free hit counter अम्लपित्तका कारणहरू - Khanpin Khabar

अम्लपित्तका कारणहरू

  • खानपिन खबर

अम्लपित्त वा ग्यास्ट्राइटिस अन्नवहस्रोत्सको व्याधि हो । यसलाई चलनचल्तीको भाषामा ग्याँस्ट्रीक पनि भनिन्छ । अधिकांश नेपालीहरू यो रोगले पिडित भएको पाइन्छन् । यस रोगमा पेट पोल्ने, दुख्ने, मुखबाट अमिलो पानी आउने, वाकवाकी लाग्ने, खान मन नलाग्ने हुन्छ । सामान्य बोलाीचालीको भाषामा बिरामीले मुटु पोलेको वा मुटु दखेको भनि लक्षण व्यक्त गर्दछन् । यस रोगले पिडित बिरामीहरूको संख्या दिनानुदिन बढ्दै गइरहेको छ, जसको मुख्य कारण दैनिक आहार विहारको उचित परिपालन नगर्नु नै हो । दिनचर्या, रात्रिचर्या तथा ऋतुचर्याको उचित पालना नगर्नु अर्थात विहान सवेरै नउठ्ने, समयमा नसुत्ने, रात्रि जागरण गर्ने, ठीक समयमा सही खानपान नहुनु आदि  अम्लपित्तका कारणहरू हुन् । सामान्य रुपमा भन्दा Hurry, Worry, Curry  अर्थात् हतारमा र बढी तात्तातो खानु, चिन्ता लिनु र बढि मसालायुक्त खानपानले नै अम्लपित्त गराउँछ ।

आयुर्वेद संहिता अनुसार अम्लपित्तमा पित्त दोषको द्रव र अम्ल गुणको वृद्घि भई मुख्यतः पित्त प्रकोपले अम्लपित्त हुन्छ । उध्र्व र अधोगत गरि अम्लपित्त दुई किसिमका हुन्छन् । त्यसै गरि कफज र वातज अनुसार पनि यसको वर्गीकरण गर्न सकिन्छ । आधुनिक चिकित्सा प्रणाली अनुसार यसलाई Acute Gastritis र Chronic Gastritis गरि  वर्गीकरण गर्न सकिन्छ ।

अम्लपित्तका कारणहरू

१. आहारजन्य कारणहरू :

  • पिरो, अमिलो, लवणजन्य आहारको अत्यधिक सेवन, विरुद्घ आहार सेवन, एकपटक खाएको खाना नपच्दै अर्को खाना खानु, राम्ररी नपाकेको खानेकुरा खाने ।
  • मैदाबाट बनेका खानेकुराहरू जस्तै समोसा, पुरी, आदि सेवन गर्नु ।
  • जङ्क फुड जस्तै चाउचाउ, पास्ता, पिज्जा, आदि सेवन गर्नु ।
  • डिप फ्राई गरेको तथा बेकरी आइटमहरू सेवन गर्नु ।
  • चिया, कफि तथा अन्य क्यानमा राखेको, कोक, फेन्टा, जूस आदि सेवन गर्नु ।
  • अमिलो फलफूल तथा सागसब्जीको जूसहरू आदि सेवन गर्नु ।

२. विहारजन्य कारणहरू :

  • मलमूत्रको वेग धारण गर्नु,
  • दिउँसो सुत्नु, राति खाना खाने बित्तिकै सुत्नु
  • रात्रि जागरण आदि ।

३. मानसिक भावहरू  :

  • चिन्ता लिनु, क्रोध गर्नु, भय, शोक आदि ।

४. ऋतुजन्य  : ग्रीष्म, वर्षा, वसन्त ऋतुमा गरिष्ट भोजन सेवन गर्नु ।

५. अन्य कारणहरू  :

  • दुखाइ कमगर्ने औषधिहरू (NSAID Analgesics) को तथा Steroids को मुखद्वारा अत्यधिक सेवन ।
  • Helicobacter pylori (H. pylori) नामक ब्याक्टेरियाको आमाशयमा संक्रमण हुनु ।
  • धूम्रपान तथा मद्यपान ।

 

