free hit counter चिकित्सक भन्छन् : डेङ्गु महामारी होइन, तर सजग रहनुहोस् - Khanpin Khabar

चिकित्सक भन्छन् : डेङ्गु महामारी होइन, तर सजग रहनुहोस्

  • खानपिन खबर

हिजोआज देशभर डेंगुको त्रास बढिरहँदा चिकित्सकहरुले महामारी नभएको तर समयमा उपचार गर्नुपर्ने सुझाव दिएका छन् । चिकित्सकहरुले रोग नियन्त्रणका लागि घरदेखि गल्लीसम्म जनचेतना र सरसफाईको अभियान चलाउन सुझाव पनि दिएका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा. विवेक लालले हालसम्म ४२ भन्दा बढी जिल्लामा यो रोगको संक्रमण देखिएको र साउन १ गतेदखि भदौ १७ गतेसम्म २ हजार ५ सय ५९ जनामा डेंगु रोगबाट संक्रमित भएको तथांक प्रस्तुत गरेका थिए । हालसम्म प्रदेश १ मा ७५३ जना, प्रदेश २ मा २३ जना, प्रदेश ३ मा १०९३ जना, प्रदेश ४ मा ५७२ जना,प्रदेश ५ मा १०५ जना, प्रदेश ६ मा २ जना र प्रदेश ७ मा १२ जना संक्रमित रहेको उनले बताए । यो रोगबाट कास्की, मकवानपुर, सुनरी, चितवनमा बढी संक्रमण देखिएको पनि उनले बताएका छन् ।

डेंगुबाट चार जनाको मृत्यु भईसकेको जानकारी दिदै भने–उच्च पहाडी क्षेत्रमा समेत यसको संक्रमण देखिन थालेकोले सचेत हुन आग्रह गरेका छन् । अहिलेसम्म १३० वटा मुलुकमा यो रोगको संक्रमण देखिएको भन्दै रोग नियन्त्रणका लागि जनचेतनाका कार्यक्रम संचालन गर्नुका साथै गैर सरकारी संस्था, स्थानीय निकायको अगुवाईमा नेपालभर डेंगु संक्रमणका लक्षण र बच्ने उपायका बारेमा घरघरमा जनचेतना फैलाउने काम भईरहेको जानकारीसमेत गराए । उनले भने– विरामीहरुमा डेंगु संक्रमणको कारण मात्र नभई स्क्रब टाइफस, कलेजोको रोग, उच्च रक्तचाप, मृगौलाको संक्रमण जस्ता कारणहरुबाट पनि विरामीको मृत्यु भएको उनले जानकारी दिए ।

यस्ता छन् लक्षण
लाम्खुट्टेले १०० जनालाई टोकेमा १० जनालाई डेंगु संक्रमण हुने र संक्रमण भएकाहरुमा ज्वरो आउने, टाउको दुख्ने, मांसपेशी दुख्ने,आखाँको गेडी दुख्ने हुन्छ । बढी संक्रमण भएकाहरुमा रक्तश्राव हुने, हड्डी भाचिए जस्तो दुखाई हुने, बान्ता हुने, खान मन नलाग्ने शरीर शिथिल हुँदै जाने जस्ता लक्षणहरु देखिन्छ ।

यस्तो छ अवस्था
शुक्क्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा.बासुदेव पाण्डेले हरेक दुई दुई वर्षको अन्तरालमा डेंगु संक्रमणको रिसर्च हुने गरेको र हरेक तीन वर्षमा यो रोगको प्रकोप देखिने गरेको बताए । उनले भने–डेंगु संक्रमण ६ देखि ७ हजार फिटसम्मको उचाइसम्म पुगिसकेको छ । तर, अहिलेको डेंगु संक्रमण गम्भीर खालको नभएको जानकारी दिए । यो रोग लामखुुट्टेले संक्रमितलाई टोकेर अर्को व्यक्तिलाई टोकेमा सर्ने बताए । उनले आफू कार्यरत रहेको अस्पतालमा भदौ १९ गते २५० जनालाई उपचार गरेकोमा ११७ जनामा डेंगु संक्रमण देखिएको जानकारी समेत गराए । विरामीहरुको चाप बढेसँगै अस्पतालको बेडले अपुग भएको कारण बेड थप्नका लागि स्वास्थ्य मन्त्रालयसँग प्रस्ताव राखेको र हाल २५ हजार विरामीको उपचार भइरहेको उनले बताए । विरामीहरुमा अन्य संक्रमण भएको कारण सबै विरामी डेंगु संक्रमणबाट मृत्यु भएका होइनन् भन्ने उनको भनाई रहेको छ । उनले भने–डेंगु संक्रमण क्लासिकल लामखुट्टे र सेविसियल लामखुट्टेको टोकाइबाट मात्र डेंगु संक्रमण हुन्छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा पुर्व प्रमुख डा.बाबुराम मरासनीले पानीको खाल्डाखुल्डी भएको ठाउँ, टायर भएको ठाउँमा यसको बढी संक्रमण हुने उनले बताए । यसका लागि संगठनिक संरचना कमजोर भएको, जलवायु परिवर्तन यसका मुख्य कारण बताए । लाम्खुट्टेको अध्ययन गर्दा यो २० वर्ष भन्दा पहिले भित्रिएको बताए । त्यसभन्दा पछाडि नभएको र यसबाट बच्नका लागि लाम्खुट्टेको सर्भे गर्ने सांगठनिक संरचना बलियो बनाउँदै जाने, लाम्खुट्टेले मार्ने काम कुन निकायको हो निर्धारण गर्ने, देशमा लाम्खुट्टेको रिसर्च गरेर नियन्त्रण उपाय पत्ता लगाउनुपर्ने बताए ।

