free hit counter आँपमा राखिन्छ खतरनाक रसायन - Khanpin Khabar

आँपमा राखिन्छ खतरनाक रसायन

  • खानपिन खबर

शहर बजारमा बसेर पूर्ण रुपमा प्राकृतिक खाद्यान्न तथा फलफुलको प्रयोग गर्ने चाहना राख्नै नसकिने अवस्थाको सिर्जना भएको छ । चाँडै धनि बन्ने मानिसको महत्वाकांक्षाले जस्तोसुकै अपराध गर्न पनि पछि पर्दैन । अमृत समान मानिने फलको राजा आँपलाई विषसमान बनाई बजारमा छ्यापछ्याप्ती पारिएको छ । आँपमा राखिने रसायनलाई क्याल्सियम कार्वाइड Calcium Carbite (CaC2) भनिन्छ । प्राय देशमा निषेधित यस तत्व नेपाल र भारतमा खुलेआम प्रयोग गरेको पाइन्छ । त्यस्ता रसायन प्याकिङकै समयमा राखेर निकासी पैठारी गरिन्छ । शुद्ध प्राकृतिक रङ भएका आपहरुमा यो रसायन नराखिएको हुनसक्छ भने राम्रो रङ देखिए पनि छाम्दा कतै बढी पाकेको वा गिलो र त्यही आपको अर्को भागमा साह्रो भयो भने रसायनको प्रयोग भएको बुझ्नु पर्दछ ।

आँप खाएपछि घाँटीको खसखस, पेटमा जलन, भोजन नलीमा समस्या, पखाला लाग्ने, टाउको दुख्नेलगायतको समस्या देखिएमा आप अप्राकृतिक रुपले पकाएको थाहा हुन्छ । अधिकांश आँप व्यवसायीहरुले कार्बाइड कागज वा प्लाष्टिकमा बेरेर आँपको थुप्रोमा राख्छन् र आँप छिटै पकाउँछन् । वा एक दिनमा नै आँप पाक्छ । तर छिप्पिएको आपालई प्राकृतिक रुपले पाक्न दिँदा ७–८ दिन लाग्ने हुँदा बिचौलियाहरु त्यति समय धैर्य गर्न सक्दैनन् । अर्को तरिका भनेको पानीमा कार्वाइड मिसाएर काँचो आँप डुबाई राख्दा आधा घण्टामा आप पाक्छ । कार्वाइडको प्रयोग भएका वस्तुहरुको प्रयोगले क्यान्सर, मृगौला फेल, कलेजोमा समस्या, मस्तिस्कमा समेत गम्भीर असर पर्ने विज्ञहरु बताउँछन् । विना रसायन पाकेका आँप शरीरलाई अमृत हो भने रसायनले जबर्जस्त पकाइएको आप विष हो । एक व्यवसायीकाअनुसार एक किलो कार्वाइडले १० टन आप पकाउन सक्छ । त्यसैले त व्यवसायीहरु काँचो आप किनेर यही रसायनको प्रयोग गरी तीन गुणा बढी कमाइरहेका हुन्छन् ।

क्याल्सियम कार्वाइड केमा प्रयोग गरिन्छ ?
यो खास फलाम जोड्ने रसायन हो । फलाम वेल्डिङ गर्न यसको प्रयोग गरिन्छ ।

कार्वाइड राखेको आँप कसरी चिन्ने ?

काट्दा आँपको भित्र सेतो दाग देखियो भने एकनासको गुलाफिपन भएन भने, वास्नामा फरक देखियो भने, आँप टुप्पोतिर बढी पोकेको देखियो भने, सबैतिर एकै नासले पाकेको छैन भने, आँपको बोक्रामा कालो धब्बा देखियो भने, स्वादिलो भएन भने, राम्रोसँग बोक्रा ताछ्न सकिएन भने कार्वाइड राखेको बुझ्नु पर्दछ । कार्वाइड नराखेको आँप बास्नादार र एक नासले पाकेको हुन्छ । त्यसको स्वाद पनि फरक हुन्छ भने दाग कतै देखिँदैन ।

कार्बाइड राखेको आँप बाहिर हेर्दा सुन्दर, रातो हुन्छ भने काट्दा बोक्रा जस्तो गुलाफी नभई काँचो बयर जस्तो पहेँलो हुन्छ । यदि कार्वाइड नराखेको आँप छ भने बाहिर धेरै पोकेको देखिँदैन । हल्का हरियो नै हुन्छ तर काटेर हेर्दा गुलाफि र आकर्षक चाना हुन्छ । त्यसैले स्वाद भन्दा पनि स्वास्थ्यको ध्यान दिऔं । रसायन प्रयोग भएको वस्तुहरुको पहिचान गरी प्रयोगमा पूर्णरुपमा प्रतिबन्ध लगाऔं ।