free hit counter तुलसीको विवाह (पूजा विधि) - Khanpin Khabar

तुलसीको विवाह (पूजा विधि)

  • खानपिन खबर

धार्मिक मान्यताअनुसार तुलसीलाई भगवान् विष्णुको रूपमा लिइने गरिएको विज्ञहरूको तर्क छ । त्यसैले त घरघरमा ‘तुलसीको मठ’ बनाएर तुलसीको पूजा गर्ने चलन बसेको हो । खासमा तुलसी पाँच प्रकारका छन । यद्यपि, श्याम र श्वेत नामक तुलसी प्रायः जताततै पाइन्छ । यी दुई तुलसी स्वास्थ्यका दृष्टिले एकदमै फाइदाजनक छन । तुलसीको पातमा औषधीय गुणहरू भरपूर हुन्छन् । हिन्दूहरू घरमा तुलसीको मोठ बनाएर पूजा गर्छन् । तुलसीमा बिरुवामा अनेकौं रोग निको पार्ने क्षमता भएकाले यसलाई पूजा गरिएको हुनुपर्छ । विभिन्न अध्ययनहरूले तुलसीका पातको प्रयोग रुघाखोकी, पेटदुखाइ, आँखाका समस्या, मधुमेह, कोलेस्ट्रोल, माइग्रेन, अवसाद लगायतका अनेकौं रोग निको पार्नका लागि गरिने देखाएका छन् । तुलसीका पातमा एन्टीब्याक्टेरियल, एन्टीफंगल र एन्टीबायोटिक गुणहरू हुन्छन् । यसकारण यसको प्रयोग रुघाखोकी र ज्वरोलाई कम गर्नका लागि गरिन्छ । आयुर्वेदअनुसार तुलसीको काँढा बनाएर पिउँदा ज्वरो घट्छ ।

– अलिकति पानीमा तुलसीको पात र दालचिनी हालेर उमाल्नुस् । ज्वरो आउँदा यो काँढा दिनमा धेरैचोटि पिउनुस् ।
– तुलसीको पातमा एन्टीअक्सिडेन्ट गुण हुनाले यसले प्यानक्रियाटिक बीटा सेल्सको कामकाजमा सुधार गर्छ । इन्सुलिन सेन्सिटिभिटी बढाएर ब्लड सुगर कम गर्दै मधुमेह नियन्त्रण गर्छ ।
– तुलसीले रक्तचाप र कोलेस्ट्रोल स्तरलाई कम गरेर मुटुलाई स्वस्थ राख्छ । दिनदिनै तुलसीको पात चपाउने मानिसलाई मुटुरोग लाग्दैन ।
– तुलसीले तनाव जन्माउने हर्मोन कार्टिसोललाई कम गराउँछ । त्यस्तै तुलसीले फ्री –याडिकल क्षतिबाट बचाएर तपाईंलाई तनाव हुन दिँदैन ।
–तुलसीले रगतमा युरिक एसिडको स्तर घटाएर मिर्गौलालाई स्वस्थ राख्छ । चुरोट खाने कुलत पनि तुलसीको पात चपाउँदा हट्छ ।
– तुलसीमा हुने थाइमोलले छालासम्बन्धी समस्या ठीक पार्छ । यसले रगत सफा गरेर अनुहारमा कान्ति ल्याउँछ ।
– तुलसीमा हुने पेनकिलर गुणले माइग्रेनका कारण हुने टाउकोदुखाइलाई यसले कम गर्छ । दिनदिनै तुलसीका चारपाँचवटा हरिया पात चपाउँदा माइग्रेन भाग्छ ।
– वायुमण्डलमा बहने दूषित हावालाई तुलसीले शुद्धीकरण गर्छ ।
– जाडोयाममा तुलसीको पात नियमित सेवन गर्ने हो भने विभिन्न रोगबाट बच्न सकिन्छ ।
– अक्सर जाडोमा हुने रुघाखोकी, निमोनिया, ब्रोंक्राइटिस, घाँटीको समस्या र श्वास–प्रश्वासमा हुने समस्या आदिका लागि तुलसीको पात लाभदायी हुन्छ ।
– यसले चिसोका कारण हुने कफ र छातीदुखाइ कम गर्छ । नियमित तुलसी सेवन गर्ने हो भने चिसो लाग्नबाट स्वतः बचिन्छ ।
– तुलसीको पातको चूर्ण बनाई अदुवा, मरिच आदिको सम्मिश्रणबाट चिया बनाएर पिउन सकिन्छ । उक्त चिया स्वास्थ्यका लागि झनै फाइदाजनक हुन्छ ।
– तुलसीलाई तातो पानीमा मिसाएर खाँदा टाउको दुखेको, चिसोको कारण नाक बन्द भएको, पिनास र श्वासनली बन्द भएको आदि समस्याबाट राहत मिल्छ ।
– नियमित खाली पेटमा दूधमा तुलसी मिसाएर खाँदा दम र श्वास–प्रश्वाससम्बन्धी रोगबाट छुटकारा पाउन सकिन्छ । त्यसैगरी, मुटुसम्बन्धी रोग, माइग्रेन, डिप्रेसन, स्नायु प्रणालीसम्बन्धी समस्याबाट बच्न सकिन्छ ।
– पेटको समस्या, श्वास गन्हाउने, यौनजन्य रोग, घाउ–खटिरा, बान्ता हुने, उच्च रक्तचापजस्ता रोगका लागि तुलसी एक अचुक औषधि हो ।
– तुलसी सेवन बच्चाका लागिसमेत उपयोगी हुन्छ ।

