free hit counter अम्बाका यस्ता छन् अदभूत फाइदा - Khanpin Khabar

अम्बाका यस्ता छन् अदभूत फाइदा

  • खानपिन खबर

प्राकृतिक रुपमा उत्पादन भएका जुनसुकै फलफुलले पनि बेफाइदा गर्दैन । तर आजभोलि बजार लिने नाममा बेमौसमी उत्पादनका लागि हुने विभिन्न रसायनको प्रयोगले फलफुलले पनि फाइदा भन्दा बढी हानि नोक्सानीनै पु¥याउने गरेको छ । जाडो मौसम शुरु हुनासाथ पाक्ने अम्बा (बेलौती) निकै स्वादिलो हुनुका साथै स्वास्थ्यवर्दक मानिन्छ । यो प्रोटिन, भिटामिन, मिनरल्स तथा फाइबरको स्रोत हो । आर्युवेदले पनि यसलाई राम्रो फल मानेको छ । अम्बाको फल र पात दुवैका बहुउपयोगी मानिन्छ ।

अम्बामा प्रशस्त मात्रामा आइरन र हेमोग्लोबिन पनि पाइन्छ । काँचो र पाकेको दुवै अवस्थामा खान स्वस्थकर मानिन्छ । साथै, अम्बाको पात र यसको बोक्रा आयुर्वेदिक औषधिको रूपमा पनि प्रयोग हुन्छ । अधकल्चो पाकेको अम्बाले पेटसम्बन्धी रोगमा फाइदा गर्छ । पाकेको अम्बाले तागत बढाउन मद्दत गर्छ । त्यसैगरी, पेट सफा गर्न, दाँतलाई दह्रो बनाउन र भोक जगाउन अम्बा सेवन गर्नु राम्रो मानिन्छ । अम्बा केवल स्वादका लागि मात्रै प्रयोग नभई यसको सेवनले शरीरमा रोग प्रतिरोधात्मक शक्ति बढाउनका मद्दत गर्छ । यसले पाचन प्रणलीलाई चुस्त राख्नुका साथै मानिसलाई स्वस्थ रहन मद्धत गर्छ । दैनिक २ वटा मध्यम आकारका अम्बाले नै भिटामिन सि को कमीलाई हटाउँछ ।

फोलिक एसिड, विटामिन बी९९ले भरिएको अम्बा गर्भवती महिलाहरुका लागि लाभदायक हुन्छ । यसको सेवनले पेटको बच्चाको न्यूरोलोजिकल डिसअर्डर नियन्त्रणमा आउँछ । गाजर जस्तै अम्बा पनि भिटामिन ए का लागि उत्तम मानिन्छ । पोषक तत्वले भरिएको अम्बाको सेवनले आँखासम्बन्धी समस्या निर्मुल पार्न मद्धत गर्छ । भिटामिन ए को कमी भएर हुने रतन्धोबाट पनि अम्बाको सेवनले बचाउँछ । चाइनीज मेडिसीनमा अम्बालाई डायबिटीज कम गर्ने मानक नै मानिन्छ । अम्बाको जुस पिउनाले चिनी रोगको स्तर नै कम हुन पुग्छ । अम्बामा फाइबरको मात्रा धेरै हुने हुनाले सुगरका बिरामीलाई औषधि नै साबित भएको अध्ययनहरुले प्रमाणित गरेको छ ।

कब्जियतको समस्यामा लाभदायक
कब्जियत तथा पेट सम्बन्धि समस्यामा अम्बा रामबाण सावित हुने गर्छ । पेटमा पीडा होस् वा झाडापखाला, अम्बामा नुन हालेर खाएमा यसले तुरुन्तै आराम दिन्छ । त्यस्तै, अम्बाको पत्ताले झाडापखाला फैलाउने व्याक्टेरियालाई रोक्छ । त्यस्तै अम्बाको पत्ता चपाउनाले पेटको समस्याबाट राहत दिनुका साथै कब्जियतको समस्या समेत हटाउँछ ।