नेपालको स्थिति
नेपालमा सन् २००४ मा पहिलोपटक एक जना जापानी स्वयंसेवकमा डेङ्गु संक्रमण देखिएको थियो। सन् २००६ मा भने यसले महामारीको रुप लियो। झन्डै १ सय ४० जना संक्रमित भएको अनुमान गरिएकोमा ३२ जना डेङ्गु प्रभावित पुष्टि भएको थियो। सन् २००७ मा २७ जना, २००८ मा १० जना, २००९ मा ३० जना संक्रमित भएको अनुमान गरिन्छ। यता २०१० मा भने डेङ्गु संक्रमणले नेपाललाई त्रसित बनायो, जुन बेला करिब ९ सय १७ जनालाई संक्रमण भएकोमा ५ जनाको त मृत्यु नै भयो। यसले गर्दा नेपालको तराई क्षेत्रमा आतङ्क नै सिर्जना पनि गरेको थियो। सन् २०११ मा करिब ११९२ जनालाई डेङ्गु संक्रमण भएको अनुमान गरिएको थियो। सन् २००६ मा बाँके, दाङ, पर्सा, बर्दिया, काठमाडौं, रुपन्देही, झापा, कपिलवस्तु, धादिङमा डेङ्गु संक्रमण पुष्टि भइसकेको छ।

सन् २०१२ मा डेङ्गु संक्रमण नेपालका विभिन्न ठाउमा फाटफुट देखिदै जाँदा झापामा भने आतङ्कनै मच्चाएको थियो । यस बीचमा देशका अरु भागमा केही मृत्युका खबरहरु पनि आएका छन्। अक्टोबर ३१ बाट डेङ्गु संक्रमण शुरु भएकोमा डिसेम्बर ३० सम्ममा करिब ७२ जना डेङ्गु रोगी प्रमाणित भएको झापा जिल्ला उच्च जोखिममा रह्यो। छोटो अवधिमा यति धेरै संक्रमित हुनुबाट यो रोग महामारीको रुपमा सजिलै फैलन सक्ने पुष्टि भइसकेको छ। मकवानपुरको मनहरी गाविसमा अक्टोबर ७ मा ७ जनालाई डेङ्गु संक्रमण भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको थियो। यसैगरी सेप्टेम्बर ७ मा चितवनमा करिब १६ जनालाई डेङ्गु संक्रमण भएको थियो। सेप्टेम्बर १ मा कैलाली जिल्लाको दोदोधरा गाविसमा एकजनाको मृत्यु डेङ्गुबाट बाट भएको समाचार आएको थियो। यसै वर्षको अगष्ट २१ तारिखमा दाङको भालुवाङमा २ वर्षकी बालिकामा डेङ्गु संक्रमण पत्ता लागेको थियो। जुन ४ तारिखका चितवनमा दुईजना डेङ्गु रोगी भेटिएका थिए।

डेंगुको उपचारमा मेवाको पातको रस
योग तथा प्राकृतिक चिकित्सक मनोज ढकाल भन्छन्– अहिले डेंगुको महामरी देशभर नै छ । तीन महिनायता चार हजार बढी मानिस यसबाट प्रभावित भइसकेका छन् । डेंगु एक प्रकारको ज्वरो हो । यो लामखुट्टेको टोकाइबाट सर्ने संक्रामक रोग हो । डेंगुको भाइरसद्वारा संक्रमित ‘एडिस एजिप्टाई’ जातको पोथी लामखुट्टेले यो रोग सार्छ । यो रोग सार्ने लामखुट्टे ग्रामीण क्षेत्रभन्दा शहरी क्षेत्रमा बढी पाइन्छ ।