गर्भवतीलाई बरदान
तुलसी एक बहुगुणी वनस्पति हो । यसको धेरैजसो रोगको उपचारमा प्रयोग गरिन्छ । औषधीय गुण भएको तुलसी गर्भवती महिलाका लागि वरदान मानिन्छ । गर्भवती अवस्थामा यसको नियमित सेवन गर्दा संक्रमण हुनबाट बचाउँछ । यसको पातमा एन्टी ब्याक्टेरियल गुण पाइन्छ । यसको साथै नियमित सेवनबाट रोग प्रतिरोधक क्षमतालाई बलियो बनाउँछ । तुलसी पातहरुमा विभिन्न रोगको उपचार गर्ने शक्ति हुन्छ । यसको पातमा एन्टी ब्याक्टेरियल, एन्टी भाइरल र एन्टी फंगल गुण प्रशस्त मात्रा पाइन्छ । जुन तत्व गर्भवतीका लागि आवश्यक हुन्छ । खानामा अरुचि भएमा तुलसीको पातको लेदोमा अदुवाको रस मिलाइ खाँदा अरुचि हटेर जान्छ । त्यस्तै तुलसीको पातको रस घाउ खटिरामा लगाउँदा छिटो सञ्चो हुन्छ । तुलसीको पात र बेसारको धूलोलाई मिश्रित गरी बनाएको मलम घाउ खटिरा एवं काटेको ठाउँमा लगाउँदा छिट्टै सन्चो हुन्छ । गर्भावस्थामा प्रायजसो महिला एनिमियाको शिकार हुनेगर्छन् । एनिमियाबाट बच्न तुलसीको सेवन गर्नुपर्छ ।

तुलसी सेवन गर्ने तरिका
कयौँ मानिसहरु माइग्रेन रोगका कारण लामो समयदेखि समस्यामा परेका हुन्छन् । यस्तो छ वा टाउको निरन्तर दुख्छ भने तुलसीको पत्तालाई दूधमा मिसाएर बेसार हालेर खानाले धेरै फाइदा पुग्छ ।
तुलसीमा एन्टि इन्फ्लेमेटरी गुण हुन्छ । यसको अर्थ हो, यसले हाम्रो शरिरमा कतै पोलिरहेको छ वा भित्र दुखिरहेको छ भने यसको सेवनले ठिक हुन्छ । त्यसैले जाडोमा यसलाई अझ उपयोगी मानिन्छ । कतिसम्म भने फ्लूहरुबाट बच्न पनि तुलसीको पत्ता दूधमा हालेर खान सकिन्छ ।
मिर्गौलामा स्टोनको समस्या देखिएको छ भने पनि तुलसीको पात दूधमा हालेर खाँदा निकै फाइदा हुन्छ । यसको नियमित सेवनले मिर्गौलामा भएको पत्थरी गल्न थाल्छ ।
तुलसीमा धेरै एन्टिबायोटिक गुण हुन्छन् । दूध पोषक तत्वहरुले भरिपूर्ण हुन्छ । दूधमा तुलसीको पात हालेर खाने हो भने क्यान्सरजस्ता गम्भीर रोगहरुबाट पनि छुटकारा पाउन सकिन्छ ।

