free hit counter खतरनाक मसलादेखि होसिरया ! - Khanpin Khabar

खतरनाक मसलादेखि होसिरया !

  • खानपिन खबर

नुरराज कँडेल

हामीले बजारमा स्वाद मानि–मानि खाने कुराहरु घरमै तयार गरेर खाँदा त्यति स्वादिलो हुँदै हुँदैन । चाहे मम होस्, पानी पुरी या चटपटे नै किन नहोस्् । अहिले बजारमा सबैभन्दा रुचाइएको पानी पुरीलाई कसरी जिब्रो फड्कार्ने बनाइँदो रहेछ भन्ने तथ्य हामीले यस पटक यहाँ प्रस्तुत गरेका छौं ।

पानी पुरी कहिलेकाहीं म आफैं पनि खाने गर्दथे । पानीपुरीमा निहित बिरेनुन, गेडागुडी, अमिलो र क्रिस्पी (झुरुमझुरुम) मलाइै लोभ्याउने तत्वहरु हुन् । रेष्टुरेन्टमा होस् कि फुटपाथमा मलाई हप्तामा २÷३ पटक खान नै पर्दथ्यो । प्राय स्कुल–कलेज अगाडि र सडकको मुख्य चोकतिर यसको व्यापार स्थापित भैइसकेको थियो । करिब चार वर्ष पहिलाको कुरा हो । मैले पनि रेष्टुरेन्ट चलाएको थिएँ । नियमित ग्राहकहरुले पानीपुरीको इच्छा देखाए । म आफैं खाद्य तथा पेयका दर्जनौ पुस्तक प्रकाशित गरिसकेको व्यक्ति त्यो कुरो रेष्टुरेन्टमा आउने ग्राहलाई पनि थाहा थियो ।

त्यही कारणले पनि होला मलाई पानी पुरी राख्न आग्रह गर्ने ग्राहक धेरै थिए । ग्राहकको इच्छाबमोजिम मैले पनि पानीपुरी राख्ने निधो गरें र मसलाको जोरजाम गरें । तर मैले बाहिर फुटपाथमा खाएजस्तो ‘स्वादिष्ट’ पानीपुरी बनाउनै सकिन । पानीपुरीको झोलमा इम्लिको रस, कागती, चुक अमिलो, भेनेगर फरक फरक तरिकाले राखेर बनाएँ तर स्वाद मलाई नै मन परेन । ग्राहकले पनि नराम्रो चाहिँ मानेनन् तर उनीहरुको मनोविज्ञान बुझ्दा उनीहरुलाई पनि स्वादिष्ट लागेन ।

एक दिन पानीपुरी खाएका ग्राहकले दोहो¥याएनन् बरु फुटपाथतिरै लागे । म आफैं यस क्षेत्रमा लागेको यतिका वर्ष भयो, सबै रेसिपी मैले पनि प्रयोग गरेकै थिएँ तर किन मैले बाहिरको जस्तो स्वादिष्ट पानीपुरी बनाउन सकिन ? म आफैंभित्र प्रश्न गर्न थालें । म अब यसको रहस्य पत्ता लगाउने योजनामा पुगें । जसले पानीपुरी मात्रै बेच्छन् उनीहरुसँगै परामर्श गरेर अगाडि बढ्ने निधो गरें । म आफैं पनि ग्राहक हुने गरेको फुटपाथको त्यही पानीपुरीवालालाई मैले सम्कर्प गरें । उनले पनि मेरो प्रस्तावलाई स–सर्त स्वीकार गरे । उनको एउटा मात्र सर्त मैले बेच्ने पानीपुरीको सम्पूर्ण सामग्री उनीबाटै खरिद गर्नुपर्ने थियो ।

त्यसलाई मैले सहजै स्वीकार गरे । सामग्री खरिदका लागि अग्रिम एक हजार दिनुपर्ने भनेपछि मैले उनलाई पैसा बुझाएँ । भोलिपल्ट बिहान उनले सबै सामग्री लिएर आए । पाँच सय थप्नुपर्ने बताएपछि मैले त्यो पैसा पनि दिएँ । एउटा हातले पैसा गोजीमा राख्दै अर्को हातले पत्रिकामा पोको पारेको त्यो पानीपुरीको जादुमय ‘मसला’ दिँदै उनले भने, साहुजी यसलाई खट्टा भनिन्छ, एक लिटर पानीमा चार पाँच दाना राख्नु । उनले ल्याइदिएको सामग्रीमा पुरी (डल्लो), जलजीरा र एउटा सानो पोको थियो । पाँच सय थप गरेपछि खुशी भएर दिएको नयाँ पोको के थियो मलाई कौतुहल भयो ।

