free hit counter गर्मीबाट बचाउका उपाय - Khanpin Khabar

गर्मीबाट बचाउका उपाय

  • खानपिन खबर

तराई होस् या पहाड गर्मी धपक्कै बलेको छ । तराईका केही जिल्लामा प्रचण्ड गर्मीका कारण दिउँसो शहर नै शुनसान हुन थालेको छ । जाडोको तुलनामा गर्मी महिना रोगी महिना हो । यो मौसममा अनेकथरि रोगले आक्रमण गर्ने गर्दछ । गर्मी बढेसँगै झाडापखाला, आउँ, टाइफाइड, मलेरिया, कालाजार, जन्डिस, डेन्गु, हेपाटाइटिसलगायतका विरामी बढ्ने गर्छन् । गर्मी मौसममा भाइरल रोगले धेरैलाई सताउने गर्दछ । गर्मीको समयमा खानपानमा मात्रै ध्यान दिएर पुग्दैन लवाई–खवाई र हिँडडुलमा पनि सजगता अपनाउनु पर्ने विज्ञहरुले बताएका छन् । गर्मीको समयमा सबैभन्दा बढी संक्रमण पानीबाट हुने गर्दछ । त्यो सँगसँगै गर्मी मौसममा बढी हावा चल्ने हुन्छ । हावाले उडाएर ल्याउने धुलोका कारण छालामा र आँखामा पनि समस्या देखा पर्ने गरेको चिकित्सकहरुले बताएका छन् । गर्मी बढेसँगै जाँदा यस्ता विरामीको संख्या बढ्दै जाने गरेको तथ्याङ्कले देखाएको छ ।
काठमाडौं मात्र होइन देशका ठूला शहरहरुमा वायुप्रदुषणको डरलाग्दो अवस्था देखिन्छ । त्यस्ता शहरमा उड्ने धुलोका कारण छालासम्बन्धि रोगका विरामी बढ्ने गरेको पाइन्छ । गर्मी मौसममा बढी पसिना आउने हुनाले बाहिर उडेको धुलो मानिसको छालामा टाँसिन्छ । यसले गर्दा छालामा एलर्जी हुने, चिलाउने, फोका उठ्ने र खटिरा आउनेजस्ता विभिन्न समस्या आउने गरेको पाइन्छ । त्यसैमाथि राजधानी काठमाडौंको कुरै छाडौं त्यहाँ उड्ने धुलोको अति सानाकणहरु भएकाले शरीर बाहिर छालामा मात्र नभई श्वासप्रश्वासको माध्यमबाट फोक्सोसम्म पुगेर ठूला समस्या निम्त्याउने गरेको पाइन्छ । सरुवा रोग धेरैजसो पानी र खानाबाटै सर्ने भएकाले पनि सचेत हुनु आवश्यक छ ।
समस्या बालबालिकालाई
जाडोमा बूढापाका जोगाउन मुस्किल भएजस्तै गर्मी मौसममा धेरैजसो बालबालिका रोगको सिकार हुने गरेका छन् । गर्मी मौसममा खाना राम्रोसँग पच्न नसक्दा बालबालिकाहरूमा झाडापखाला, आउँ, दादुराजस्ता समस्या देखा पर्ने गरेका छन् । अत्याधिक गर्मीका समयमा फ्रिजमा राखिएका पेय पदार्थ तथा खरबुजा, आप, मेवा जस्ता चिसा फलफुल धेरै खाने गरिन्छ । चिसो खानेकुराहरुको असर साना बच्चामा छिटो देखिन्छ । त्यतिमात्रै होइन वायुमण्डलमा भएको धुलो र प्रदुषणका कारण पनि बालबालिकामा टाइफाइड, हैजा, निमोनिया, घाउखटिरा तथा मेनेन्जाइटिसजस्ता रोगहरु देखा पर्ने गरेको छ । सबैजसो बच्चाहरुको स्वाभाव जङ्क फुड मन पराउने हुन्छ । उनीहरुलाई घरको खाना जिब्रोमै लाग्दैन । फलस्वरुप यस्ता खानेकुराले पेट दुख्ने, डायरिया हुने, बान्ता हुने जस्ता समस्या देखा पर्छन् । त्यस्तै फोहोर तथा धुलोका कारण शरीर चिलाउने अनि हातखुट्टामा घाउ हुने सम्भावना पनि ठूला मानिसको तुलनामा बच्चाहरुलाई कढि नै हुन्छ ।
यस्ता छन् बचाउका उपाय
मानिसलाई लाग्ने ९० प्रतिशत रोगको कारण खानपान र पानी नै । प्रशोधन नगरी पिइएको पानी र अखाद्य खानाकै कारण रोग लागिरहेको हुन्छ । त्यसैले यस्ता विषयमा हामी पहिले सचेत हुनुपर्छ । आफूले खाना खाने स्थान, थाल, कचौरा र पस्किने डाडु पन्युको शुद्धताको पहिचान तपाईंको पहिलो कर्तव्य हो । काटेर राखिएका फलफूल नधोई खानु हुँदैन । त्यतिमात्रै होइन बजारमा अनेकनथरि रसायन प्रयोग गरिएका फलफुल राखिएका हुन्छन् । यस्ता फलफुललाई राम्रोसँग पखालेर केही घण्टा पानीमा नडुबाई खानु हुँदैन । आङ्खनो टोल वरपर सफा राख्नुपर्छ, कतै खाल्डाखुल्डी भए त्यहाँबाट झिंगा, लामखुट्टे, फट्यांग्रा तथा भुसुनाको उत्पादन हुनसक्छ । त्यस्ता स्थानको पहिचान गरी बेलैमा सरसफाईमा ध्यान दिनुपर्छ । पानी उमालेरमात्रै पिउने बानी बसाल्ने हो भने ९० प्रतिशत सम्भावित रोगबाट बच्न सकिन्छ । जुनसुकै मौसममा पनि प्रदूषित पानीका कारण रोग फैलिने गरेका कारण उमालेर सेलाएको पानी पिउन सकियो भने धेरै समस्याको समाधान निस्कन्छ । गर्मी मौसममा एकैपटक धेरै खानेकुरा खानु हुँदैन । विस्तारै समय समयमा थोरैथोरै खाइरहने, पानी प्रशस्त पिउने गर्नुपर्दछ । बजारमा पाइने अनेकथरि पेय पदार्थभन्दा शुद्ध पानीले मात्रै प्यास मेटाउँछ । त्यस्ता पेयमा हुने अनेकथरि रसायनले उल्टै शरीरमा अनेक समस्या समेत देखा पर्न सक्छ । त्यसैले शुद्ध पानीको विकल्पमा केही खोज्नु हुँदैन ।