गणेशलाई तुलसी चढाउनु हुँदैन
भगवान् गणेशको पूजामा धेरै कुरा चढाइन्छ तर दूबोको चाहिँ विशेष महत्व छ । दूबोविना गणेशको पूजा नै पूर्ण हुँदैन । तर गणेशलाई तुलसी अप्रिय लाग्छ । गणेश पूजनमा तुलसीको प्रयोग वर्जित छ । गणेशजीलाई तुलसी किन चढाउनु हुँदैन भन्ने विषयमा पनि एउटा कथा भेटिन्छ । कथाअनुसार प्राचीन समयमा तुलसीले गणेशजीसँग विवाहको प्रार्थना गरेकी थिइन् । तर गणेशजीले मान्नुभएन । रिसाएकी तुलसीले गणेशजीलाई दुईवटा विवाह होस् भनी श्राप दिइन् । गणेशजीलाई पनि रिस उठ्यो र तिम्रो विवाह एक असुरसँग होस् भनी श्राप दिनुभयो । राक्षससँग विवाह हुने श्राप सुनेपछि तुलसीले गणेशजीसँग माफी मागिन् । त्यसपछि गणेशजीले तिम्रो विवाह शंखचूर्णसँग हुनेछ तर तिमी भगवान् विष्णुको प्रिय हुनेछौ अनि कलियुगमा मानिसहरूलाई मोक्ष दिनेछौ तर मेरो पूजा गर्दा तिमीलाई चढाउनु अशुभ हुन्छ भन्नुभयो ।

प्रत्येक घरमा तुलसी किन रोपिन्छ?
हरेक हिन्दुहरुको घर अगाडि तुलसीको मठ अनिवार्य बनेको छ । घर अगाडि मठ बनाएर तुलसीको विरुवा रोप्ने हिन्दुहरुको सनातनी परम्परा समेत हो । हिन्दुहरुले तुलसीलाई भगवान् विष्णुको प्रतिकको रुपमा पूजा गर्दछन् । तुलसीको मठ हुने घरलाई तीर्थ समान मानिन्छ । तुलसीको सुगन्धले दश दिशा पवित्र हुन्छ । तुलसीको पूजा गरिएको घरमा यमदूत पनि पस्दैनन् भन्ने आस्थाका कारण वैदिक सनातन हिन्दु धर्मावलम्बीले घरमा तुलसीको मठ बनाउँछन् । तुलसीको पूजा गर्नुको मूल उद्देश्य वैज्ञानिक कारण नै हो । आयुर्वेदका अनुसार तुलसीको बोटबाट निस्कने हावाले किरा फट्यांग्रालाई धपाउँछ । तुलसीको बोटबाट निस्कने विशेष प्रकारको गन्धका कारण कुनै पनि प्रकारका जीवाणु लामखुट्टे, झिंगा आदि किराहरु यसका नजिक पर्न सक्दैनन् ।

तुलसीको विवाह (पूजा विधि)
कार्तिक शुक्ल पक्षको एकादशी तिथिका दिन तुलसी विवाह गरिन्छ । सो दिनलाई हरिवोधनी एकादशी समेत भनिन्छ । उक्त दिन तुलसीको भगवान शालिग्रामसँग विधिपूर्वक विवाह गरिन्छ । कात्र्तिक शुक्ल एकाशदीका दिन तुलसीको विवाह किन गरिन्छ, यसको सन्दर्भमा एक पौराणिक कथा समेत छ, जसमा वृन्दा नाम गरेकी पतिव्रता स्त्रीलाई भगवान विष्णुसंग शालिग्राम (ढुंगा) स्वरुपमा विवाह गर्ने वरदान प्राप्त भएको थियो । विवाहका लागि के शर्त राखिएको थियो भने वृन्दाले तुलसीको स्वरुप लिने छिन् । वरदान अनुसार, त्यसपछि तुलसी र शालिग्रामको विवाह भएको थियो ।
कात्तिक शुल्क एकादशीका दिन भगवान विष्णु योग निद्राबाट बाहिर आउँछन् । उनीसँगै सबै देवताहरुले पनि योग निद्रा त्याग गरिदिन्छन् । उक्त दिन भगवान विष्णुको पूजा गरिन्छ । त्यसपछि भगवान शालिग्राम तथा तुलसीको विवाह गरिन्छ । त्यही दिनदेखि नै विवाह, मुण्डन, व्रतबन्ध जस्ता मांगलिक कार्यहरुको समेत थालनी हुन्छ ।
एकादशीको दिन तुलसी तथा भगवान शालिग्रामको विधिपूर्वक पूजा गराउनाले वैवाहिक जीवनमा आइरहेका समस्याहरु अन्त्य हुने धार्मिक विश्वास छ । जो व्यक्तिहरुको विवाह भएको हु“दैन, ती व्यक्तिहरुको विवाह हुने निश्चित हुन्छ । यति मात्र होइन, तुलसी विवाह गराउनाले कन्यादान जस्तो पूण्य समेत प्राप्त हुन्छ ।