मधुमेहको रोकथाम गर्छ
अम्बामा चिनीको मात्रा कम हुन्छ । त्यस्तै, यसले चिनीको मात्रा कम गर्न मद्दत गर्ने हुदाँ यो मधुमेहका विरामीको लागि समेत निकै फाइदाजनक मानिन्छ । दिनमा एउटा अम्बाको पत्ता चपाउनाले मात्र पनि मधुमेह नियन्त्रण हुने भएकोले मधुमेहका रोगीहरुलाई दैनिक अम्बा खान सल्लाह दिइन्छ ।

तौल घटाउन
अम्बामा भरपुर मात्रामा प्रोटिन भिटामिन, मिनरल्स लगायतका खनिज पदार्थ पाइन्छ । त्यस्तै, अम्बामा पाइने फाइबरले कोलेस्ट्रोलको मात्रा कम गर्न मद्दत गर्छ । अन्य फलफुलको तुलनामा अम्बामा चिनीको मात्रा समेत कम हुने भएकोले तौल घटाउन चाहनेका लागि अम्बा राम्रो विकल्प हुनसक्छ

रुघाखोकीमा
अम्बामा भरपूर मात्रामा भिटामिन सि पाइन्छ , जुन शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउनमा निकै लाभदायक मानिन्छ । अम्बामा कालो मरिच तथा नुन मिसाएर खानाले कफको समस्या हट्छ । त्यस्तै, पाकेको अम्बा खाएपश्चात मनतातो पानीको सेवनले ज्वरोबाट छुटकारा पाइन्छ ।

दाँतका समस्यामा
यदी कसैलाई दातमा समस्या छ भने अम्बाको पत्तालाई हल्का रुपमा चपाउनुपर्छ । त्यस्तै, अम्बाको पत्तालाई मनतातो पानीमा उमालेर पिउनाले गिजाको सुजन तथा दातको दुखाईबाट राहत प्रदान गर्छ । त्यस्तै अम्बाको पत्तालाई पिसेर मुखमा राख्नाले सास गन्हाउने समस्याबाट समेत राहत मिल्छ ।

आँखा तथा छालाको लागि
अम्बामा भरपूर मात्रामा भिटामिन ए पाइन्छ । जुन आखाको लागि लाभदायक छ । अम्बाको सेवनले रतन्दो तथा मोतियाविन्दु हुनबाट आखालाई बचाउँछ । त्यस्तै, अम्बाको सेवनले अनुहारको चाउरीपना कम हुनुका साथै अनुहार कालो हुनबाट जोगाउँछ ।

मदिराको असर कम गर्न
यदी कसैलाई मदिरा वा भाङको नशा भएमा अम्बाको पत्ताको रस निकै लाभदायक मानिन्छ । अम्बाको पत्ता चपाउनाले मात्र पनि मदिराको ह्याङओभर कम गर्न तथा नशा कम गर्न मद्दत मिल्छ ।

अम्बाको पात पनि उत्तिकै महत्वपूर्ण
मधुमेहका रोगीलाई अम्बाको पातबाट बनेको चिया फाइदाजनक मानिन्छ । यसले रगतमा चिनीको मात्रा कम गराउँछ । अम्बाको पातले कार्बोहाइड्रेडमा पाइने स्टार्च चिनीमा बदलिने प्रक्रियालाई रोक्ने हुँदा तौल घटाउन मद्दत पुग्छ ।
डाइजेस्टिक इन्जाइमलाई बढाएर खाना पचाउन मद्दत गर्छ । यसले पाचन प्रणालीमा सहयोग पुग्छ । झाडापखाला हुँदा ३० ग्राम अम्बाको पात र एक मुठी चामलको पिठोमा दुई गिलास पानी हालेर उमाली दिनको दुईपटक पिउँदा निकै सन्चो हुन्छ । अम्बाको पातको रस पिउँदा कपाल बलियो हुनुका साथै छाला नरम बनाउँछ । अम्बाको पातमा एन्टिसेप्टिक गुण पाइने हुनाले डन्डिफोर हटाउन मद्दत गर्छ । (एजेन्सीहरुको सहयोगमा)