free hit counter ज्यानै लिनसक्ने धुवारेको माछा - Khanpin Khabar

ज्यानै लिनसक्ने धुवारेको माछा

  • खानपिन खबर

नुरराज कँडेल

मांशहारी खानामा माछालाई बढी महत्वका साथ हेरिन्छ । कतिपय मासुजन्य खाद्य पदार्थमा शरीरलाई हानि पुर्याउने तत्वहरु हुन्छन्, जसमा खराब चिल्लो वा कोलेस्ट्रोल, पचाउन गाह्रो, कब्जियत लगायतका समस्या हुन्छ । प्रायः रातो मासुमा र पकाइने तरिकाको आधारमा यस्ता खाद्यपदार्थले फाइदा भन्दा बढी बेफाइदा गर्दछ । माछा यस्तो खाना हो जसमा शरीरलाई चाहिने पोषणलगायत रक्तसञ्चार प्रणालीलाई सकारात्मक ऊर्जा दिने तत्वहरु प्रशस्त पाइन्छ भने यसमा पाइने ओमेगा–३ तत्वले मुटु स्वस्थ बनाई राम्रो कोलेस्ट्रोल HDL को मात्रा बढाइ नराम्रो कोलेस्ट्रोल LDL/VLDL को मात्रा घटाउँछ । स्वस्थ माछा सेवनले कतिपय क्यान्सरको खतरालाई समेत कम गर्ने विभिन्न अध्ययनहरुले पुष्टि गरिसकेका छन् । कतिपय अवस्थामा माछा खानाले शरीरमा ठूलो क्षति पुर्याउँछ वा मृत्युलाई जित्न सक्ने कुनै पनि उपचारको व्यवस्था छैन ।
खास गरी धुँवामा सुकाएर राखिएका (Smoked Fish) माछाहरुमा क्लोसटिडियम बोटुलिनम (Clostridium Botulinium) नामको जीवाणुहरु हुन सक्छन् । तर धुँवामा सुकाएका सबै माछामा यो किटाणु हुन्छ भन्ने होइन । ज्यादै थोरै मात्रामा मात्रै यो जीवाणुको संक्रमण हुने गरेको पाइन्छ । यस्तो संक्रमित माछा खाएको १२ देखि ३६ घण्टाभित्रमा सास फेर्न गाह्रो हुने, खानेकुरा निल्न असहज हुने, कुरा गर्न गाह्रो हुने, एउटै वस्तुलाई दुईवटा देखिने र क्रमशः पक्षघात हुँदै जाने लक्षण देखिन्छ । यस्ता संक्रमित व्यक्तिलाई आधुनिक मेडिकल साइन्सले पनि बचाउन मुस्किल हुने स्वीकार गरिसकेको छ । कथंकदाचित बाँचिहाले पनि निकै लामो समय उपचार गराउनु पर्ने हुन्छ ।
संक्रमित माछा कसरी पत्ता लगाउने ?
धुँवामा सुकाइएको माछा कम आर्दतामा राखिनु जरुरी हुन्छ र यस्ता माछाहरु भाँचेर हेर्दा भित्र प्वाल देखियो भने संक्रमण भएको हुनसक्छ किनकि उक्त जीवाणुको विशेषता भनेको नै माछाभित्र प्वाल बनाई आफ्नो संख्या बढाई माछालाई विषमा परिणत गर्नु हो ।
नोट : धुँवमा सुकाइएका सबै माछामा यस्तो संक्रमण हुँदैन यो एकदम कम मात्रामा पाइने जीवाणु हो । तर उच्च तापक्रममा उमालेर, तारेर, वा पकाएर खाँदा जोखिम कम हुन्छ । कुनै लक्षण देखियो भने तत्कालै नजिकको स्वास्थ्य केन्द्रमा जानुपर्छ ।