तुलसी विवाहको विधि
एकादशीको सा“झ तुलसीको विरुवाको गमलालाई गेरु आदिबाट सजाउनु पर्छ । त्यसपछि मठको चारैतिर मण्डप बनाएर त्यसमाथि दुलहीले लगाउने घुम्टी आकारको वस्त्र ओढाउनु पर्छ । मठलाई साडीमा बेरेर तुलसीलाई चुरा लगाइदिएर श्रृंगार समेत गरिदिनु पर्छ । त्यसपछि भगवान गणेश आदि देवताहरुको तथा शालिग्रामको विधिवत रुपमा पूजा गरेर तुलसीलाई षोडशोपचार पूजा ‘तुलस्यै नमः’ मन्त्रमार्फत गर्नु पर्दछ । त्यसपछि एउटा नरिवल, दक्षिणाका साथ टीकाको रुपमा राख्नु पर्छ र भगवान शालिग्रामको मूर्तिको सिंहासन हातमा लिएर तुलसीको मोठलाई सात पटक परिक्रमना गराउनु पर्छ । तुलसी विवाहमा हिन्दू विवाह जस्तै गरी सबै कार्य सम्पन्न गरिन्छ । विवाहको समय मंगल गीत पनि गाइन्छ । श्रीहरि विष्णुलाई एक लात्र पुलसी पत्र समर्पित गर्नाले वैकुण्ठ लोक प्राप्त हुने धार्मिक मान्यता छ ।

तुलसी उत्पत्तिको धार्मिक मान्यता
हिन्दूहरूले तुलसीलाई विष्णुको रूप मान्नुको एउटा कथा स्वस्थानी व्रत कथामा पढ्न पाइन्छ । कथाअनुसार–सत्य युगमा महादेव र राक्षसराज जालन्धरका बीच युद्ध हुन्छ । जालन्धरकी पत्नी वृन्दा पतिव्रता नारी भएकीले जालन्धरलाई कसैले पराजित गर्न नसक्ने वरदान पाएको कुरा थाहा पाएपछि महादेव भगवान् विष्णुको मद्दत माग्न जान्छन् । विष्णुले महादेवको अनुरोधअनुसार जालन्धरको रूपधारण गरी वृन्दाकहाँ गएर उनको सतीत्व हरण गर्छन् । पछि विष्णुले छल गरेको कुरा थाहा पाएर वृन्दाले श्राप दिँदै भनिन्– तपाईंले ढुंगा हुनु परोस्, रुख हुनु परोस्, झारपात हुनु परोस्, घाँस हुनु परोस् । वृन्दाको श्रापअनुसार विष्णु ढुंगामा शालिग्राम, रुखमा पीपल, झारपातमा तुलसी तथा घाँसमा कुश भए । त्यसैले यी सबै वस्तुलाई हिन्दूहरूले विष्णुकै रूपमा पूजा गर्दै आएका छन् । तुलसीलाई भगवान् विष्णुको अवतारका रूपमा लिएर पूजा गर्ने प्रचलनअनुसार हरिशयनी एकादशीका दिन हिन्दू धर्मावलम्बीहरूले घर–आँगनमा तुलसीको बिरुवा रोप्ने प्रचलन छ । तुलसी धार्मिकसँगै वैज्ञानिक हिसाबले पनि उपयोगी वनस्पति भएको विज्ञहरू बताउँछन् । आयुर्वेदअनुसार तुलसीमा एक सय एक प्रकारका रोग निवारण गर्ने शक्ति हुन्छ । त्यसैले जडीबुटी एवं आयुर्वेदिक औषधिमा तुलसीको प्रयोग प्रशस्तै गरिन्छ ।

आम्दानी हुने व्यवसाय
तुलसी हाम्रो घरआँगनमा लगाइने अत्यन्तै गुणी बिरुवा हो । धार्मिक रूपमा पनि यसको निकै मान्यता रहेको पाइन्छ । सँगै यसको व्यवसायिक हिसाबमा पनि धेरै संभाबना छ । जमिन हुनेहरूका लागि निकै सहज हुने र जमिन नहुनेहरूले पनि थोरै जमिन भाडामालिएर खेती गर्न सकिने भएकाले यो खेतीमा लगानी गर्नु सुरक्षित मानिन्छ ।