उनी चिया पिउँदै थिए । उनको पनि व्यापारको समय भइसकेको थियो । डिल्लीबजार कन्या स्कुल अगाडि थियो उनको जक्सन । उनले ल्याइदिएका सबै सामग्री त मैले पनि प्रयोग गरेकै थिए । मैले प्रयोग नगरेको त्यो पोको मैले खोलें । स्फटिक जस्तो चम्किलो र अजिनोमोटो जस्तो देखिने स–साना टुक्राहरु बढीमा दुई चम्चा थियो । मैले हत्तपत्त त्यसको स्वाद पत्ता लगाउने जिब्रोमा राखें । मलाई त्यो वस्तु सही जस्तो लागेन, त्यसैले हत्तपत्त थुकिहालें । केही छिनपछि जिब्रो अप्ठ्यारो भई दुख्न थाल्यो र लाटो जस्तै भयो । ऐनामा हेरेको त जिब्रोमा त रातो दाग पो बसेको रहेछ । त्यसपछि खाएका कुनै कुराको पनि स्वाद पाउन छाडें । २/४ दिनपछि जिब्रो ठिक भयो ।

 

त्यही ‘वस्तु’ प्रयोग गरेर मैले पनि पानीपुरी बनाएँ । ग्राहकले जिब्रो फड्कारेर खान थाले । होइन यस्तो खतरनाक वस्तु राखेर पानी पुरी बेच्नु हुँदैन । दुई चार पैसाका लागि इमान बेच्नु अपराध हो । एक छिन जिब्रोमा राख्दा त जिब्रो लाटो बनाउने त्यो वस्तु पेटमा पुगेपछि के गर्ला ? त्यो वस्तु पेटबाट बाहिर निस्कन त घण्टौं लाग्छ । मैले अब त्यस्तो खतरनाक मसला हालेर पानी पुरी नै नबेच्ने निर्णय गरें । आफ्ना ग्राहकलाई पनि त्यो वास्तविकता बताएँ । मेरा ग्राहक सबै नियमित जस्तै हुनुहुन्थ्यो । उहाँहरु स्वादका लागि भन्दा पनि स्वास्थ्यका लागि खानुपर्नेमा जोड दिनुहुन्थ्यो । त्यसैले त हामी रेष्टुरेन्टमा प्रयोग गर्ने मरमसला हामी आफैं तयार गथ्र्यौ ।

मेरै रेष्टुरेन्टमा काम गर्ने भाइ काम छाडेर चावहिल गौशालातिर पानीपुरी र चटपटेको व्यापार गर्न थाले । केही समयपछि उनलाई बोलाएर सोधें, भाई कस्तो छ व्यापार ? प्रश्न भुईमा झर्न नपाउँदै उनले उत्तर दिए, कुरै नगरौं दाई चकाचक छ । दिनभर भ्याइनभ्याई छ । कति मन परेको यो डल्लो ? ‘खट्टा राख्छौं होला अनि आइहाल्छन् नि ?’ मैले प्रश्न गरेँ । अँ दाई त्यो त हिन्दीमा हो हामी यसलाई चिनी अमिलो भन्छौं, त्यो नराखे त मिठै हुन्न । अब चाहिँ प्रमाणित भयो प्राय पानीपुरी व्यापारीले स्वादका लागि प्रयोग गर्ने स्वादिलो मसला त्यही हो ।

 