अम्लपित्तमा पथ्य

  • रेशादार, हरियो सागसब्जीको प्रयोग ।
  • पुरानो शाली चामलको भात ।
  • जौँ, गहुको रोटी ।
  • मूंगको दाल ।
  • उमालेर चिसो पारेको पानी ।
  • शर्करा, मह, तथा सत्तू ।
  • करेला, काउली, ब्रोकाउली, बरेला, परवल, केरा, बेथेँ, प्याज, लसून, ज्वानो आदि ।
  • स्याउ, नास्पाती, अनार, अमला, स्ट्रबेरी, आरु, तरबूजा, खरबूजा, मेवा आदि फलफूल ।
  • कोशायुक्त गेडागुडी ।
  • ताजा दही ।
  • ग्रीन टी ।
  • जेठीमधु, गुर्जो ।
  • स्याउ, बेरी, प्याज आदिमा flavonoids तत्वले एन्टिअक्सिडेन्टको रुपमा कार्य गर्दछ र आमाशयमा रहेको pylori को वृद्घि विकास रोक्दछ ।
  • ब्रोकाउलीमा रहेको Isothiocynate Sulforaphane नामक तत्वले pylori लाई मार्न मदत गर्दछ ।
  • लसूनले पाचन प्रक्रियामा मदत गर्दछ तथा जीवाणु प्रतिरोधिको पनि कार्य गर्दछ ।
  • ग्रीन टी मा रहेको क्याटकिन्स तत्वहरूले H. pylori को वृद्धि विकास रोक्दछ ।
  • दहीले Probiotics को कार्य गरि H. pylori को वृद्धि विकास रोक्दछ ।
  • हरियो सागसब्जीले B12 को कमिले हुने Chronic Gastritis मा फाइदा गर्दछ ।
  • अम्लपित्तको कारणमा उल्लेखित कुराहरूबाट बच्नु यसको व्यवस्थापनको उपाय हो ।
  • खाना खाएको ४५ मिनेट देखि १ घण्टा पछि मात्र पानी खानु पर्दछ ।

 

अम्लपित्तमा अपथ्य

  • नयाँ अन्न
  • तिल
  • माष तथा गहत
  • गोलभेडा, सरसोको साग,
  • पिरो, अमिलो, लवणजन्य आहारको अत्यधिक सेवन, विरुद्घ आहार सेवन, एकपटक खाएको खाना नपच्दै र्को खाना खानु, राम्ररी नपाकेको खानेकुरा खाने ।
  • मैदाबाट बनेका खानेकुराहरू जस्तै समोसा ।
  • जङ्क फुड तथा फास्ट फुड, जस्तै चाउचाउ, पास्ता, पिज्जा ।
  • डिप फ्राई गरेको तथा बेकरी आइटमहरू, तारेको, भुटेको, सुख्खा खानेकुरा ।
  • चिया, कफि तथा अन्य क्यानमा राखेको, कोक, फेन्टा ।
  • अमिलो फलफूल तथा सागसब्जीको जूसहरू ।
  • मलमूत्रको वेग धारण गर्नु,
  • दिउँसो सुत्नु, राति खाना खाने बित्तिकै सुत्नु
  • रात्रि जागरण ।
  • खाना खाने बित्तिकै टन्न पानी खानु ।
  • धूम्रपान तथा मद्यपान
  • मासुजन्य पदार्थको अतिसेवन ।
  • Glucose intolerance भएको अवस्थामा दूध तथा दूधजन्य पदार्थ ।
  • सोया तथा सोया प्रोडक्टस् ।

 

अम्लपित्तमा लाभदायक कर्म तथा योगासनहरू

  • वमन द्यौति : हरेक १५ दिनमा मनतातो पानीमा नून हालेर वान्ता गर्नु (पहिलो चोटि चिकित्सकको रेखदेखमा ।
  • अनुलोम विलोम
  • कपालभाँति
  • वज्रासन
  • पवनमुक्तासन
  • मण्डूकासन
  • अर्ध चक्रासन
  • हस्तपादासन
  • शवासन आदि ।

 

 

लेखक आयुर्वेद चिकित्सक, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, कालिकोटमा कार्यरत हुनुहुन्छ ।