मात्रालाई उचित ठाउँमा राख्न मद्दत गर्छ र मधुमेहका बिरामीलाई पनि सहायता र्पुयाउँछ । केवल रेशादार पदार्थ मात्र होइन, विभिन्न किसिमका अन्य सुक्ष्म पोषण भएको कारणले जौ एउटा उत्तमभोजन हो । तर, अन्य अन्नमा जस्तै जौमा रहेका पौष्टिक तत्वहरु नष्ट नहोउन् भनेर ध्यान र्पुयाउनुपर्छ । जौको मैदा बनाएर खाँदा त्यसमा रहेका पौष्टिक तत्वहरु नष्ट हुन्छन् । बरु, च्याँख्ला वा आँटा बनाएर खाँदा जौमा रहेका पौष्टिक तत्वहरु नष्ट हुन पाउँदैनन् ।