अघिल्लो दिन त्यही मसला हालेर तयार गरेको पानीपुरी खाएका नियमित ग्राहले हल्ला गरिदिएछन् ११ बजेदेखिनै ग्राहकको चाप बढ्न थाल्यो । मैले त त्यो मसला नहाली पानीपुरी तयार गरेको थिएँ । त्यही पानी पुरी बेचिदेै थियो । दिउँसो २÷३ बजे एकजना नियमित ग्राहक दिदी आएर पानी पुरी खाँदै भनिन्, भाइ यस्तो पनि गर्ने ? म अचम्ममा परें । किन र दिदी के भयो ? उहाँले भन्नुभयो, हिजो त्यति मिठो पानीपुरी आज यति झूर ? झन् मैले साथीहरुलाई समेत मीठो छ भनेर सिफारिश गर्दै ल्याएँ तर त्यस्तो झूर भन्दै उल्टै मसँग रिसाए ।

 

तपाईं त व्यवसायिक मान्छे भनेर विश्वास गरेको त तपाईंको पनि यस्तो व्यापार ? उहाँको रिस अझै मरेको रहेनछ, मीठो भए पो ग्राहक आउँछन्, स्वादै नभएपछि कसरी हुन्छ राम्रो । भोलिदेखि तपाईंकोमा को आउँछ पानीपुरी खान ? जिब्रोलाई स्वाद चाहियो नि । मैले उहाँलाई बसाएरै सम्झाउन थालेँ । त्यसमा प्रयोग गरिने त्यो विशेष मसलाको बारेमा पनि उहाँलाई जानकारी गराएँ । त्यसपछि मात्रै उहाँको रिस शान्त भयो । झसङ्ग हुँदै भन्नुभयो, हिजै भन्नु पर्दैन यस्तो कुरा ! मैले भनें, दिदी जानाजान यस्तो वस्तु राखेर म पानीपुरी बेच्दिँन । मैले बेच्ने सबै खानेकुरामा म सचेत छु । त्यही वस्तु म आफैं पनि खान सक्छु । म स्वादलाई भन्दा स्वास्थ्यलाई विशेष ध्यान दिन्छु ।

त्यसपछि मैले आफ्ना सबै ग्राहकहरुलाई यो वास्तविकता बताउन थालें । विस्तारै विस्तारै मैले पानीपुरीमा हुने बदमासीको प्रचार गर्न पनि थालें । पत्रपत्रिकाहरुमा पनि लेख्न थालें । त्यसको असर विस्तारै देखिन थाल्यो । स्कुल, कलेजले पनि कडाई गर्न थाले । कतिपय जिल्लामा त पानीपुरीलाई प्रतिबन्ध नै लगाइयो । मैले पानीपुरीको व्यापार गर्न सकिन तर आम जनमानसमा त्यसको नकारात्मक पक्षको जानकारी गराउन सकेँ । यसैमा मलाई सन्तुष्टि भयो ।

मसलाको कमाल

मैले त्यही पुराना पानीपुरीवालालाई सोधेर ‘मसला’ किन्ने ठाउँ सोधें, शुरुमा त उनले बताउनै चाहेनन्, मैले यहाँको लागि होइन जिल्लामा पठाउनु छ भनेपछि उनले डिल्लीबजार पिपलबोटतिरको पसल देखाइदिए । म नयाँ ग्राहक भएकाले होला मलाई ती पसलेले त्यो मसला दिएनन् । बरु अरु अरु मसला दिएर टार्न खोजे । मैले पनि पुरानै ग्राहक जस्तो गरी त्यो होइन के, हिजो अस्ति लगेको जस्तो मसला भनेपछि बल्ल कागजमा बेरेर त्यो ‘मसला’ मलाई उपलब्ध गराए । त्यही मसलालाई मैले आङ्खनो हिसावले परीक्षण गरे । शुद्ध पानीमा मिसाउँदा खासै रङ परिवर्तन भएन ।

चाख्दा स्वाद निकै अमिलो थियो । त्यसपछि एउटा निकै फोहोर ट्वाइलेट जहाँ हर्पिकले पनि सफा गर्न नसकिएको ठाउँलाई भिजाएर त्यो मसला राखिदिएँ । त्यसको आधाघण्टा पछि गएर हेर्दा फिँज उठिरहेको थियो । मैले ब्रस लगाएर पानी हाल्दा छ त्यो भूई नयाँ जस्तै चम्कियो । (जुन तस्बिरमा देख्न सकिन्छ) जुन मसलालाई परीक्षणका लागि ल्याबमा पनि पठाइएको छ । जसको रिपोर्ट आउनै बाँकी छ ।