खेती कसरी गर्ने
यसको खेती चैत्र वा वैशाखबाट सुरु गर्न सकिन्छ । सबै मौसममा राम्रो हुने यसको खेती अझ बढी गर्मीमा फस्टाउँछ । तुलसीको खेती दुई प्रकारबाट गर्न सकिन्छस बीउबाट र हाँगाबाट ।
बीउबाट खेती गर्दा तुलसीमा पहिला फूल लाग्न थाल्छन् । त्यसको एक महिना पछि पाक्न सुरु हुन्छ । एउटा फूलमा लगभग १८ बीउ हुन्छ । ती बीउलाई निकालेर सुकाउनुपर्छ । त्यसपछि बिउलाई रङ्गीन बोतलहरुमा भरेर ८÷१२ हप्ता सम्म ओस नभएको स्थानमा राख्नुपर्छ । १५ सेमीको दुरीमा ड्याङ बनाएर बिउ छर्न सकिन्छ । बिउ छरेको ८ देखि १० दिन पछि टुसा पलाउन सुरु हुन्छ । आवश्यकता अनुसार सिँचाइ, गोडाइ गरिराख्नुपर्छ। बिरुवाको लम्बाई १० देखि १५ सेमी भएपछि रोपाइको लागि प्रयोग गर्न सकिन्छ ।
एउटा बयस्क बिरुवाको हाँगा काटेर छाया पर्ने ठाउँमा राखी बिहान बेलुकी पानी दिनुपर्छ । एक महिनापछि हाँगाबाट जराको विकास हुन थाल्छ । त्यसपछि पातहरु विकास हुन्छन् । हाँगाहरु ५ देखि १० सेमी लामो भएपछि रोपाइ गर्न सकिन्छ । बिरुवा रोप्नका लागि सबैभन्दा पहिला जमिन राम्ररी खन्नुपर्छ र माटो बराबर बनाउनुपर्छ । त्यसपछि माटोमा गोबर मल मिसाउनुपर्छ । मलका लागि फोस्फोरस र पोटास पनि प्रयोग गरिन्छ । एउटा बिरुवा अर्को देखि करिब १.५ फिटको दुरीमा लगाउनुपर्छ । जराको वरिपरि बेला बेला सफाइ गर्नुपर्छ र अलिकति खन्नु पनि पर्छ । यसो गर्नाले बिरुवा छिटो बढ्छ । रोपेको ८० देखि ९० दिनमा तुलसी टिप्नका लागि तयार हुन्छ ।

कस्तो छ बजार
तुलसीको खेतीबाट दुई प्रकारका उत्पादन गर्न सकिन्छ, पहिलो बिउ र दोस्रो पात । यसको बीज उत्पादन गरेर बिक्री गर्न सकिन्छ साथै यसको पातबाट तेल निकालेर राम्रो कमाइ गर्न सकिन्छ । एक हेक्टरमा यसको खेतीका लागि लगभग १० किलोग्राम जति बिउको आवश्यकता पर्छ भने एक हेक्टर क्षत्रफलबाट लगभग १२० देखि १५० किलोग्रामसम्म तुलसीको बिउ उत्पादन गर्न सकिन्छ । तुलसीको बिउ प्रतिकिलो ५०० रुपैयाँसम्म बिक्री हुन्छ । यस्तै तेलको मूल्य प्रतिकिलोग्राम १५०० रुपैयाँसम्म रहेको छ ।

कहाँ बेच्ने ?
तुलसीको माग नेपाली बजारमा निकै राम्रो रहेको छ । औषधि कम्पनीदेखि चिया कम्पनीसम्मले यसको माग गरिरहेका हुन्छन् । यसको व्यापार भारत तथा चीनमा पनि गर्न सकिन्छ । तुलसीबाट बनाएको तुलसी चियाको बजार निकै राम्रो छ । विदेशीहरुले पनि यसलाई खुब मनपराउँछन् । धार्मिक कार्यमा पनि यसको धेरै महत्व छ । त्यसकारण यसलाई पूजा सामाग्रीको रुपमा बेच्न सकिन्छ । (एजेन्सीहरुको सहयोगमा) – अर्थबीमा डट कमबाट