डेंगु रोगको मुख्य लक्षण

  • एक्कासी उच्च ज्वरो आउनु । यो ज्वरो पाँचदेखि सात दिनसम्म रहन सक्छ । ज्वरोका साथै यी लक्षणहरू पनि देखा पर्छन्,
  • असाध्यै टाउको दुख्ने
  • आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने
  • ढाड र जोर्नी तथा मांसापेशी दुख्ने
  • शरीरमा बिमिरा आउने
  • वाकवाकी लाग्ने
  • पेट दुख्ने
  • नाक वा गिजाबाट रगत बग्ने
  • रक्तश्राव हुने वा शरीरमा रगत जमेको दागहरू देखापर्ने, बेहोश हुने आदि लक्षणहरू पनि देखा पर्न सक्छ ।

मेवाको पातको रसद्वारा उपचार

मेवाको पातको रसको फाइदाकोबारेमा ब्रिटिस मेडिकल जर्नलका विभिन्न जर्नलले प्रमाणित गरिसकेको छ । मेवाको पातको रस डेंगुको उपचारका लागि निकै लाभदायक मानिन्छ । यसकोे केही मात्रा सेवनले यो रोगमा धेरै फाइदा पुग्छ ।यसले ज्वरोको अवधि घटाएर सेतो रक्तकोषका साथै ‘प्लेटलेट’ बढाउँछ । प्रतिरोधात्मक शक्ति बढाउँछ । डेंगु ज्वरोसँगै एनएस १ अन्टिजिन डाइग्नोसिस भएको दिनबाटै एलोपेथिक औषधिसँगै यसकोे प्रयोग गर्न पनि सकिन्छ । मेवाको पातको रसले मात्र पनि धेरै फाइदा पुग्छ ।

कसरी बनाउने ?

  • ताजा ५० ग्राम मेवाको पात लिएर सफा पानीले पखाल्ने ।
  • उमालेको चिसो ५० मिलिलिटर पानीमा मिलाएर मिक्सरमा पिस्ने ।
  • डल्लो बनाएर ३० मिनेट राख्ने राख्ने
  • हत्केलाले निचोरेर रस निकाल्ने अनि प्रयोग गर्ने
  • यसलाई फ्रिजमा राख्दा २४ घण्टासम्म प्रयोग गर्न सकिन्छ ।
  • यसको मात्रा बच्चालाई ५ देखि १० मिलिलिटर ३ पटक (खाना खानुअघि) दिनुपर्छ। वयस्क व्यक्तिले ३ पटक ३० मिलिलिटरका दरले तीनपटक लिन सक्छन् । रोग लागेर उपचारमा लाग्नुभन्दा रोग लाग्नै नदिनु बुद्धिमानी हो । डेंगुबाट
  • बच्न यस्ता सावधानी अपनाउनु पर्छ ।

डेंगुबाट बच्ने उपाय

  • घर वरिपरी जथाभावी पानी जम्मा हुन नदिने
  • घरआँगनका खाडलहरू पुर्ने
  • पानी राख्ने भाँडा राम्रोसँग छोपेर राख्ने
  • सुत्ने वेला झुल प्रयोग गर्ने
  • घरका झ्यालढोकामा जाली लगाउने
  • नरिवल, भटमास, निम वा लेभेण्डर तेल शरीरका खुला भागमा लगाउने गर्नाले पनि लामखुट्टे, उडुस र उपियाँ जस्ता किटाणुले टोक्न सक्दैनन् ।
  • डेंगुका लामखुट्टे सफा पानिमा बस्ने हुँदा घर वरपर पानी जम्ने खाडल, पुराना टायर, पुराना सिसा बोत्तल जस्ता पानी जम्ने चिजहरु नराख्ने
  • सकेसम्म लामो बाहुला भएको, शरिर पुरै छोप्ने खालका कपडा लगाउने, यसबाट शरिरलाई लामखुट्टेको टोकाईबाट टाढा राख्न सकिन्छ ।
  • प्राय दिउँसोमा यो लामखुट्टेको टोकाईबाट बच्नुपर्छ ।
  • पानी टंकी छोपेर राख्ने
  • फुलदानीमा पानी फेरबदल गरीरहने ।
  •  सुत्दा प्राय झुल प्रयोग गर्ने । बालबालिकालाई झुलको प्रयोग अनिवार्य गर्ने ।
  • घरमा लामखुट्टे घुस्न नदिन झ्याल ढोका खुल्ला नछोड्ने, पर्याप्त जालीको व्यवस्था गर्ने
  •  सकिन्छ लामखुट्टेको टोकाईबाट बच्ने मलमको प्रयोग गर्ने
  • त्यस्तै माथी उल्लेखित लक्षणहरुको आशंका लागेमा तत्कालै नजिकको स्वास्थ्य संस्थामा गई चेकजाँच गराउनुपर्दछ ।

– एजेन्सीहरुको सहयोगमा